रास्वपाका सभापति रवि लामिछानेसहितका केन्द्रीय नेता जाजरकोटमा, भूकम्प पीडितको उद्धार र राहतमा व्यस्त

१९ कार्तिक २०८०, आईतवार १७:०१

काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको देश दौडाहा कार्यक्रमलाई थाती राखेर सम्पूर्ण गतिविधि भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केन्द्रीत गरेको छ । रास्वपाले देश दौडाका क्रममा पाल्पा, गुल्मी र अर्घाखाँचीको कार्यक्रम तय गरिसकेको थियो ।

पाल्पाको जिल्ला सभाका दौरान जाजरकोटको बारेकोट गाउँपालिका आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेपछि रास्वपा सम्पूर्ण कार्यक्रम थाती राखेर भूकम्पपीडितको उद्धार, उपचार र राहतमा केन्द्रीत भएको हो ।

पार्टी सभापति रवि लामिछाने र महामन्त्री एवं पार्टी प्रवक्ता डा. मुकुल ढकाल स्वयं जाजरकोट मै युद्धस्तरमा खटिएका छन् । पार्टी सभापति लामिछाने र महामन्त्री ढकालमात्र नभई सांसद एवं पूर्व राज्यमन्त्री डा. तोसिमा कार्की न्यूरोलोजिष्टहरुको टोली र औषधिसहित जाजरकोट पुगेकी छन् ।

आइतबार मात्रै पार्टी सभापति लामिछानेले तीन सयभन्दा बढी परिवारलाई पुग्ने राहत जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरिएको जानकारी दिएका छन् । त्यो राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत वितरण गरिने जानकारी समेत पार्टी सभापति लामिछानेले दिएका छन् ।

लामिछाने आफैं उद्धार कार्यमा खटिएका छन् भने सबैतिरका यथार्थ जानकारी लिनका लागि उनले स्थानीय रेडियोको सहायता समेत लिएका छन् । उनी आफैं रेडियो प्रसारणमा जोडिएर उद्धार तथा राहतको विवरण लिइरहेका छन् ।
उता, डा. कार्कीले आपतकालीन व्यवस्थापनपछिको जोखिमलाई मध्यनजर गर्दै शुद्ध पीउने पानी, पीयुस, वाटर गार्ड, स्यानीटरीका सामान लगायतका सामग्री सहयोग गर्न आग्रह गरेकी छन् ।

उनले अस्थायी शौचालय निर्माणलाई तीब्रता दिनुपर्ने र फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक रहेको समेत बताएकी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*