प्रधानमन्त्री प्रचण्ड आफैंले अगुवाई गरेपछि उद्धार र राहतमा निजी क्षेत्रको पनि साथ

१९ कार्तिक २०८०, आईतवार ११:०८

काठमाडौं । शुक्रबार मध्यराती जाजरकोटको बारेकोट गाउँपालिका आसपास केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि एकाविहानै स्वास्थ्यकर्मीको टोली र औषधि लिएर प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले आइतबार आजदेखि उद्धार सँगसँगै राहतलाई तीव्र पार्ने अभियान थालेका छन् ।

प्रभावित क्षेत्रमा पुगेर उनले आइतबारदेखि धमाधम राहतको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएका थिए । उनले मन्त्रिपरिषदको बैठक राख्नुभन्दा अगावै अभियानको घोषणा गरेका हुन् । प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा शनिबार पनि तीनवटा हेलिकोप्टरले एक छिन पनि विश्राम नलिई उद्धारको काम गरेका थिए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले एकद्वार प्रणालीमार्फत राहत वितरण कार्य गर्ने निर्णय गरेको छ । त्यो बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक बेस मानेर उद्धार र राहतका कामअघि बढाउने निधो समेत गरेको छ ।

सरकारले अगुवाई लिएपछि निजी क्षेत्र समेत उद्धार र राहतमा सक्रिय भएको छ । अहिले निजी क्षेत्रका प्रतिनिधिमूलक संघ–संस्था, औद्योगिक घराना, बैंक तथा वित्तीय संस्था एवं कर्पोरेट संस्थाहरुले राहतका लागि नगद तथा जिन्सी सहयोग घोषणा गरेका छन् । वाणिज्य बैंकतर्फ सिटिजन्स बैंकले २५ लाख सहयोग घोषणा गरेको छ । बैंकतर्फ त्यसरी राहत दिने पहिलो बैंक समेत बनेको छ, सिटिजन्स बैंक इन्टरनेशनल । उसले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै भूकम्प पीडितको उद्धार तथा उपचारका लागि सहयोग गरेको जानकारी दिएको छ ।

यस्तै, सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रको सहजताका लागि ५ दिन निःशुल्क सेवा दिने निर्णय गरेको छ । उसले रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा मोवाइल सेवा पाँच दिन निःशुल्क दिने भएको हो । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले समेत ५० लाख सहयोग र ४० लाख बराबरको निःशुल्क सेवा दिने भएको छ ।

नेपाल आयल निगमनले भूकम्प प्रभावित क्षेत्रमा उद्धारका कार्यमा खर्च हुने हवाई इन्धन खर्च व्यहोर्ने निर्णय गरेको छ भने यती ब्रुअरीले २५ लाख दिने घोषणा गरेको छ । यसैगरी ट्रिप इन्न समूहले २० लाख, कैलाश हेलिकोप्टरले १० लाख र चौधरी समूहले अत्यावश्यक सामग्री सहयोग गर्ने घोषणा गरेका छन् । हालै नयाँ निर्वाचन गरेको गैरआवासीय नेपाली संघ एनआरएनएले एक करोड १० लाख र आरके शर्मा नेतृत्वको एनआरएनएले समेत २१ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*