नेपालमा लगानी गर्न क्यासीलाई प्रधानमन्त्रीको आग्रह

२२ कार्तिक २०८०, बुधबार १२:१४

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहालले एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मंगलवार उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीसँग भएको छलफलमा प्रधानमन्त्री दाहालले परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

भेटवार्तामा नेपालको आर्थिक विकासमा एशिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवं विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको छ । प्रधानमन्त्री दाहालले नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि भएकाले यसमा सहयोग गर्न क्यासीका पदाधिकारीहरूलाई अनुरोध गरे ।

नेपालले राष्ट्रिय एवं अन्तरराष्ट्रिय लगानी आह्वान गरिरहेको र नेपालमा लगानीका लागि उपयुक्त समय पनि भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । लगानी प्रवर्द्धनका लागि नेपाल सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास उनले व्यक्त गरे ।

भेटमा महासंघका अध्यक्ष ढकालले ३७औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको बताए । नेपालमा दिगो र ठूला लगानी भित्त्याउन समेत उक्त सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजीक्षेत्रले गरेको उनको भनाइ थियो । एशिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्त्याउन क्यासीमार्फत महासंघले पहल गर्ने उनले स्पष्ट पारे ।

यसैगरी क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुु¥याउन क्यासी तयार रहेको बताए । नेपाल छोटो अवधिमा पनि उत्कृष्ट कार्यक्रम आयोजना गर्न सफल भएको उनको भनाइ थियो । विश्व आर्थिक मञ्चमा ठूलो हिस्सा ओगट्ने एशिया प्रशान्त क्षेत्र नेपालको विकास अभियानमा बलियो सहयोगी हुने विश्वास उनले दिलाए । महासंघको आयोजनामा कात्तिक २० गतेदेखि काठमाडौंमा क्यासीको ३७औं सम्मेलन आयोजना भइरहेको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार उद्घाटन गरेका थिए ।

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य तथा कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा तथा वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर, चुनौती लगायत विषयमा छलफल भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*