सफा हिमाल अभियान २०२३ द्वारा ४५ दिन मै ३४ हजार केजी फोहोर संकलन

१२ जेष्ठ २०८०, शुक्रबार १०:२४

काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम मध्येको एक यस अभियान, अन्य धेरै संस्थाहरू लगायत कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरी २८ मार्चमा सुरु भएको थियो र ५ जुनमा सकिनेछ ।

प्रत्येक वर्ष सयौँ आरोही, सेर्पा र भरियाहरूको टोली यी हिमाल चढ्न जाँदा, चुचुराहरूमा पुग्ने बाटोमा आफुसँगै बायोडिग्रेडेबल र नन–बायोडिग्रेडेबल फोहोर पछाडि छोडेर चुनौतीपूर्ण फोहोर व्यवस्थापनको समस्या निम्त्याउँछन् ।

नेपाली सेना र सेर्पा समर्थक गरी ९७ जनाको सदस्यता रहेको अभियान टिमले अत्यन्तै कठिन मौसमी अवस्था झेल्नुपरेको थियो जसले गर्दा सरसफाईको प्रयास सुस्त भइ हालसम्म चार हिमालबाट ३४ हजार १६६ के.जी. फोहोर संकलन गरेको छ । खाली अक्सिजन क्यानिस्टर, यतिकै छोडिएका टेन्टहरु, खाना राखिने कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायतका फोहोर संकलन गर्दै टिमले यस वर्षको ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य सहित अभियानलाई निरन्तरता दिएको छ ।

अहिले भइरहेको यस अभियानका बारेमा बोल्दै सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दर कुमार पाण्डेूले भने “सफा हिमाल अभियान, विभिन्न हिमालहरुको स्वच्छता जोगाउनका लागि एउटा सबल कदम हो । विगतका वर्षहरूको तुलनामा यस वर्ष हामीले अभियानको क्रममा कठिन मौसमी अवस्थाको सामना गर्यौँ जसले गर्दा टिमका धेरै सदस्यहरू स्वास्थ्य समस्याहरूका कारण पछि परेका थिए भने टिमका सदस्यहरूको सुरक्षाका लागि पहिले भन्दा धेरै इभ्याकुवेसन् गर्नुपरेको थियो । चुनौतीपूर्ण मौसम र उच्च जोखिमको अवस्थाका बावजुद टिमको सराहनीय समर्पणले हामीलाई हाम्रो लक्ष्यतर्फ अगाडि बढ्न मद्दत गरेको छ । विज्ञहरू र नेपाली सेनाले सेर्पा, मेडिकल अफिसर, उद्धार अपरेटर, स्थानीय समुदाय तथा अन्य सहयोगी हातहरुसँग मिलेर हामीलाई बाटो र शिविरहरूबाट मात्र नभई, जम्मा भएका सबै क्षेत्रहरूबाट फोहोर सङ्कलन गरी फिर्ता ल्याउन समर्थ बनायो ।“

पहिलो संस्करण देखि नै प्रमुख दाताका रूपमा कोका–कोला फाउन्डेशन आवद्ध रहेको सफा हिमाल अभियान हाल चौथो शृङ्खलामा छ भने नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरू संलग्न भइ हिमाली क्षेत्रको वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले गरिएको पहल हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*