यस्तो देखियो भूकम्पले क्षतविक्षत खलङ्गा (फोटोफिचर)

१८ कार्तिक २०८०, शनिबार ११:१३

काठमाडौं । शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटको खलंगा क्षतविक्षत भएको छ । क्षतविक्षत भएको दृष्य खलंगास्थित थाप्लेको हो । जिल्ला समन्वय समिति प्रमुख काली बहादुर खत्रीका अनुसार त्यहाँ रहेका सबैजसो घरहरु भत्किएका छन् ।

उनका अनुसार अहिलेसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र कुसे गाउँपालिका गरेर ९५ जनाको मृत्यु भएको छ भने घाइते कति छन् र कति घरभित्र च्यापिएका छन् भन्ने अझै यकिन हुन सकेको छैन । भूकम्पको केन्द्रविन्दु भएको बारेकोट गाउँपालिकामा कुनै पनि घर सग्लो नरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिएका छन् । बारेकोटबाट मानवीय क्षतिको विवरण भने आएको छैन । हालसम्म जाजरकोटमा ९५ र रुकुमपश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, शुक्रबार मध्यराती भूकम्प गएदेखि अहिलेसम्म १०९ धक्का मापन भएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएका छन् । ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३ रेक्टर स्केलका भूकम्प गएका उनको भनाइ छ । अन्य भूकम्पका धक्का भने ४ रेक्टरस्केल मूनिका छन् ।

तस्वीरमा हेरौँ जाजरकोट

तस्वीर : सामाजिक सञ्जालबाट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*