कांग्रेसको ‘इकोनोमी कन्क्लेभ’अन्योलमा, पहिल्यै हल्ला फिजाउने महामन्त्री गगन थापा

पार्टीको सेड्यूल ‘प्याक’
१३ कार्तिक २०८०, सोमबार १४:५५

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले कार्तिकको तेस्रो हप्ता गर्ने भनी प्रचार गरिएको ‘इकोनोमी कन्क्लेभ’ अन्योलमा परेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यसमितिको सेड्यूल नै नहेरी हचुवामा कार्तिक तेस्रो साता कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्न लागेको भनी हल्ला गरे पनि कहिले गर्ने भन्ने निधो अहिलेसम्म भइसकेको छैन ।

पार्टीको संस्थापक मध्येका एक ‘तारा’ सुवर्ण शम्शेरको स्मृति दिवस पारेर कात्तिक २३ र २४ गते इकोनोमी कन्क्लेभ गर्न लागेको भनेर कांग्रेस महामन्त्री गगन थापाले तिथि नै घोषणा गरिदिए । यो आइडिया महामन्त्री थापा र अर्का महामन्त्री विश्व प्रकाश शर्माको रहेको बताइएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि कार्तिक तेस्रो साता कन्क्लेभ गर्न तय भइसकेको भनी गफ दिए । देशको अर्थतन्त्रबारे गहन बहस गर्नका लागि कांग्रेसले इकोनोमी कन्क्लेभ आयोजना गर्न लागेको पौडेलले बताए ।

आन्तरिक उपभोग निरन्तर घटेको, राजस्व लक्ष्यअनुसार नउठेको र वैदेशिक रोजगार तथा अध्ययनका लागि युवापुस्ता पलायन हुने क्रम बढिरहेका बेला यस्तो कार्यक्रम जरुरी भए पनि वास्तमा कांग्रेस महामन्त्रीद्वयले भनेको जस्तो पूर्ण तयारीकासाथ डिस्कोर्स गर्न कांग्रेस पार्टी स्वयंसँग फुर्सद छैन । अहिले सिंगो पार्टी महासमिति बैठकको तयारीमा लागेको छ ।

नीति महाधिवेशनको समेत काम गर्ने गरी महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा गर्ने तय भइसकेका कारण त्यसअघि इकोनोमी कन्क्लेभ गर्न सम्भव नहुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘संस्थापक नेता सुवर्ण शमशेरको स्मृति दिवसको अवसर पारेर गर्ने कुरासम्म आएको हो । तर, सबैको ध्यान महासमिति बैठकमा गइसकेको छ । त्यस कारण यस्तो बेलामा कन्क्लेभ गर्दा औपचारिक जस्तो मात्रै हुन्छ कि भन्ने निष्कर्षमा हामी पुगेका छौँ ।’ अब उपयुक्त समय छनोटका लागि हामी महामन्त्रीसहित छलफल गरेर निधो गर्छौ, प्रचार विभाग प्रमुख विश्वकर्माले भनेका छन् । उनले त्यसबारेमा निधो गरेर मात्रै आफुहरुले जानकारी दिने बताएका छन् ।

कन्क्लेभ केन्द्रमामात्र सीमित नगरी देशभर हुने भनिएको छ । सूचना प्रविधिदेखि नेपाली उत्पादनसम्मका विषयमा बहस हुने कार्यक्रम ७५३ वटा पालिकामा, सात वटा प्रदेशमा र केन्द्रमा हुने महामन्त्री थापाको जिकिर छ । ‘इकोनोमी कन्क्लेभ’मा हरेक क्षेत्रमा अर्थविद्सँग आर्थिक नीतिका बारेमा विभिन्न आयामवारे छलफल हुने र कन्क्लेभबाट कांग्रेसको अर्थनीति तय हुने समेत महामन्त्री थापाको भनाइ छ ।

इकोनोमी कन्क्लेभको आइडिया कसले ल्यायो ? भन्नेबारे पनि कांग्रेसभित्र मतभेद चर्किएको छ । केन्द्रीय सदस्य डा. पोखरेलका अनुसार ‘यो महामन्त्रीहरुकै आइडिया हो ।’ तर, कांग्रेस संस्थापनइतरका केही नेताहरु सभापति शेरबहादुर देउवाको निर्देशनपछि केन्द्रीय समितिमा आएको भनिरहेका छन् ।

अहिलेसम्म यस्तो आर्थिक बहसको आँट कसैले नगरेकाले यो प्रयासलाई राम्रो मान्नुपर्ने केही अर्थविदहरुको धारणा छ । यस्तो छलफल एक पटकभन्दा पनि नियमित भइरहनु पर्ने उनीहरुको भनाइ छ । यस्तै खालका कार्यक्रमबाट युवा नेताहरुको सक्रियता देखिने भएका कारण सार्थक कार्यक्रम बनाइनु पर्ने कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्थविद् डा. गोविन्दराज पोखरेल बताउँछन् । तर, कांग्रेसका एक जना केन्द्रीय सदस्यका अनुसार पार्टी सभापति शेरबहादुर देउवा र अर्थमन्त्री प्रकाशशरण महतको आलोचना गर्ने प्रपन्च मात्रै भएको बताएका छन् ।

उनले भने, ‘महासमिति बैठकअघि मुलुकको अर्थतन्त्रका खराब सूचकको ढड्डा तेस्र्याउन पाए पार्टी नेतृत्वको ‘मोरल डाउन’ गर्न सकिन्थ्यो भन्ने ध्याउन्न हो । नभए महासमिति बैठक तय भइसकेको यस्तो अवस्थामा तयारीविनाको इकोनोमी कन्क्लेभ गर्ने कुरा गर्नु कत्तिको जायज होला ?’ यस्तो खाले कार्यक्रम गर्ने प्रस्ताव आउनु र अहिलेको परिप्रेक्षमा प्रस्ताव जायज लाग्नुलाई स्वभाविक मान्न सकिने भए पनि पार्टीको मूल सेड्यूलका कारण अटोमेटिक फितलो हुने उनको तर्क छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*