समाजसेवाको रुपमा जीवन बीमामा रमाउँदै जैसरा शर्मा पंगेनी, बीमा अभिकर्ता विज्ञ बन्ने अभियानप्रति दृढ हुँदै अघि बढ्दै

रिना खत्री
१९ भाद्र २०८०, मंगलवार १८:२२

काठमाडौं । विद्यालयको हेडमास्टर्सबाट रिटार्यर्ड जैसरा शर्मा राजनीति वा व्यवसाय अन्य धेरै लाभ पाउने विकल्पहरु खुल्ला नै थिए । तर, उनले बीमाभित्र समाजसेवा, गरिबी न्यूनिकरण र आम जनताको जोखिमलाई बीमामार्फत रक्षावरण गर्ने सपना देखिन् ।

सुरुमा उनलाई समाजसेवा गर्दै बीमा व्यवसाय अघि बढाउँदा यति धेरै सफलता मिल्छ भनेर अशा गरेकी थिईनन् । नेपाल सरकारको जागिरे जीवनपछि आफूलाई पनि व्यस्त राख्नु बीमा अभिकर्ता पेशामा प्रवेश गरेकी जैसरा शर्मा पंगेनी नेपालकै पहिलो एमडिआरटीमा सहभागी हुने महिलाको रुपमा परिचयसहितको नाम र दाम आज उनको अगाडि छ ।

पर्वतकी एक सरकारी विद्यालयकी हेडमास्टर जैसरा शर्माले अनिवार्य अवकाससँगै नयाँ क्षेत्र रोजिन जीवन बीमा अभिकर्ता । २० वर्ष विद्यालयमा साना–साना बालबालिकालाई शिक्षा दिने काममा त्याग गरेकी शर्माले अवकासपछि जीवन बीमा अभिकर्ता बनेर समाज सेवा गर्ने भन्दै बाँकी जीवन समर्पित गरिन् ।

एलआईसी (नेपाल)बाट बीमा क्षेत्रमा प्रवेश गरेकी जैसरा शर्मा पंगेनी हाल नेपाल लाइफको सिनियर एजेन्सी म्यानेनजरमा कार्यरत छिन् ।

पर्वतको हुवास गाविस वडा न. ७ मा जन्मिएकी जैसरा पढाईको सिलसिलामा स्याङजा हुँदै जागिरबाट अवकास पाएपछि काठमाडौँ आएर बीमा क्षेत्रमा प्रवेश गरिन् । उनी हाल नेपाल लाइफको सर्वाधिक कारोबार गर्ने एजेन्सी म्यानेजरको परिचय बनाउन सफल भएकी छिन् ।

मेहनत गरे के हुँदैन र ? भन्ने उदाहरण जैसराबाट सिक्न सकिन्छ । नेपाल सरकारको जागिर अवकासपछि बीमा क्षेत्रमा प्रवेश गरेकी जैसराले बीमा क्षेत्रको बाटोमा लागेदेखि पछाडि फर्केर हेर्नु परेको छैन । बीमा अभिकर्ता जस्तो स्वतन्त्र पेशामा लागेर थप सहज भएको उनी बताँउछिन् ।

दुई दशक सरकारी विधालयमा हेडमास्टरको पेशाबाट अवकाशपाएर बीमा क्षेत्रमा प्रवेश गरेकी जैसराले हाल जीवन बीमा अभिकर्ता बनेर सचेतना दिँदै आईरहेकी छिन् । शिक्षक भएर काम गर्दा र बीमा अभिकर्तालाई प्रशिक्षण दिँदा के फरक भन्ने जिज्ञाशा उनि भन्छिन्, ‘विधा एउटै हो, शिक्षाको ज्योति छर्ने, उतिबेला प्राथमिक शिक्षा, माध्यमिक शिक्षा र जीवन उपयोगी शिक्षामा केन्द्रीत थिए, अहिले जोखिम न्यूनिकरण, जोखिम हस्तान्तरण र बीमामार्फत प्राप्त हुने सुरक्षण अनि सफल एजेन्सी बनाउन बीमा साक्षरता छर्दै हिडेको छु ।’

सुरुमा बीमाबारे खासै नबुझेकी जैसराले बीमा गर्ने क्रममा बीमा अभिकर्ताबाट पाएको बीमा शिक्षासँगै आकर्षित हुँदै जाँदा बीमा क्षेत्रकै नक्षेत्र बन्न सफल भएको उनको अनुभव छ । बीमा सम्बन्धी तालिम र प्रयोगात्मक अभ्यासले थप यस पेशाप्रति प्रभावित हुँदै गएकी जैसराले नेपाल लाइफबाट बीमा व्यवसाय गरेर एमडिआरटी, सिओटी र टिओटीको लक्ष्य हासिल गरिसकेकी छिन् । यो सफलताको पछाडि निरन्तरता, दृढता, सामूहिक प्रयास र परिवारको साथ सहयोगबाट मात्रै सम्भव भएको बताउँन हिच्किचाउँदिनन् ।

बीमा बुझेको दिनदेखि नै अभिकर्ता बनेर काम गर्न थालेको बताउने जैसरा सुरुमा बीमा अभिकर्ता बन्न आफ्नै परिवारकै बीमा गरेर व्यवसाय सुरुवात गरेकी थिईन् । बीमा व्यवसायका सुरुवाती दिन सम्झदै भनिन्, ‘बीमा अभिकर्ता बनेपछि आफन्तहरुले जीवन बीमा भनेको के हो ? भनेर सोध्न थाले, मैले बचत हो, बचत गर्दा कल्पना गरिएको जोखिम बराबरको रकम पाइन्छ भन्दै जानी नजानी बीमा शिक्षा दिन थाले ।’

बीमा अभिकर्ता बनेर सुरुवाती अवस्थाको संघर्षबारे भनिन्, ‘सुरुमा बीमाबारे आफैलाई धेरै जानकारी नहुँदा र बीमाबारे बुझाउन पनि समस्या थियो । बीमा अभिकर्ताको मुख्य मन्त्र भनेको धैर्यता हो । एक सफल अभिकर्ता बन्न धैयर्ताको निकै आवश्यक रहेको उनी बताँउछिन् ।
अभिकर्ता पेशालाई सामाजिक पेशा तथा सर्वोत्कृष्ट पेशाका रुपमा लिँदै जैसराले भनिन्, ‘अभिकर्ता पेशा यस्तो पेशा हो, जहाँ लागे पछि सबै कुरा पाईन्छ । आर्थिक पाटो, इज्जत, पब्लिक रिलेशनलगायत समाजमा सामाजिक कार्य गर्न पाईन्छ ।’ आफूलाई बीमा परामर्शदाता बनाउँने पूर्व हेडमिस जैसरा पंगेनी भन्छिन्, ‘खासमा हामी बीमा परामर्शदाता हौं, हामी कन्सल्टेन्ट हौं, हामीलाई कम्पनीले तलव दिएको हुँदैन । तर, हामी बीमितहरुको आम्दानी विश्लेषण गरेर बीमा शुल्क क्षमता पत्ता लगाएर बीमा गरिदिन्छौं ।’ बीमा अभिकर्ता पेशमा दख्खल भइसकेकी जैसरा शर्मा पंगेनी भन्छिन्, ‘जनताको जोखिम रक्षावरण गराउने समाजसेवाभित्र बीमा व्यवसाय गर्दै आएकी छु ।’

जैसरा आफ्नो पेशाप्रति निकै सन्तुष्ट र आत्मविश्वाससाथ भन्छिन्, ‘सबै दृष्टिकोणले हेर्दा अभिकर्ता पेशा उत्तम पेशा हो । बीमा अभिकर्ता त्यस्ता व्यक्ति हुन्, जसले समाजमा छरिएर रहेको स–साना पैसालाई टिपेर ल्याएर राष्ट्रलाई आवश्यक पर्ने ठूलो कोष सृजना गर्ने, जोखिममा रहेका आम मानिसलाई सानो रकम तिरेको आधारमा भोलि भविष्यमा हुने जोखिमलाई सामना गर्न सघाउँछन् ।’

आफु आवद्ध भएको कम्पनी कुन हो ? त्यो कम्पनीमा के कस्ता खालका बीमा पोलिसिहरु छन् ? कुन व्यक्तिलाई कस्तो पोलिसि आवश्यक छ ? भन्ने लगायतका कुरामा जोसुकै अभिकर्ता पनि जानकार हुनुपर्ने जैसरा बताँउछिन् । ‘बीमा अभिकर्ता इमान्दारिता, निरन्तरता, धैर्यता, समयमा चलायमान रहनुपर्दछ’ उनी भन्छिन् ।

जैसरा भन्छिन्, ‘जीवन बीमा सबै जनालाई नभई नहुने कुरा हो । तर आज पनि नेपाली समाजमा जीवन बीमालाई बुझ्ने थोरै छन् । बुझेर बीमा गर्ने मान्छे थोरै छन् । म अहिले धनी छु । मेरो आम्दानी पनि राम्रो छ । यस्तो अवस्थामा मलाई बीमा किन चाहियो र ? भन्ने खालका मानिसहरु पनि बजारमा पाईन्छन् । तर समय एकैनास नहोला ।

‘हामी सधै यहि अवस्थामा रहि रहदैनौँ । समयसँगै हाम्रो उमेर सकिन्छ । उमेर छँदै, कमाई छँदै बीमा गर्ने हो भने बुढेसकालको लौरो जीवन बीमा बन्न सक्छ’, हामीलाई आफ्नै जीवनकालमा र आफ्नो जीवन पर्यन्त समेत जीवन बीमा आवश्यक छ ।

अभिकर्ता पेशामा निरन्तर लागि परे सम्भावना रहेको उनले बताईन् । धैर्यता र निरन्तर रुपमा लागि पर्ने जो कोही पनि सफल हुने उनको अनुभव छ । ‘यो पेशा सजिलै सफल हुने पेशा त होईन । लडेपछि उठिन्छ भन्ने आटलाई भने लिएर हिड्नु पर्छ ।’ जैसराले भनिन् ।

यो पेशामा कसको लागि किन ? कसको लागि ? र केका लागि ? भनेर सबैलाई चासो छ । हामीले यही कुरा प्रष्ट बुझाउन सक्यौं भने बीमा व्यवसाय विस्तारमा मद्दत पुग्छ, प्रशिक्षणको शैलीमा उनी बताँउछिन् ।
जीवन बीमा भनेको बचत र जोखिम दुवै हो । यो एउटा करार हो । अवधी पूरा भयो, कागजातसहित बीमा पोलिसी लिएर आउनुस्, तपाईको पैसा लिएर जान पाउनुहुन्छ ।

र, यदि कुनै घटना भयो भने बाँचेका परिवारलाई त राहत हुन्छ, त्यसैले यो जीवन बीमा भनेको हो । मानिसको जीवनको ग्यारेन्टी नभए पनि बाँचेका परिवारहरुको भविष्य ग्यारेन्टी गर्ने सेवा जीवन बीमा हो । अर्को बीमा निर्जिवन बीमा छ । निर्जीवन बीमा भनेको, घर, गाडी, शरीरका अंगहरुको, स्वास्थ्य उपचारको खर्च व्यहोर्न पनि बीमा हुन्छ ।

निर्जीवन बीमा तिरेको पैसा फिर्ता आउदैन । जीवन बीमाको विशेषता भनेको आफूलाई केही पर्दा पैसा पाइयो । केही भएन भने बचत रकम बोनस रकम सहित फिर्ता पाइन्छ ।हामी अभिकर्ता हौं ।

हामीलाई मानिसहरुले बीमा गर्ने प्रस्ताव अघि बढाउँदा दर्जन पटक पनि रिजेक्ट गर्छन । कसैले तपाईले अबदेखि बीमाको कुरा लिएर नआउनु पनि भन्छन् । त्यसो भन्दैमा हामीले हरेस खाने होइन, धैर्यता गर्नुपर्दछ । सानो रकम बचत गर्नुभयो भने बुढेसकालमा पक्कै पनि सजिलो हुन्छ भन्ने कोणबाट बुझाउँदै लाँदा पक्कै पनि एक दिन मान्छन्।

बीमा अभिकर्तालाई दिनुपर्ने तालिम प्रभावकारी नभएको उनको बुझाई छ सरकारले पनि अभिकर्तालाई आर्थिक पाटोको मेरुदण्ड हुन् भनेर बुझ्न जरुरी रहेको उनी बताँउछिन् ।

पछिल्लो पटक गैर कानुनी रुपमा बीमा अभिकर्ताको लाइसेन्स संस्थागत रुपमा वितरण गरेर सरकारले अर्को अन्याय गरेको उनको बुझाई छ ।

राज्यलाई विशुद्ध रुपमा कर तिर्ने बीमा अभिकर्ताप्रति राज्यको ध्यान जानु जरुरी रहेको जैसरा बताँउछिन् । जीवन बीमाको मेरुदण्ड अभिकर्ताले सानो सानो रकम जम्मा गरेर ठूलो फण्ड बनाउन सहयोग गरेको भन्दै राज्यले उचित रुपमा अभिकर्ता पेशालाई नहेरेको भन्दै गुनासो गछिन् ।

अभिकर्ता पेशा प्रति सन्तुष्ट रहेकी जैसराले अभिकर्ता पेशामा भविष्य रहेकोले नयाँ अभिकर्ताहरुलाई दृढतापूर्वक हिम्मत गरेर अघि बढ्न सुझाव दिन्छिन् । आत्मविश्वास, धैर्यता र निरन्तर रुपमा लागि पर्ने जो कोही पनि यस पेशामा सफल हुन सक्ने कुरामा उनको जोड छ ।

यदि बीमा अभिकर्तालाई आर्थिक मन्दीले खासै फरक नपार्ने उनी बताँउछिन् । मेलै आफनो टार्गेटहरु पुराईरहेको छु । भोलिको रिक्सको बीमा गराउने हो नी, बीमितहरुलाई राम्रोसँग बुझाउन सके बीमा व्यवसायमा समस्या नरहेको उनी बताँउछिन् ।
लामो समयदेखि बीमा अभिकर्ता पेशमा लागिरहेकी उनले अभिकर्ताको बारेमा थोरैले मात्रै राम्रो सोच राख्ने गरेको भेटेकी बताएकी छिन् ।

बीमाबारे धेरैले बुझेका छन् । तर दैनिक जीवनमा बीमा गर्ने प्रवृत्ति अझैसम्म नरहेको उनी बताँउछिन् ।केहि समयअघि नेपाल बीमा प्राधिकरण नेपालले ल्याएको बीमा ऐन, २०७९ को भने उनी खुलेरै प्रशंसा गर्छिन् । यो नियमसँगै अभिकर्ताले सम्मान र इज्जत पाउने उनको विश्वास छ ।

घरघर गएर विद्यार्थी भर्ना गर्ने शिक्षकलाई जस्तै, गाउँगाउँ पुग्ने बैंकका कर्मचारीलाई र लोन उठाउन हिँडेका सहकारी र लघुवित्तका कर्मचारीलाई झैं बीमाको बारेमा जानकारी दिने, सचेतना जनाउने, सिंगो परिवारमाथि आइपर्ने आर्थिक अभावलाई समाधान गर्ने र पैसा बचत गर्न सिकाउने अभिकर्तालाई पनि समाज र नियामक पाटोले उचित दुष्टिकोणले हेर्न नसकेको उनको गुनासो छ ।

बीमा क्षेत्रलाई अभिन्न अंग बनाएकी जैसरा पंगेनी बीमा विषयलाई एकेडेमिक बनाउने अभियानमा पनि अघि बढिरहेकी छिन् । उनी हाल बीमा विषयमा एमफिल गर्दैछिन् । बीमा अभिकर्ता क्षेत्रमै एमफिल गर्ने पहिलो महिला भएको उनको दाबी छ ।
बीमा क्षेत्रमा अनुभवको योग्यता सहित शैक्षिक योग्यता पनि हुनु उत्तिकै जरुरी रहेको उनी बताँउछिन् ।

‘यस बिषयको परिवर्तन म आफैबाट सुरु गर्दैछु’ उच्च मनोबल, दरिलो साहस, जिम्मेवारी बोध अनि हिम्मत गरेर बीमा अभिकर्ता पेशालाई समाजसेवा, आफ्नो जीवन गुजार्ने पेशा अनि जीवन बीमा अभिकर्ता विज्ञको रुपमा आफूलाई चिनाउने अभियानमा रहेकी जैसरा शर्मा पंगेनीको नेपाल लाइफको यात्रा आम बीमा अभिकर्ता र एजेन्सीहरुलाई प्रेरणादायी हुन पुगेको छ ।

2 thoughts on “समाजसेवाको रुपमा जीवन बीमामा रमाउँदै जैसरा शर्मा पंगेनी, बीमा अभिकर्ता विज्ञ बन्ने अभियानप्रति दृढ हुँदै अघि बढ्दै

  1. Tol kanta Bhattarai says:

    pragtiko shubhakamana DD

  2. Tol kanta Bhattarai Galyang says:

    khusi lageko Xa DD ko news herer

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*