सडक ठेक्कामा चरम बदमासी, स्पष्टीकरण नदिई भागे २२ ठेकेदार कम्पनी

२२ कार्तिक २०८०, बुधबार १०:५१

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नु नपर्ने कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण दिन भन्दै अल्टिमेटम दिएको छ । यसअघि सम्बन्धित निकायबाट कालो सूचीमा राख्न भनी सिफारिसमा परेका २२ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्नु नपर्ने प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नु भनी पत्राचार गरेकामा अटेर गरेकाले सात दिने अल्टिमेटम दिएको खरिद अनुगमन कार्यालयले जनाएको छ । स्पष्टीकरण सोधेदेखि ती ठेकेदार कम्पनी सम्पर्कमा छैनन् ।

त्यसरी कालोसूचीमा सिफारिस भएकामध्ये अधिकांश सडक ठेकेदारहरु छन् । त्यसरी कालोसूचीमा सिफारिस हुनेहरु अधिकांश स्थानीय तहको योजनामा हातहालेकाहरु र डिभिजन सडकको काम जिम्मा लिएकाहरु बढी छन् । कालोसूचीमा सिफारिस हुने दूरसञ्चारसँग सम्बन्धित ठेकेदार कम्पनी समेत छ । सडक ठेकेदारहरुले बैंकहरुलाई समेत टाट पल्टाउने गरी ओभर ड्राफ्टको पैसा झिकेर अन्यत्र लगानी गर्ने गरेको खुल्न आएको छ ।

केही समय पहिले तराईमा कालोपत्रेको काम गर्दै आएको ठेकेदार कम्पनीले विटुमिन अर्थात् अलकत्रा किन्ने रकम समेत नराखेर जापानमा बौद्ध स्तुप बनाउने ठेक्का पाउने लोभले एक बौद्ध भीक्षुको ट्रष्टलाई करोडौँ रुपैयाँ अग्रीम दिएर टाट पल्टिएको थियो । जुन मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*