भाइटीकामा बीमा पोलिसी उपहार दिऔं, ‘दक्षिणाको साटो बीमा उपहार दिएर जीवनभर माया गरौं’

रिना खत्री
९ कार्तिक २०७९, बुधबार १७:३०

नेपालीहरुको राष्ट्रिय पर्व मुख्य रुपमा दशैं, तिहार र छठ पर्व अनि यही बीचमा पर्ने न्यूदया भिन्तुना हो । नेपालीहरुको महान् पर्व बिजया दशमी अर्को मुख्य पर्वको रुपमा तिहारलाई लिइन्छ । लक्ष्मी पुजा, म्हपुजा, न्यूदहया भिन्तुना तथा भाइटीका भएकोले तिहारको विशेष महत्व रहेको छ । पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन (काग तिहार) देखि कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीका (पाँच दिन) सम्म मनाईन्छ । पाँच दिनसम्म मनाइने हुँदा तिहारलाई यप पञ्चक समेत भनिन्छ ।

तिहारलाई फुलै फुलको पर्व अनि दिदी भाइका बीचमा आगाध माया, प्रेम, सद्भाव तथा खुशी र उमंगको पर्वको रुपमा लिने गरिन्छ । तिहार दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने पर्व पनि हो । पंक्षीको रुपमा काग, पशुको रुपमा घरपालुवा जनावर कुकुर, पशु चौपाया गाई गोरुको पूजा गरेर उल्लासपूर्वक मनाइने तिहारमा मुख्य रुपमा दिदी बहिनीहरुले आफ्ना दाजु भाइलाई पुजाआजा सहित टीका लगाएर भाइटीका मनाइन्छ ।

चेलीबेटीहरुले दाजु वा भाइ जो हुनुहुन्छ उसैसँग टीका लगाए पनि खास पर्व चाही दिदीले भाइलाई टीका लगाएर लगाउने बिषयसँग सम्बन्धित छ । चेलीबेटीहरुले दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै कहिल्यै नसुक्ने तेलको धारा लगाई, पानीले छेकेर स्वास्थ्य लाभको कामना गरेर टीका लगाइन्छ । भनिन्छ दिदी बहिनीले दाजुभाइलाई कालका देवता यमराजबाट खोस्ने पर्व हो तिहार । कहिल्यै नसुक्ने दुवोको माला र कहिल्यै नसुक्ने तेलको धारा लगाएर यमराजलाई दुवोको माला र तेलको धारा नसुकुन्जेल लैजान नपाउने बाचा गराएको किंवदन्तीमा आधारित छ तिहार ।

भाइटीका लगाइसकेपछि दाजु भाइहरुले पनि आफ्नो क्षमता अनुसार दक्षिणा दिने चलन छ । यो दिनमा विशेष त दिदीभाइ तथा दाजु बहिनीले एक आपसमा विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मनपर्ने कुरा उपहार दिई मनाउने गर्दछन् । दाजु भाईहरुले दिदीबहिनीलाई दान, दक्षिणा एवं विभिन्न खालका उपहार दिने परम्परा पनि रहेको पाईन्छ ।

भाइटीकाको दिनमा दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

हामीले प्रत्येक बर्ष आफनो तिहारमा भाइटीका लगाएर विभिन्न उपहारहरु दिइरहेका हुन्छौ । तर उपहार दिदाँ केही समय वा केही को लागि मात्र उक्त वस्तु उपयोग गर्न पाउने वस्तु हामी उपहार मार्फत दिईरहेको हुन्छौ । हामी यस समयमा बढी खर्च गरिरहेको हुन्छौ । बाहिरबाट तिहारको लागि माला, मसला र अन्य सामानहरुको आयात बढ्दो मात्रामा भइरहेको छ । जसका कारण देशको अर्थतन्त्र समेत समस्यामा पर्दै आइरहेको छ । त्यसैले आगामी दिनमा तिहारमा दिदी बहिनीहरुलाई दिइने उपहारमा परिवर्तन ल्याउन आवश्यक देखिन आएको छ ।

दिदी बहिनीहरुलाई तिहारमा भाइटीका लगाइसकेपछि के उपहार दिने त ? प्रश्न उठ्छ । त्यसैले यस महान पर्वको अवसरमा बीमा पोलिसी उपहार दिन सकिन्छ । आफ्नी आमासँगै जन्मेकी दिदी बहिनीको सुन्दर भविष्यको लागि वर्षभरिको कमाईबाट सानो रकमको बीमा पोलिसी खरिद गरेर उपहार स्वरुप दिन सकिन्छ । ती नगदी र जिन्सी उपहारको सट्टामा जीवन बीमा पोलिसी उपहार दिदाँ दाजुभाइ र दिदी बहिनी बीचको सम्बन्ध थप कसिलो र उत्तरदायित्वपूर्ण हुनजाने देखिन्छ । फेरि प्रत्येक वर्ष तिहार मनाइरहने र बीमा पोलिसीको प्रिमियम समेत प्रत्येक वर्षमा भुक्तानी गर्दा समेत तिर्न सकिने भएकोले एकदमै व्यवहारिक र उपयुक्त प्रस्ताव बीमा पोलिसी हुनसक्दछ ।

जीवन बीमाले तपाईको दिदी बहिनीहरुका लागि दिगो बचतको बाटो त खोल्छ नै जोखिम न्यनिकरणका लागि पनि ठूलो मद्दत गर्छ । विदेशतिर बच्चा जन्मने बित्तिकै अनिवार्य बीमा गर्नुपर्छ । नेपालमा भने न्युन आय, शिक्षाको कमी लगायत कारणले बीमाको संस्कृती नफस्टाएको राष्ट्रिय बीमा कम्पनीका प्रशासक कवि पसाद पाठकको भनाई छ । तिहारमा भाइटीका लगाएर आफ्ना दिदी बहिनीहरुलाई जीवन बीमा पोलिसी उपहार दिँदा दिदी बहिनीसँगको सम्बन्ध थप सुमधुर हुने तथा दक्षिणबापत दिने रकम मात्रैको बीमा गरि दिँदा समेत उनीहरुले भविष्यमा ठूलो राहत हुनेछ ।

तिहारको बिदाको समयमा समेत जीवन बीमा कम्पनीहरु खुलेका हुन्छन् । आफ्ना नजिकका अभिकर्तासँग सम्पर्क गर्ने वित्तिकै आवश्यक प्रक्रिया पूरा गरेर बीमा पोलिसी उपहार पाउन सकिने हुँदा आजै पहल किन नगर्ने ?

जीवन बीमा कसरी गर्ने ?
नेपालमा १९ जीवन बीमा कम्पनीहरु संचालनम रहेका छन् । विभिन्न जिल्लाहरुमा शाखा कार्यालय संचालन गर्दै बीमितहरुलाई सुविधा प्रदान गर्दै आईरहेका छन् । जीवन बीमा अभिकर्तामार्फत तपाईहरुले आफ्नी दिदी वा बहिनीको बीमा प्रस्ताव गर्न सक्नुहुनेछ । त्यसको लागि सबैभन्दा पहिले आफ्नो आम्दानीको हिसाब किताब राम्रोसँग पक्कै गर्नुपर्नेछ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका १८ कम्पनीले यो सेवा प्रदान गर्छन् । आफूलाई पायक पर्ने स्थानमा आफूले बीमा गराउन सक्छौ । बीमा कम्पनीहरुमा बीमा अभिकर्ता रहेका हुन्छन् । अभिकर्ताहरुको सल्लाह बमोजिम आफूले सक्ने बजेट अनुसारको बीमा पोलिसी खरिद गर्न सकिन्छ । साथै बीमा कम्पनीहरुको वेभसाइटमा गएरपनि बीमा पोलिसीबारेमा बुझ्न सकिन्छ । दाजुले बहिनीलाई बीमा पोसिली खरिद गरी (संरक्षकत्व ग्रहण गरी) बीमा पोलिसी उपहार समेत दिन मिल्ने भएकोले आज दिएर भोलि नहुने भन्दा भविष्यमा ठूलै गर्जो टर्ने बीमा पोलिसी पो उपहार दिने हो कि ?

बीमा गर्न कति रुपैयाँ तिनुपर्छ ?
कति रुपैयाँको बीमा गर्ने भन्ने स्वयं बीमितले आफ्नो आम्दानी अनुसार निर्णय लिनुपर्छ । बीमा रकम वार्षिक, अर्धवार्षिक वा तीनतीन महिनामा पैसा तिर्न सकिन्छ । सानो बिमाङ्को बीमा गर्दा सानै रकम तिर्नुपर्छ भने ठुलो आकारको बीमा गर्दा ठुलै रकम तिर्नुपर्छ । त्यसैले तपाईको आम्दानी कति हुन्छ त्यसै अनुसार बीमा गर्न सक्नुहुन्छ । ५० हजार रुपैयाँ माथि जति बीमाङ्कको पनि बीमा गर्न सकिन्छ ।
सामान्यतया पाँच देखी ५४ वर्ष अवधि सम्मको बीमा गर्न सकिन्छ । यदि तपाईंको उमेर ३० वर्ष छ र तपाईको आम्दानीले १५ वर्ष अवधिको ५ लाखको बीमा लागि गर्नु भयो भने वार्षिक ३३ हजार रुपैयाँ (करिब अनुमानित) कम्पनीलाई तिर्नुपर्छ ।

कहाँ सम्पर्क गर्ने
तपाईहरुका नजिकै जो कोही एजेन्ट हुनुहुन्छ भने उहाँलाई सम्पर्क गरेर बीमा पोलिसी लिन सकिन्छ । कुन कम्पनीमा जीवन बीमा गर्ने भन्ने प्रश्नको जवाफ भने बीमित आफैले विभिन्न कम्पनीहरुले दिने फाइदा हेरेर कम्पनीहरु छनौट गर्न सक्नुहुनेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*