वीरेन्द्र र ऐश्वर्यको विवाहमा ५० देशका पाहुना, खर्च १६ करोड

१५ कार्तिक २०८०, बुधबार १६:१७

काठमाडौं । मान्छेहरु नै अत्तालिने गरेर इतिहास वंग्याउने र तथ्याङ्कलाई मिथ्याले छोपेर सनसनी फैलाउने कार्य नेपाली आमसञ्चार जगतमा व्याप्त छ । त्यही शैलीमा हालै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पूर्व राजा वीरेन्द्र शाहको विवाह खर्चलाई लिएर सनसनी फैलाइयो ।

५३ वर्षअघि वीरेन्द्रले २४ वर्षको उमेरमा राणा परिवारकी छोरी ऐश्वर्य राज्य लक्ष्मीलाई दरबार भित्र्याउँदा ५० बढी देशका पाहुना बोलाएको र ९.५ देखि १६ मिलियन अमेरिकी डलर अर्थात् घटीमा १० र बढीमा  १६ करोड १६ लाख नेरु खर्च गरेको तथ्यलाई हालको डलरभाउसँग जोडेर प्रचार गरियो । कतिपयले यसलाई विश्व कै सबैभन्दा खर्चिलो र महँगो विवाह समे भन्न भ्याए ।

न्यूयोर्क टाइम्सले २५ फेब्रुअरी १९७० मा वीरेन्द्रको विवाहको भव्य तयारी सम्बन्धमा समाचार छापेको थियो । त्यसको दुई दिनपछि फेब्रुअरी २८ अर्थात् २०२६ फागुन १६ गते शुक्रबार वीरेन्द्रको विवाह भएको थियो । न्यूयोर्क टाइम्सले विवाह उत्सवका लागि ५० भन्दा बढी देशका राष्ट्र प्रमुख तथा कुटनीतिज्ञलाई निम्ता गरिएको र राजधानी काठमाडौंलाई बेहुली झैँ सिगाएको प्रसंग उल्लेख गरेको छ ।

त्यो बेला बेलायतबाट चार वटा सेतो घोडा नेपाल लगिएको, नेदरल्याण्डसबाट पुष्पगुच्छा पठाइँदै गरेको र नयाँ दिल्लीबाट दुईवटा विमानमा मिष्ठान परिकार पठाइँदैछ भनी लेखेको छ, न्यूयोर्क टाइम्सले । सानो, गरिब र पुरानो पहाडी मुलुकका भावी राजाको भव्य विवाह समारोहलाई लिएर न्यूयोर्क टाइम्सले खर्चको विषय पनि वास्तविक नभई बढाइचढाई गरिएको हुनसक्ने भनी संशयको वाक्याशं समेत प्रयोग गरेको छ ।

उसले भनेको छ, ‘विवाहको लागत सरकारका लागि एक संवेदनशील मुद्दा बनेको छ । विवाहको खर्च ९.५ देखि १६ मिलियन अमेरिकी डलर हुनसक्ने अनुमान छ । तर, यो आँकडा अतिरन्जित लागिरहेको छ । किन भने नेपालको वार्षिक राष्ट्रिय बजेट नै केवल ६६ मिलियन डलर अर्थात् ६ करोड ६० लाख अमेरिकी डलर हो ।’ जति बेला अमेरिकी डलर १ को खरिददर १० रुपैयाँ १० पैसा, विक्रिदर १० रुपैयाँ २० पैसा थियो ।

न्यूयोर्क टाइम्सको आँकडा अनुसार वीरेन्द्रको विवाह उत्सवमा १६ करोड १६ लाख नेरु खर्च अनुमान गरिएको र त्यसबेला नेपालको वार्षिक बजेट केवल ६७ करोड मात्रै रहेको ठहर्छ ।  पछिल्लो समय मुलुकको राजनीतिलाई राजतन्त्रसँग जोडेर बहस हुन थालेपछि गणतन्त्र पक्षधर अधिकांशले त्यो बेला अचाक्ली मानिएको यो विवाहको प्रसंग झिकेका छन् ।

तर, त्यो बेलाको खर्चलाई अहिलेको डलर भाउसँग जोडेर प्रचार गरिनु मनासिव होइन । त्यति बेलाको खर्चलाई अहिलेको डलरभाउसँग जोड्दा वीरेन्द्रको विवाह खर्च दुई अर्ब १३ करोड हुन आउँछ । कुरा जे सुकै भए पनि अमेरिकी डलर इतिहास कै बलियो भएको र नेपाली मुद्रा सयौँ गुणाले कमजोर भएको तथ्य यो ऐतिहासिक विवाहले उजागर गर्छ । अर्कोतिर विवाहमा बोलाइएका पाहुनाको सूची हेर्दा त्यो बेलाको कुटनीतिक क्षमता अद्भुत थियो भन्ने ठहर्छ ।

One thought on “वीरेन्द्र र ऐश्वर्यको विवाहमा ५० देशका पाहुना, खर्च १६ करोड

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*