राजस्व चुहावट गरी भ्रष्टाचार, तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
आरोपीहरुले मालपोत कार्यालय पर्साबाट आर्थिक वर्ष २०७१।०७२ मा जग्गा किनबेचको क्रममा एकै रजिष्ट्रेशन नम्बर राखेर लिखतहरु पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामीना गरेको अख्तियारले दाबी गरेको छ ।
उक्त भ्रष्टाचारजन्य कार्यमा बद्नियत देखिएको भन्दै अख्तियारले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रलाई राजस्व रकम चुहावट गरे बराबरको (२ करोड ९ लाख ३१ हजार ६३७ रुपैयाँ) विगो कायम गरि मुद्दा दायर गरेको छ ।
त्यस्तै, सोही कसुरमा अख्तियारले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत भूप बहादुर बोगटीलाई १ करोड ४९ लाख ६९ हजार १४५, गोपाल बहादुर ढुंगानालाई ३५ लाख ४५ हजार ९५०, पदम प्रसाद अर्याललाई १६ लाख ८१ हजार ६००, चन्द्र बहादुर भण्डारीलाई २ लाख ४४ हजार ४६२, तत्कालीन कम्प्यूटर अधिकृत कमोद तिवारीलाई १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ विगो कायम गरेको छ ।
त्यस्तै, अख्तियारले मालपोत कार्यालय पर्साका तत्कालीन नायव सुब्बा किरण प्रसाद उपाध्यायले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ भ्रष्टाचार गरेको दावी गरेको छ ।
तर उपाध्यायसहित उनको श्रीमतीकोसमेत मृत्यु भइसकेकाले उनका चार जना छोराहरुबाट उपाध्यायले गरेको भ्रष्टाचार बराबरको रकम असुलउपर गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवि प्रसाद थपलियाले जानकारी दिएका छन् ।