कांग्रेस ‘इकोनोमी कन्क्लेभ’ : जिम्मेवारी बिर्सेर गगन र विश्वप्रकाश लाखापाखा

केन्द्रीय समिति बैठकबाट पारित कार्यक्रम पनि गर्दैन कांग्रेस
१६ कार्तिक २०८०, बिहीबार १५:१६

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले कार्तिकको तेस्रो हप्ता गर्ने भनेको ‘इकोनोमी कन्क्लेभ’ स्थगनको विन्दुमा पुगेको छ । कार्यक्रमका मूल कर्ता नै लाखापाखा लागेपछि केन्द्रीय समितिको बैठकबाट पारित कार्यक्रम उपयुक्त समयमा नहुने देखिएको हो । केही दिन पहिले महामन्त्री गगन थापाले पार्टीका संस्थापक नेता सुवर्ण शम्शेरको स्मृति दिवस पारेर कात्तिक २३ र २४ गते इकोनोमी कन्क्लेभ गर्ने भनी प्रचार गरेका थिए । उनले यो कार्यक्रम केन्द्रमा मात्र नभई ७५३ वटै स्थानीय तहमा समेत हुने जिकिर गरेका थिए । ‘इकोनोमी कन्क्लेभ’मा हरेक क्षेत्रका अर्थविद्सँग आर्थिक नीतिका विभिन्न आयामवारे छलफल हुने र छलफलको निचोडबाट कांग्रेसको अर्थनीति तय हुने समेत गफ हाँकेका थिए, महामन्त्री थापाले ।

कार्तिक २४ गते नजिकिँदै गर्दा आफु भने उनी चार दिने ट्रेकिङ भन्दै काठमाडौं बाहिर हानिएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा अमेरिकाबाट फर्किएका छैनन् । उनी एक दुई दिनमा फर्किने कुरा जानकारीमा आएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार यो कार्यक्रमको मूल कर्ता महामन्त्रीहरु नै हो । पदाधिकारी बैठकले तयार पारेको प्रस्ताव सभापतिको अनुमतिमा महामन्त्रीहरुले नै केन्द्रीय कमिटी बैठकमा राख्ने गर्दछन् । सभापतिको अनुमतिबेगर महामन्त्रीले कुनै प्रस्ताव केन्द्रीय समिति बैठकमा राख्न पाउँदैनन् ।

कांग्रेसको ‘इकोनोमी कन्क्लेभ’अन्योलमा, पहिल्यै हल्ला फिजाउने महामन्त्री गगन थापा

इकोनोमी कन्क्लेभको प्रस्ताव पनि सभापति शेरबहादुर देउवाको अनुमति मै गएको साउन २ देखि १० गतेसम्म ८ दिन चलेको बैठकमा महामन्त्री गगन थापाले नै ल्याएका थिए । यो कार्यक्रम केन्द्रीय समिति बैठकबाट पास भएको कार्यक्रम हो, प्रचार विभाग प्रमुख विश्वकर्माले बीमापोष्टसँग भने, ‘त्यसरी केन्द्रीय समिति बैठकबाट पारित भएको कार्यक्रम अनिवार्य गर्नै पर्ने हुन्छ । तर, लिजेन्ड्री नेता सुवर्ण शमशेरको स्मृति दिवस पारेर कार्तिक २३ र २४ मा गर्ने भनेको कार्यक्रम स्थगन हुन्छ कि भन्ने लागेको छ । महामन्त्रीद्वयको व्यस्तताका कारण तयारी गर्न पाइएको छैन । अर्कोतिर महासमिति बैठकको तयारीमा लागेका कारण पनि इकोनोमी कन्क्लेभ हुँदैन कि भन्ने छ । स्थगनको औपचारिक निधो भने भइसकेको छैन । सबैजना यताउता भएपछि सल्लाह भएको छैन । म एक्लै अनिर्णित छुँ ।’

जम्मा एक दिनलाई औपचारिकता लागि भए पनि गर्ने कि भन्ने कुरा पनि आइरहेको विश्वकर्माले बताए । यद्यपि, त्यसरी गर्नुको औचित्य नहुने उनको भनाइ छ । नीति महाधिवेशनको समेत काम गर्ने गरी कांग्रेसले मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा महासमिति बैठक गर्ने तय गरिसकेको छ । महासमिति बैठकको तयारी कै कारण इकोनोमी कन्क्लेभको तयारी नपुग्ने विश्वकर्माले बताए । कांग्रेसका तर्फबाट सरकारमा सहभागि अर्थमन्त्री झिक्ने दबाब स्वरुप यो कार्यक्रम गर्दा उपयुक्त हुने जुक्ति लगाएका गगन आफैं ट्रेकिङमा हिँडेपछि कार्यक्रम हुने नहुने अन्योल कायमै छ । प्रचार विभाग प्रमुख विश्वकर्मा एक्लै ट्वाँ परेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*