एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रिजेक्ट, भारतीय ठेकेदार असाध्यै महँगा

२६ आश्विन २०८०, शुक्रबार १४:५४

काठमाडौं । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रबार नोटिश जारी गरेर यी सबै ठेक्का रद्द भएको जानकारी दिएको छ ।

यी ठेक्काहरुमा बोलपत्रअघि गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको एमसीए नेपालका सूचना अधिकारी राजीव दाहालले बीमापोष्टलाई बताए । अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्ने तयारी भइरहेको उनले बताए ।

टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि यो प्रक्रिया रद्द गर्ने प्रस्ताव गरिएको सूचना अधिकारी दाहालको भनाइ छ । एमसीएले त्यसरी गरेको प्रस्तावलाई एमसीसीको मुख्यालयले अनुमति दिएपछि ठेक्का रद्द गरिएको हो । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

गएको जेठ ८ मा खोलिएको बोलपत्रअनुसार ६ वटा कम्पनीले प्रसारणलाइन बनाउन प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये पाँचवटा कम्पनीमात्रै प्राविधिक रुपमा सफल भएका थिए । भारतका कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड, केईसी इन्टरनेसनल लिमिटेड, लार्सेन एन्ड टर्बो लिमिटेड प्राविधिक रुपमा सफल भएकोमा तिनै कम्पनीले तीन वटै प्याकेजमा आवेदन हालेका थिए ।

प्रसारणलाइनको पहिलो चरणमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । एमसीए– नेपालले यो खण्डको प्रसारणलाइन बनाउन ७ करोड ६४ लाख ६४ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो ।

पहिलो चरणका लागि प्रतिस्पर्धा गरेका कम्पनीमध्ये सबैभन्दा कममा ठेक्का हाल्ने कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेड नै १३ करोड १५ लाख अमेरिकी डलर प्रस्ताव गरेको थियो । त्यो नै लागत अनुमानभन्दा ५ करोड ५० लाख ६७ हजार अमेरिकी डलर अर्थात् ७२ प्रतिशतले बढी देखिएको बताइन्छ ।

दोस्रो चरण अन्तर्गत रातमाटे–न्यू दमौली खण्डका लागि एमसीए नेपालले ६ करोड ४८ लाख ५३ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो । यसमा सबैभन्दा कम प्रस्ताव टाटा प्रोजेक्ट्स लिमिटेडले गरेको थियो । जसले त्यो खण्ड १० करोड ५४ लाख २५ हजारमा बनाउनसक्ने प्रस्ताव गरेको थियो । सबैभन्दा कम प्रस्ताव नै एमसीएको अनुमानभन्दा ४ करोड ५ लाख ७१ हजार बढी थियो । यो लागत अनुमानको ६२ दशमलव ५ प्रतिशतले धेरै हो ।

त्यस्तै, तेस्रो चरण अन्तर्गत न्यू दमौली–न्यू बुटवल प्रसारणलाइन भारतको सीमासम्म तोकिएको छ । एमसीए नेपालले यो खण्डको प्रसारणलाइन निर्माण गर्न ७ करोड ९२ लाख ८२ हजार लागत अनुमान गरेको छ । तर, यसमा सबैभन्दा कम रकममा बनाउने प्रस्ताव गर्ने टाटा प्रोजेक्ट्स लिमिटेडले १२ करोड ९० लाख २१ हजार डलर प्रस्ताव गरेको थियो । त्यो रकम नै लागत अनुमानको तुलनामा ६२ दशमलव ७३ प्रतिशत अर्थात् ४ करोड ९७ लाख अमेरिकी डलरले बढी हो ।

यसरी समग्रमा एमसीसीको सहयोगमा निर्माण हुने प्रसारणलाइन बनाउन २२ करोड ६ लाख अमेरिकी डलर लागत अनुमान एमसीए नेपालले गरेको थियो । तर, सबैभन्दा कममा मूल्य प्रस्ताव गर्ने कम्पनीहरुले गरेको प्रस्ताव नै ३६ अर्ब ५९ करोड अमेरिकी डलर थियो, जुन लागत अनुमानको तुलनामा ६६ प्रतिशतले बढ्ता हुन गएको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*