हिमालयन रि मा चन्द्रशेखरन रामामुर्थीलाई दोस्रो पटक सिइओ बन्न स्वीकृति, बीमा समितिद्धारा अर्को गैर कानुनी निर्णय !

रिना खत्री
२५ आश्विन २०७९, मंगलवार ०८:१८

काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिइओ चन्द्रशेखरन रामामुर्थीलाई पुनः दोस्रो पटक सिईओ बन्न स्वीकृति प्रदान गरेको छ । बीमा समितिले हिजो भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थीलाई पुनः सिईओ बन्न अनुमति दिएको हो । बीमा समितिको स्वीकृतिसँगै उनी अब आगामी भदौं ३ गतेसम्म हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिईओ बन्नेछन् ।

गत वर्ष पहिलो पटक सिईओ बन्न अनुमति पाएका रामामुर्थीलाई बीमा समितिले विगतमा आफैले गर्ने गरेको निर्णय विपरित स्वीकृति प्रदान गरेको हो । नेपालको प्रचलित कानुन बमोजिम कुनै पनि कम्पनीमा विदेशी नागरिकलाई सिईओ बनाउनु परेमा सार्वजनिक रुपमा विज्ञापन गरी नेपालभित्र योग्य व्यक्तिको आवेदन नपरेको खण्डमा मात्रै विदेशी नागरिकलाई अनुमति दिन पाइन्छ । तर, बीमा समितिले गत वर्ष त्यस्तो सार्वजनिक विज्ञापन समेत नगरी, नेपालभित्र योग्य व्यक्ति छ वा छैन भन्न्ने समेत नबुझी सिधैं भारतीय नागरिक रामामूर्तिलाई सिईओ बनाउन स्वीकृत प्रदान गरेको थियो ।

पहिलो पटक एक वर्षको लागि अनुमति पाएका उनले दोस्रो कार्यकालका लागि अनुमति नपाउनुपर्र्ने बीमा समितिको विगतको अभ्यास र इतिहास छ । यसअघि प्रुडेन्सियल इन्स्योरेन्समा बंगलादेशी नागरिकलाई सिईओ बन्न नपाउने निर्णय बीमा समितिले गरेको थियो।

नेपाली लगानीकर्ताहरुले लगानी गरेको कुनै पनि कम्पनीमा पहिलो पटकका लागि विदेशी नागरिकलाई सिईओ बन्न अनुमति दिइए पनि दोस्रो कार्यकालका लागि त्यस्तो अनुमति नदिने बीमा समितिले विगतमा निर्णय गरेको थियो ।

प्र्रुडेन्सियल इन्स्योरेन्स स्थापना हुँदा बंगलादेशबाट मुखर्जी नामका व्यक्तिलाई ल्याएर सिईओ बनाएको थियो । मुखर्जीको दोस्रो कार्यकालमा पुनः थप गर्न खोज्दा बीमा समितिले अनुमति दिएन र भन्यो, ‘नेपालमै जनशक्ति उत्पादन गर्नुपर्दछ र विदेशबाट ल्याइरहनु पाइदैन ।’ तर, हिमालयन रि इन्स्योरेन्स प्रकरणमा बीमा समितिले आफ्नै नजिरलाई उल्टाएर निर्णय गरिएको छ ।

बीमा समितिले हिजो भारतीय नागरिक रामामुर्थीलाई पुनः ३२२ दिन सिईओ बनेर काम गर्नु पाउने गरी अनुमति दिएको छ । बीमा समितिको उक्त निर्णय गैर कानुनी र विधि तथा पद्धति विपरित भएको भन्दै बीमा क्षेत्रमा व्यापक चर्चा भइरहेको छ । नियामक निकाय बीमा समितिले सही पद्धति पछ्याउँदै राष्ट्रहितमा काम गर्नुपर्नेमा विगतमा थिति बसालेका विधि र पद्धति समेत भत्काउनु कति उचित हुन्छ ? समीक्षा गर्ने हो कि ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*