९ महिनादेखि बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष, मन्त्रिपरिषदको निर्णय अटेर गर्दै अर्थले दिएन अवकास पत्र

२१ बैशाख २०८१, शुक्रबार १३:३३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष सुर्य प्रसाद सिलवालले विगत नौ महिनादेखि गैर कानुनी रुपमा पदमा बहाल रहि कार्य गरिरहेका छन् । २०८० साउन १५ गते नै उमेर हदका कारण अनिवार्य अवकासमा जानुपर्ने सिलवाल अझै पनि पदमा नै बहाल रहेर काम गरिरहेका छन् । उनले अध्यक्षको रुपमा गरेको काम अब के हुन्छ ? प्रश्न उठेको छ ।

अझ रोचक कुरा के छ भने नेपाल सरकार मन्त्रिपरिषदको २०७९ मंसिर १९ गतेको निर्णय अनुसार उमेर हद ननाघ्ने गरी पदावधी कायम गर्ने भन्ने निर्णय समेत अर्थ मन्त्रालयबाट अटेर गरी अवकास पत्र नदिएको तथ्य फेला परेको छ ।
बीमापोष्टले यसअघि पनि पटक–पटक अध्यक्ष सुर्य प्रसाद सिलवालको पदावधी सकिएकोबारे समाचार प्रकाशित गरेको थियो । तर, अटेर गर्दै पदमा बसेर सुर्य सिलवालले गैर कानुनी रुपमा काम गर्दै आएका छन् । उमेर हद सम्बन्धी व्यवस्था अनुसार नेपालको प्रचलित कानुन बमोजिम ६५ वर्ष उमेर पुरा भएपछि कुनै पनि सार्वजनिक पदमा बहाल रहन पाइदैन । अरु त कुरै छोडौं सर्वोच्च अदालतका प्रधान न्यायाधिश समेतले ६५ वर्ष पुरा भएको दिन इमान्दारपूर्वक कुर्सी छोड्नुपर्नेछ ।

तर, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको उमेर २०८० साउन १६ गतेबाट ६५ वर्ष पुरा गरी ६६ औं बसन्तमा हिडिरहेका छन् । सो अनुसार उनको पदावधी २०८० साउन १५ गतेसम्म मात्रै थियो । इमान्दारीपूर्वक गत साउन १५ गते नै बिदाई हुनुपर्ने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले साउन १६ गतेदेखि यता, गैर कानुनी रुपमा कार्य गर्दै आएका छन् ।

बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष बहाल रहनुमा अर्थमन्त्रालयको समेत मौन स्वीकृति रहेको भेटिएको छ । हालसम्म अर्थमन्त्रालयले अनिवार्य अवकास हुने व्यवस्था अनुसार कुनै पत्र नदिएको तथ्य फेला परेको छ । अन्य पदाधिकारीहरुलाई ६५ वर्ष पुरा हुनुअघि नै उमेर हद तोकेर अनिवार्य अवकासको पत्र दिने गरिएको भएपनि सुर्य प्रसाद सिलवाललाई भने कुनै पत्र दिइएको छैन । अर्थ मन्त्रालय स्रोतले सुर्य प्रसाद सिलवाललाई अवकास पत्र नदिएको स्वीकार गरेको छ । तर, अर्थमन्त्रालयको प्रशासन शाखाको रेडर्कमा भने सुर्य प्रसाद सिलवालको पदावधी २०८० साउन १५ मै सकिएको उल्लेख छ ।

 

अर्थमन्त्रालयमा रहेको रेकर्ड

पटक पटक नागरिकतामा जन्म मिति संशोधन गरेका सुर्य प्रसाद सिलवालको सरकारी तथ्याङ्क अनुसारको जन्म मिति २०१५ साल साउन १६ गते हो । उनले पटक–पटक नागरिकता संशोधन गरी २०१८ साल कार्तिक २४ र २०१६ कार्तिक २२ मा जन्मिएको भन्दै नागरिकता बनाएका थिए । तर, उनको शैक्षिक प्रमाण पत्र र पुरानो नागरिकतामा २०१५ साल साउन १६ गते जन्ममिति रहेको थियो । सो प्रमाणको आधारमा तत्कालिन उद्योग मन्त्रालयबाट सुर्य प्रसाद सिलावले सचिवको रुपमा ५८ वर्षे उमेद हद गणना गरी विदाई गरिएको थियो ।

नेपाल सरकारको सचिव हुँदा गृह मन्त्रालय हुँदै उद्योग मन्त्रालयबाट ५८ वर्षे अवकास लिएका सिलवालले अन्तिम दिन २०७३ साल साउन १५ गते उद्योग मन्त्रालयबाट विदा भएका थिए । सरकारी तथ्याङ्क अनुसार २०७३ साल साउन १६ गते ५८ बर्ष पुरा भएका सिलवाल अहिले ६६ वर्ष नौ महिनाका भइसकेका छन् ।

२०६९ साल असार २८ गतेको मन्त्रिपरिषदको बैठकको निर्णयबाट सचिव पदमा बढुवा भएका सुर्य सिलवाल २०७४ साल असार २७ गतेसम्म सचिव पदमा बहाल रहन पाउने थिए । तर, उनको कीर्ते गरी सच्याएको नागरिकतालाई तत्कालिन उद्योग मन्त्रालयले मान्यता दिएन र शैक्षिक प्रमाणपत्रमा आधारित जन्म मितिका आधारमा २०७३ साल साउन १५ गतेबाट अनिवार्य अवकासमा पठाएको थियो ।

अध्यक्ष सिलवालको पदावधी थप गर्न मन्त्रिपरिषदमा पेश गरिएको प्रस्ताव र सो माथि भएको निर्णयको प्रतिलिपी

सो आधारमा सोही जन्म मितिका आधारमा नेपाल बीमा प्राधिकरणबाट पनि २०८० साउन १५ गते अनिवार्य अवकासमा जानुपर्ने थियो । तर, न आफू स्वयम् नैतिकताका आधारमा सुर्य सिलवालले पद छाडे न अर्थमन्त्रालयले नै पत्रकार काटेर अवधी सकियो भनेर भन्यो । दुवैले कुनै वास्ता नगर्दा विगत नौ महिनादेखि नेपाल बीमा प्राधिकरणमा गैर कानुनी रुपमा अध्यक्षले काम गरिरहेका छन् ।

यसैबीचमा अध्यक्ष सिलवालले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा मन्त्रिपरिषदमै प्रस्ताव लगेर सुर्य सिलवालको पदावधी चार वर्ष काम गर्ने प्रयास गरेका थिए । मिति २०७९ साल मंसिर २० गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको पदावधी चार वर्ष काम गर्ने भनेर उमेर हद उल्लेख नगरी घुमाउरो पारामा म्याद थप गर्ने प्रस्ताव गरिएको थियो । सो प्रस्तावमा मुख्यसचिव शंकरदास बैरागीले पनि घुमाउरो पारामै अस्वीकृत गराईदिएका थिए । निर्णयमा लेखिएको छ, ‘अर्थ मन्त्रालयको सार्वजनिक पदाधिकारी तथा सदस्यको नियुक्त र मनोनयन सम्बन्धी मापदण्ड २०७३ मा व्यवस्था भएको उमेरहदको हद नाघ्ने गरी अरु पैस्तावमा लेखिए बमोजिम गर्ने ।’ मन्त्रिपरिषदको सो बैठकको निर्णय अनुसार पनि सुर्य सिलवालको पदावधी गत साउन १५ गतेबाटै समाप्त भइसकेको छ ।

सो सम्बन्धमा अख्तियारमा उजुरी परेको भएपनि प्रेम राई हुँदासम्म सिलवालमाथि कुनै कारवाही हुने कुरै भएन । अब प्रश्न उठेको छ । भ्रष्टाचार र अनियमिततासँग सम्झौता गर्दै नगर्ने भनेका वर्तमान अर्थमन्त्री वर्षमान पुनले बीमा प्राधिकरणका अबैध अध्यक्षलाई के गर्लान ? पदमै बहाल रहन दिन्छन् वा अन्य पदाधिकारीलाई झै पदावधी सकियो भनेर पत्र काट्छन् त्यो भने हेर्न बाँकी नै छ । अनि उनले गरेका निर्णयहरु के हुन्छन् ? छानविन होला वा यत्तिकै छोडिएला ?

 

बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको पदावधि आजबाट समाप्त !, अर्थमन्त्रालयको रेकर्ड भन्छ, २०८० साउन १५ गते अन्तिम दिन

 

नेपाल बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष, अख्तियारदेखि अर्थमन्त्रीसम्म आँखा चिम्लदै

 

८ महिना अघि नै मन्त्रिपरिषदबाट अस्वीकृत भएको थियो सुर्य सिलवालको पदावधि चार वर्ष कायम गर्ने प्रस्ताव, आजदेखि सिलवालको वैधानिकता कति ?

 

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालद्धारा पटक पटक नागरिकता सच्याएको खुलासा, नागरिकता र पासपोर्टको जन्म मिति मिलेन

 

 

 

One thought on “९ महिनादेखि बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष, मन्त्रिपरिषदको निर्णय अटेर गर्दै अर्थले दिएन अवकास पत्र

  1. बुध्द रिजाल says:

    नेपाल हो के भन्ने जस्तो शक्ति ऊस्को भक्ती

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*