जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क २८ प्रतिशत घट्यो, आर्थिक मन्दी र अभिकर्ता निराश मुख्य कारण

१७ फाल्गुन २०७९, बुधबार ०७:३६

काठमाडौं । नेपालमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क उल्लेख्य रुपमा घटेर २३ अर्बबाट घटेर १६ अर्बमा झरेको छ । गत आवको माघ मसान्तको तुलनामा चालु आवको सात महिने वित्तीय विवरणमा आधारित अध्ययन अनुसार नेपालमा सञ्चालित १८ वटा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २८.५५ प्रतिशतले घटेको हो ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै गुराँस लाइफको घटेको छ । त्यस्तै दोस्रो नम्वरमा युनियन लाइफको घटेको छ । दुवै कम्पनीको क्रमशः ५४.२१ प्रतिशत र ४७.९७ प्रतिशत रहेको छ । गुराँस लाइफले गत आवको यसै अवधीमा ४२ करोड र १४ करोड प्रथम बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको सात महिनामा १९ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, युनियन लाइफले एक अर्ब ४५ करोड प्रथम बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको सात महिनामा ७५ करोड ५३ लाख ३५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ ।

त्यस्तै रिलायबल नेपाल लाइफको प्रथम बीमा शुल्क गत आवको यसै अवधीको तुलनामा ४४.३२ प्रतिशतले घटेर एक अर्ब ४८ करोड ८८ लाख ७४ हजार रुपैयाँ संकलन गरेकोमा चालु आवको समीक्षा अवधीमा ८२ करोड ८९ लाख ७७ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

 

सबैभन्दा कम घट्नेमा एलआईसी नेपाल रहेको छ । सो कम्पनीको प्रथम बीमा शुल्क आम्दानी ११.४२ प्रतिशतले घटेर एक अर्ब ४८ करोडबाट एक अर्ब ३१ करोडमा झरेको छ । त्यस्तै, दोस्रोमा आइएमई लाइफ रहेको छ । सो कम्पनीको ११.७६ प्रतिशतले घटेर ८० करोडबाट ७१ करोडमा झरेको छ । त्यस्तै, मेट लाइफको १९.७४ प्रतिशतले घटेर ८७ करोडबाट ७० करोडमा झरेको छ ।

सबैभन्दा ठूलो नेपाल लाइफको प्रथम बीमा शुल्क गत आवको तुलनामा २१.६७ प्रतिशतले घटेर तीन अर्ब ८७ करोडबाट तीन अर्ब तीन करोडमा झरेको छ । त्यस्तै, नेशनल लाइफको प्रथम बीमा शुल्क २२.२६ प्रतिशतले तल झरेर गत आवको यसै अवधीमा संकलन भएको दुई अर्ब ५५ करोडबाट एक अर्ब ९८ करोडमा झरेको छ ।

त्यस्तै, रिलायन्स लाइफको प्रथम बीमा शुल्क एक अर्ब ९७ करोडबाट झरेर एक अर्ब ४७ करोडमा आएको छ । मर्जर भई एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफको प्रथम बीमा शुल्क २५.०७ प्रतिशतले तल झरेर एक अर्ब ९७ करोडबाट एक अर्ब ४७ करोडमा झरेको छ ।

सन नेपाल लाइफको प्रथम बीमा शुल्क २५.७० प्रतिशतले तल झरेर एक अर्ब ४७ करोडबाट एक अर्ब नौ करोडमा झरेको छ । त्यस्तै, सानिमा लाइफको २७.१२ प्रतिशतले तल झरेर ६५ करोडबाट ४७ करोडमा झरेको छ भने एशियन लाइफको प्रथम बीमा शुल्क २८.७३ प्रतिशतले तल झरेर एक अर्ब १७ करोडबाट ८३ करोडमा झरेको छ ।

गत वर्षदेखि देशमा उत्पन्न भएको आर्थिक संकटका कारण बीमा बजार प्रभावित हुन सुरु भएको छ । जसको प्रत्यक्ष असर यस वर्षको प्रथम बीमा शुल्कमा देखिएको हो । त्यस्तै, नियामक निकाय बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई प्रोत्साहन दिनुको साटो निरुत्साहित गरेका कारण बीमा व्यवसाय खस्किन पुगेको छ । बीमा अभिकर्ताको लाइसेन्समा अनिवार्य परिक्षा दिनुपर्ने, वर्षौ काम गरेका इमान्दार अभिकर्ताहरुले ऋण लिनै नपाउने जस्ता अनेकौं अव्यवहारिक नियमकीय प्रावधानको कोपभाजनमा बीमा अभिकर्ताहरु परेकोले गत आवको तलनामा यस आवमा बीमाको व्यवसाय उल्लेख्य मात्रामा घटेको बीमा कम्पनीहरुको प्रारम्भिक बुझाई छ ।

समग्रमा २८ प्रतिशतले प्रथम बीमा शुल्क घटेको सम्बन्धमा बीमा प्राधिकरणले नतिजामुखी छलफल र पुनरुत्थानको लागि कुनै योजना बनाउन सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*