अस्थिर पुँजी बजारः नियामकका सकारात्मक कदमलाई रातो सिग्नल, यी कारण घट्दैछ मार्केट!

काठमाडौँ । शेयर बजारमा नीतिगत सुधारका प्रयास अघि बढे पनि त्यसको प्रभाव कारोबार र नेप्से सूचकमा स्पष्ट रूपमा देखिन सकेको छैन । बजार सुधारका विषयमा प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा नियामक निकाय, शेयर लगानीकर्ता तथा सरोकारवालाबीच छलफल भएको छ। सरकार र नियामक निकायबाट बजार सुधारका लागि सकारात्मक पहल भइरहे पनि लगानीकर्ताको विश्वास अपेक्षित रूपमा बढ्न नसक्दा बजारमा निरन्तर दबाब देखिएको हो ।
सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेको २१ बुँदे राहत तथा सुधार प्याकेज, पुँजीगत लाभकरमा गरिएको कटौती तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आशंका न्यूनीकरणका प्रयासले लगानीकर्तामा सकारात्मक अपेक्षा सिर्जना गरेको छ। नेपाल राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित विभिन्न व्यवस्थामा लचकता अपनाउनुका साथै नेपाल धितोपत्र बोर्डले पनि बजार सुधारका लागि पहल अघि बढाइरहेको छ। यद्यपि, नियामकीय तहबाट सकारात्मक वातावरण निर्माण गर्ने प्रयास भए पनि त्यसअनुसार लगानीकर्ताको मनोबलमा सुधार आउन बाँकी रहेको देखिन्छ।
लामो समयदेखि बजारमा कायम दबाबका कारण कतिपय सूचीकृत कम्पनीको शेयरमूल्य तुलनात्मक रूपमा न्यून तहमा पुगेका छन्। यसले केही लगानीकर्ताका लागि लगानीको अवसर सिर्जना गरे पनि नयाँ माग पर्याप्त रूपमा बढ्न नसक्दा त्यसको प्रभाव समग्र बजार सूचकमा देखिन सकेको छैन। यसैबीच सूचीकृत कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै लाभांश घोषणा गर्न थालेका छन्। सामान्यतया लाभांश सिजनमा बजारमा लगानीकर्ताको आकर्षण बढ्ने गरे पनि यसपटक त्यसको प्रभाव अपेक्षाकृत कमजोर देखिएको छ।
विशेषगरी ठूला लगानीकर्ताको लगानी स्रोत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा देखिएको चासोले ठूलो रकम परिचालन गर्ने वर्गमा केही हदसम्म सतर्कता बढाएको बजार सहभागीहरूको भनाइ छ। ठूला लगानीकर्ताको सक्रियता कमजोर रहँदा साना तथा मध्यम लगानीकर्ताको सहभागिताले मात्रै बजारमा पर्याप्त माग सिर्जना गर्न कठिन भइरहेको छ। कम्पनीको वित्तीय अवस्था, लाभांश क्षमता र शेयरमूल्यलाई आधार बनाएर लगानी गर्ने अवसर भए पनि समग्र बजारप्रतिको अनिश्चितताले लगानीकर्तालाई थप सक्रिय हुनबाट रोकिरहेको बताइएको छ।
यसका साथै दशैं नजिकिँदै गर्दा चाडपर्वको खर्च व्यवस्थापनका लागि शेयर बिक्री गर्ने प्रवृत्तिले बजारमा आपूर्ति थप बढाएको देखिन्छ। पछिल्लो समय आएको बाढीपहिरोबाट देशभर ठूलो क्षति हुनुका साथै केही सूचीकृत कम्पनीसमेत प्रभावित भएका छन्। प्राकृतिक विपत्तिको असर र त्यसबाट कम्पनीहरूको व्यवसायमा पर्न सक्ने प्रभावले समेत लगानीकर्ताको मनोबलमा दबाब परेको देखिन्छ। ठूला लगानीकर्ता थप सतर्क रहनु र साना लगानीकर्ताले मात्रै बजारमा पर्याप्त माग सिर्जना गर्न नसक्दा नीतिगत सुधार, लाभांश सिजन र कतिपय कम्पनीको घटेको शेयरमूल्यका बाबजुद तत्कालै बजारमा बलियो सुधार आउन चुनौती कायमै रहेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८२ अकंले घटेर २५९८.८९ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड २६ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज जलविद्युत समूह, म्युचुअल फण्ड समूह र व्यापर समूहको शेयर मूल्य मात्रै बढेको देखिएको हो ।
बुधबार १०९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।












