कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न कोरियाका उपप्रधानमन्त्रीलाई अर्थमन्त्रीको आग्रह

२५ आश्विन २०८०, बिहीबार १२:१९

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग मोरक्को पुगेका अर्थमन्त्री महत र कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षीय भेटमा सो आग्रह गरेका हुन् ।

भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताए ।

‘नेपाल लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आइटीसी ईण्डिया मात्रै होइन् मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने,‘ हामीहरूले चालू आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ ।’

नेपाल सरकारले इज अफ डुइङ विजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले जानकारी गराए । ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने, ‘जलविद्युत उत्पादन, प्रसारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’

नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गरे । ‘अहिले तपाईंहरु संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनुहुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठुलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भइरहेको छ,’ मन्त्री महतले भने, ‘निजी क्षेत्रले दीर्घकालमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’

मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्री क्यूङले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरू तयार रहेको बताए । उनले केही कोरियन लगानीमा दोहोरो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरे।

जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे। मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभयो । उपप्रधानमन्त्री क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथाशक्य छिटो एजेण्डा तय गर्न आग्रह गरेका थिए । अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानुन राम्रो भएको भन्दै प्रशंसा गरे । भेटमा कोरियाका अर्थमन्त्रीले नेपालका जनताको जीवनस्तर सुधार गर्न आफूहरू सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

नेपालले जलविद्युत परियोजना निर्माणमा राम्रो प्रगति गरे पनि कमजोर प्रसारण लाइनले जलविद्युत क्षेत्रबाट पर्याप्त लाभ लिन नसकेकाले नेपालको प्रसारण लाइन निर्माणमा लगानी गर्न आग्रह गरे ।

कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई अर्थमन्त्री डा। महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गरे । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनु पर्ने मन्त्री महतले बताए । ‘कोरियाबाट एउटा मात्रै वायुसेवा कम्पनीले उडान गर्दा कोरिया र नेपालको हवाई भाडा महँगो छ । एउटै कम्पनीले एकाधिकारले हवाई भाडा महँगो हुँदा कोरिया रहेका नेपालीहरूले अन्य देश भएर आउनु परेको छ,’ मन्त्री महतले भने,‘नेपाल वायुसेवा निगमले नयाँ विमान खरिद गरेको छ । नेपाली कम्पनीलाई पनि सिधा उडान गर्न दियो भने प्रतिस्पर्धाले हवाई भाडा घट्ने थियो । त्यसले नेपाली नागरिकका साथै नेपाल घुम्न आउने कोरियन नागरिकलाई समेत सहज हुने थियो ।’

नेपाल वायु सेवा निगमलाई कोरियामा उडान अनुमति दिन अर्थमन्त्री महतको आग्रह पछि कोरियाका उपप्रधान तथा अर्थ मन्त्रीले कोरियाली उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान गर्न दिनु पर्ने विषय पुर्‍याउने बचन दिएका छन् । ‘तपाईंले भनेको विषयमा म सकारात्मक छु,’ अर्थमन्त्री चु क्यूङले भने, ‘कोरियाली सम्बन्धी निकायमा म यो विषय पुर्‍याउने छु ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*