इन्धनमा लगाइएको पूर्वाधार शुल्कबाट प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकीलाई

२३ कार्तिक २०८०, बिहीबार १६:१०

काठमाडौं । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कबाट प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले लामो समयदेखि भन्सार विन्दु मै इन्धनमा पूर्वाधार कर जोड्दै आएको छ ।

मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने निर्णयसमेत गरेको छ । बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमाअघि बढाउने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न समेत मन्त्रिपरिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् विधेयक समितिबाटै पेश भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*