गैरीधाराबाट चल्थ्यो दिपक भट्ट समूहको इनसाइडर ट्रेडिङ ‘नेटवर्क’

काठमाडौं । जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंले दायर गरेको अभियोगपत्रमा दीपक भट्ट, शुलभ अग्रवाल तथा उनीहरूसँग आबद्ध अन्य व्यक्तिहरूले धितोपत्र बजारमा योजनाबद्ध रूपमा मूल्य हेरफेर, भित्री कारोबार, बीमकको रकम दुरुपयोग तथा आर्थिक हिनामिनासँग सम्बन्धित गतिविधि गरेको आरोप लगाएको छ।
अभियोगपत्रअनुसार नेपाल विद्युत् प्राधिकरण, नेपाल धितोपत्र बोर्ड (सेबोन) लगायतका निकायबाट तयार पारिएका छानबिन प्रतिवेदन तथा टीएमएस प्रयोगसम्बन्धी प्रारम्भिक अनुसन्धान प्रतिवेदनका आधारमा दीपक भट्ट र शुलभ अग्रवालसहितको समूहले नेपाल रिइन्स्योरेन्स कम्पनीलगायतका कम्पनीहरूको शेयर मूल्यलाई प्रभावित पारेर अनुचित लाभ हासिल गर्ने मनसाय राखेको देखिएको उल्लेख छ। त्यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सलगायतका कम्पनीहरूको शेयरमा भित्री कारोबार (इनसाइडर ट्रेडिङ) तथा मूल्य हेरफेर गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको अभियोगपत्रमा दाबी गरिएको छ।
सरकारी वकीलको कार्यालयका अनुसार हिमालयन रिइन्स्योरेन्स तथा त्यसका सहायक संस्था हिमालयन क्यापिटल सर्भिसेस लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर तथा हिमालयन लार्ज क्याप फण्डलगायतका बीमा कम्पनी र सामूहिक लगानी कोषहरूको रकम समेत दुरुपयोग गरी धितोपत्र बजारमा प्रभाव पार्ने उद्देश्यले योजनाबद्ध तथा आपराधिक प्रकृतिका कार्यहरू गरिएको देखिएको छ।
अभियोगपत्रमा शुलभ अग्रवाल र दीपक भट्टको नेतृत्वमा एउटा समूह निर्माण गरी सो समूहले आफ्नो प्रत्यक्ष आर्थिक हित र नियन्त्रण रहेका हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलगायतका कम्पनीहरूको शेयर खरिद–बिक्री तथा सेटलमेन्टसम्बन्धी निर्णयहरू सञ्चालन गरेको उल्लेख छ। ती गतिविधिहरू सौर्य सिमेन्ट इन्डस्ट्रिज र जगदम्बा स्टिलको गैरीधारास्थित कार्यालयबाटै सञ्चालन भएको तथ्य नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनबाट खुलेको अभियोगपत्रमा उल्लेख गरिएको छ।
सरकारी पक्षको दाबीअनुसार सम्बन्धित कम्पनीका सञ्चालक, अध्यक्ष, कार्यकारी प्रमुख तथा लगानी संयोजकहरूको संलग्नतामा गरिएको शेयर खरिद–बिक्रीका निर्णयहरू ती संस्थाहरूको लगानी क्षमता, धितोपत्र बजारबाट प्राप्त हुने सम्भावित प्रतिफल वा लगानी विविधीकरणको आधारमा स्वतन्त्र रूपमा नभई शुलभ अग्रवाल र दीपक भट्टको योजना तथा निर्देशनअनुसार गरिएको थियो। अभियोगपत्रमा ती संस्थाहरूलाई उनीहरूको चाहनाअनुसार शेयर खरिद गरिदिने, सबै संस्थाका डिम्याट तथा टीएमएस खाता ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिमा खोल्ने तथा प्रतिवादीहरूको सुविधा र योजनाअनुसार निरन्तर रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको आरोप लगाइएको छ।
यसबाहेक प्रतिवादीहरूले सार्वजनिक कम्पनीहरूको शेयर बिक्रीबाट प्राप्त रकमसमेत ब्रोकरको खातामा जम्मा गराई आफूअनुकूलका शेयर खरिद गर्न प्रयोग गरेको अभियोगपत्रमा उल्लेख छ। उक्त कार्यबाट बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को देहाय (छ) बमोजिम बीमकको रकम अपचलन तथा आर्थिक हिनामिना भएको सरकारी पक्षको दाबी छ।
अभियोगपत्रमा प्रतिवादीहरूले उक्त कसुरबाट ठूलो रकम हात पारी त्यसलाई ब्रोकरमार्फत विभिन्न शेयर कारोबारमा प्रयोग गरेको, कृत्रिम रूपमा मूल्य उतारचढाव गराउने उद्देश्यले झुट्टा तथा मिलेमतोयुक्त कारोबार गराएको तथा त्यसमार्फत धितोपत्र बजारलाई प्रभावित पार्ने प्रयास गरेको आरोप लगाइएको छ। जिल्ला सरकारी वकील कार्यालयले यस्ता गतिविधि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुर भएको निष्कर्षसहित जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको जनाएको छ।












