पुँजी बजारमा राताम्यः निरन्तर गुम्दै लगानी, यी कारण आउँदैछ भारी गिरावट!

काठमाडौँ । शेयर बजारमा नीतिगत सुधारका प्रयास भइरहे पनि त्यसको प्रत्यक्ष प्रभाव भने बजारमा देखिन सकेको छैन । पछिल्लो समय नेप्से सूचकसँगै कारोबार गतिविधिमा समेत दबाब देखिँदा बजार राताम्य बनेको हो । नियामक निकायबाट सुधारका प्रयास अघि बढाइए पनि लगानीकर्ताको मनोविज्ञानमा अपेक्षित सुधार आउन नसक्दा बजारले सकारात्मक गति लिन सकेको छैन ।
अर्थ मन्त्रालयले शेयर बजारसहित समग्र वित्तीय क्षेत्रको सुधारका लागि २१ बुँदे राहत तथा सुधार प्याकेज अघि सारेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी आशंका कम गर्ने प्रयाससँगै पुँजीगत लाभकर घटाउने निर्णयले बजारमा सकारात्मक अपेक्षा सिर्जना गरेको थियो । तर, नीतिगत घोषणाले तत्कालै लगानीकर्ताको माग बढाउन नसक्दा त्यसको प्रभाव बजारमा सीमित देखिएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित अधिकांश नीतिमा लचकता अपनाएको छ भने नेपाल धितोपत्र बोर्डले पनि बजार सुधारका विभिन्न पहल अघि बढाएको छ । नियामकीय तहबाट सकारात्मक संकेत देखिए पनि कारोबार र बजार सूचकमा त्यसको प्रभाव अपेक्षाकृत कमजोर रहेको छ । सुधारका आधार तयार हुँदै गए पनि लगानीकर्ताको विश्वास फर्किन समय लाग्ने अवस्था देखिएको छ ।
यसैबीच सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै लाभांश घोषणा गर्ने क्रम सुरु गरेका छन् । लाभांश सिजन सुरु भइसक्दा पनि बजारमा भने अपेक्षित उत्साह देखिएको छैन । सामान्य अवस्थामा कम्पनीको वित्तीय अवस्था र लाभांश घोषणाले लगानीकर्ताको ध्यान तान्ने गरे पनि यसपटक त्यस्तो प्रभाव कमजोर देखिएको छ ।
लामो समयदेखि दबाबमा रहेका कारण कतिपय कम्पनीको शेयरमूल्य तुलनात्मक रूपमा आकर्षक तहमा पुगेको बजार सहभागीहरूको बुझाइ छ । नीतिगत अवरोध क्रमशः कम हुँदै गएको अवस्थामा मूल्य घटेका कम्पनीमा लगानीको अवसर देख्नेहरू पनि छन् । तर, सुधारका आधार तयार हुँदासमेत बजारमा माग बलियो बन्न नसक्नुले लगानीकर्ताको विश्वास र मनोविज्ञान नै अहिलेको बजारका महत्वपूर्ण पक्ष बनेको देखिन्छ ।
ठूला लगानीकर्ताको लगानीको स्रोत तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धानका विषयले पनि बजारको मनोविज्ञानमा असर पारेको बजार सहभागीहरू बताउँछन् । लगानीको स्रोतबारे प्रश्न उठ्न सक्ने जोखिमका कारण ठूलो पूँजी परिचालन गर्ने केही लगानीकर्ता सक्रिय हुन हिचकिचाएको उनीहरूको भनाइ छ । ठूला लगानीकर्ताको सक्रियता कमजोर हुँदा साना तथा मध्यम लगानीकर्ताको सहभागिताले मात्र बजारमा पर्याप्त माग सिर्जना गर्न कठिन भइरहेको छ ।
यता दशैं नजिकिँदै जाँदा बजारमा बिक्रीको मनोवैज्ञानिक दबाबसमेत थपिएको छ । चाडपर्वका लागि आवश्यक खर्च जुटाउन केही लगानीकर्ताले शेयर बिक्री गर्न थालेपछि बजारमा आपूर्ति बढेको बजार सहभागीहरूको भनाइ छ । तत्काल नयाँ लगानी गर्नुभन्दा नगद व्यवस्थापनलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दा माग थप कमजोर बन्न सक्ने देखिन्छ । यसरी नीतिगत सुधार, लाभांश सिजन र बजार मूल्यको आकर्षक अवस्थाबीच पनि लगानीकर्ताको कमजोर मनोविज्ञान तथा बिक्रीको दबाबका कारण शेयर बजारले तत्काल बलियो सुधारको गति लिन नसकेको अवस्था देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४७ अकंले घटेर २६१३.३३ बिन्दुमा कायम भएको छ । आज ३५७ कम्पनीको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचकमा राताम्य भएको छ । आज व्यापार समूहको शेयर मूल्य मात्रै सामान्य सुधार भएको हो ।
सोमबार ५० कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












