१९ वाणिज्य बैंकको बेसरेट दोहोरो अंकमाथि, सिटिजन्स बैंकको कर्जा सबैभन्दा मंहगो, कसको बेस रेट कति ?

ऋण लिनेलाई कुन बैंकको ब्याज सस्तो ?
१३ कार्तिक २०७९, आईतवार १७:२५

काठमाडौं । बैंकहरुले आधार दरका आधारमा ऋणको ब्याजदर तय गर्छन् । आधार दर घट्दै जाँदा ऋणको ब्याजदर पनि घट्दै जान्छ भने आधार बढ्दै जाँदा ऋणको पनि बढ्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर गणना गर्नुपर्छ । यसरी गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्नुपर्छ । नयाँ वा पुराना दुबै ऋणीलाई ब्याजदर परिवर्तन हुन्छ ।

पछिल्ला महिनामा बैंकहरुको आधार दर बढ्दै गएको छ । सोअनुसार ऋणको ब्याज पनि बढ्दै गएको छ ।वाणिज्य बैंकहरुले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ । बैंकहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस अवधिसम्ममा बैंकको आधार ब्याजदर (बेस रेट) झनै बढेको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा गत आर्थिक वर्ष २०७८÷७९ को प्रथम त्रैमासको तुलनामा बैंकहरुको बेसरेट २ देखि ४ प्रतिशत बिन्दुसम्मले बढेको छ ।यस त्रैमाससम्ममा बेसरटेमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याजदर पनि बढेको छ। कर्जाको प्रकार अनुसार बैंकहरुले बेसरेटभन्दा केही प्रतिशत थपगरि कर्जा लगानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बेसरेटभन्दा तल रहेर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई कर्जा दिदैनन् ।हालसम्म सबै वाणिज्य बैंकहरुले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।कर्जाको प्रकार अनुसार फरक–फरक ब्याजदर तोकिए पनि प्रवाहित कर्जाको ब्याजदरभन्दा बैंकहरुको बेसरेट परिवर्तनले कर्जाको ब्याजदरमा हेरफेर हुनेहुन्छ ।

राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशनमा आधार ब्याजदर बढेको आधारमा एक त्रैमासमा एकपटक मात्र कर्जाको ब्याजदर वृद्धि गर्न सकिने व्यावस्था रहेको छ। सोही व्यवस्था अनुसार अधिकांश वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाएका छन्। जसको कारण अघिल्लो आर्थिक बर्षको तुलनामा बेसरेटमा भिन्नता देखिएको छ।

बैंकहरुले आधार ब्याजदर गणना गर्दा कोष लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत र सञ्चालन लागत प्रतिशत हिसाब गर्ने गर्छन् । चालु आर्थिक वर्षबाट राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात वृद्धि गर्ने निर्णय गरेको छ । जसले बैंकहरुको बेस रेट थप बढ्न पुगेको छ ।

बैंकहरुले कर्जा लगानी गर्दा बेस रेटमा कर्जाको जोखिमको आधारमा प्रिमियम जाड्नुपर्ने हुन्छ । कर्जा जोखिम र राष्ट्र बैंकले उक्त कर्जालाई दिएको जोखिम भारलाई मध्यनजर गर्दै प्रिमियम निर्धारण हुने गर्छ । आवधिक प्रकृतिको कर्जामा एक पटक निर्धारण भएको प्रिमीयम ऋणीको सहमतिबिना घटबढ गर्न पाइदैन । तर, नवीकरण गर्ने कर्जाको भने वाषिर्क रुपमा नवीकरण गर्दा प्रिमियम तलमाथि हुन सक्छ ।

मेगा बैंकको भने बेसरेट १.०३ प्रतिशत बिन्दुले वृद्धि हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ४.०८ प्रतिशत विन्दुले वृद्धि भएको छ।सबैभन्दा कम बेसरेट पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.८५ प्रतिशत र नेपाल बैंकको बेसरेट ८.९२ प्रतिशत रहेको छ।

यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ९.२६ प्रतिशत, एभरेष्ट बैंकको ९.३० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.३९ प्रतिशत, नबिल बैंकको ९.४५ प्रतिशत र कृषि विकास बैंकको ९.८३ प्रतिशत बेसरेट रहेको छ। बाँकी रहेको १९ बैंकको बेसरेट दोहोरो अंकमा पुग्दा सबैभन्दा धेरै सिटिजन्स बैंकको ११.१४ प्रतिशत र सिभिल बैंकको बेसरेट ११.०९ प्रतिशत पुगेको छ।

वाणिज्य बैंकहरुले प्रकाशन गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरणबाट लिएको तथ्यांक

एकल अंकमा भएका बैंक
वाणिज्य बैंकहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.८५ प्रतिशत र नेपाल बैंकको बेसरेट ८.९२ प्रतिशत रहेको छ ।यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ९.२६ प्रतिशत, एभरेष्ट बैंकको ९.३० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.३९ प्रतिशत, नबिल बैंकको ९.४५ प्रतिशत र कृषि विकास बैंकको ९.८३ प्रतिशत बेसरेट रहेको छ ।

बैंकहरुले आधार दरमा जोड्ने प्रिमियम दर पनि ऋणीलाई ताेकिने ब्याजदरका लागि महत्वपूर्ण छ । सामान्यत: बैंकहरुले आधार दरमा २ देखि ५ सम्म प्रिमियम जोडेर ऋणीका लागि ब्याजदर तोकिदिने गरेका छन् । यदी कुनै बैंकको आधार दर ९ प्रतिशत छ र उसले २ प्रतिशत प्रिमियम जोड्ने हो भने ऋणीलाई ११ प्रतिशत ब्याजदर पर्न आउँछ ।

प्रिमियम दर कति तोक्ने भन्ने निर्धारण गर्न बैंकहरुलाई स्वतन्त्रता छ । ऋण लिएपछि गर्ने व्यवसायको प्रकृति, धितोको मूल्य, ऋणीसँगको विगत कारोबार लगायत पक्ष हेरेर बैंकहरुले प्रिमियम दर निर्धारण गर्छन् । थोरै आधार दर भएको बैंकको ब्याजदर प्राय कम नै हुने भएकाले ऋणीका लागि त्यस्ता बैंक रोजाइमा पर्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*