सबै जीवन बीमा कम्पनीहरुले बढाए बीमालेख धितो कर्जाको ब्याजदर, भविष्यमा बीमितले नै फाइदा पाउने दावी

१२ मंसिर २०७९, सोमबार १२:५९

काठमाडौं । देशमा आर्थिक संकट गहिरिँदै जाँदा उच्च अंकले ब्याजदर बढ्दाको असर नेपाली जीवन बीमा क्षेत्रमा समेत परेको छ । लाखौं बीमितहरुले जम्मा गरेको करिब पाँच खर्ब बीमा प्रिमियम मध्ये अधिकांश बैंकहरुमै मुद्दति निक्षेपको रुपमा सुरक्षित रहेको छ ।

आर्थिक संकट गहिरिँदै जाँदा बैंकहरुको चर्को ब्यादर बृद्धिसँगै बीमा क्षेत्रमा पनि यसको असर परेको छ । यसअघि बीमितहरुले बार्षिक १० प्रतिशतमा पाउँदै आएको बीमालेख धितोमा कर्जाको ब्याजदर अधिकांश जीवन बीमा कम्पनीहरुले बृद्धि गरी १२ प्रतिशतसम्म सम्म पुर्याएका छन् । थोरै मात्रै ऋणको मात्रा भएका जीवन बीमा कम्पनी बाहेक धेरैले १२ प्रतिशत ब्याजदर तोकेका छन् भने एलआईसी नेपालले भने एक प्रतिशत मात्रै बृद्धि गरी ११ प्रतिशत कायम गरेको छ ।

देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले १२ प्रतिशत पुर्याएको छ । त्यस्तै, नेशनल लाइफले पनि १२ प्रतिशत नै पुर्याएको छ । एलआईसी नेपालले भने ११ प्रतिशतमा कायम गरेको छ । त्यस्तै अन्य अधिकांश जीवन बीमा कम्पनीहरुले पनि सोही अनुसार ब्याजदर बृद्धि गरेका छन् ।

एक जीवन बीमा कम्पनीका सिईओले बीमापोष्टसँग प्रतिक्रिया दिँदै ब्याजदर बृद्धि जीवन बीमा कम्पनीहरुको बाध्यता भएको बताए । उनले भने, ‘ठूलो मात्रा बीमा क्षेत्रमा ऋण लिएर बैंकमा मुद्दति निक्षेप राख्ने क्रम बढ्न थाल्यो, त्यसलाई रोक्न पनि हामीसँग ब्याजदर बृद्धि गर्नुको विकल्प रहेन ।’

पछिल्लो समय बैंकहरुले नै १४ प्रतिशतसम्म ब्याज दिन थालेपछि जीवन बीमा कम्पनीहरुमा रहेको खर्बौ रुपयाँ बीमितको पैसा ऋणको रुपमा बाहिरिन नदिन बीमा कम्पनीहरुले सचेततापूर्वक निर्णय गरेको उनीहरुको भनाई छ । जीवन बीमा कम्पनीका अधिकारीहरुका अनुसार बीमितले अहिले ब्याजदर केही महंगो भएपनि अवधी पुरा भएपछि भुक्तानी लिने बेला त्यसको प्रतिफल पाउनेछन् । ब्याजदर महंगो हुँदा जीवन बीमा कम्पनीहरुको आम्दानी बृद्धि भई बोनसदर बढ्ने र यसले बीमितलाई फाइदा हुने जीवन बीमा कम्पनीका अधिकारीहरुको भनाई छ ।

बीमा कम्पनीहरुले ब्याजदरमा बृद्धि हुँदा अप्ठेरो, साह्रो गह्रोमा ऋण लिन चाहने बीमितहरुलाई सास्ती भएको गुनासो बीमा अभिकर्ताहरुको छ । केही बीमा अभिकर्ताहरु आफैले ठूलो मात्रामा बीमा क्षेत्रमा लगानी गरेकोले उनीहरुलाई समेत अप्ठेरो परेको जानकारहरु बताउँछन् । तर, बीमा अभिकर्ताहरुले बीमा कम्पनीका साहुजीहरुलाई मुनाफा खुवाउन जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ऋणको ब्याजदर बढाएको आरोप लगाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*