बिक्री बढेको देखाएको शिवम् साढे ५ करोड नोक्सानीमा

२४ कार्तिक २०८०, शुक्रबार १०:१०

काठमाडौं । बिक्री आम्दानी बढेको देखाएको शिवम् सिमेन्ट नोक्सानीमा गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार शिवम् सिमेन्ट्स लिमिटेड नोक्सानीमा रहेको देखिएको हो । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गएको आर्थिक वर्ष यसै अवधिमा शिवमले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी बढेको देखाइए पनि अन्य आम्दानी घट्न पुगेको र खर्च बढ्न गएका कारण खुद नाफा ऋणात्मक हुन पुगेको बताइएको छ । पहिलो त्रैमासमा कम्पनीको बिक्री आम्दानी ६.०६ प्रतिशत बढेको देखिन्छ । गएको आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले, यो आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ९३.२२ प्रतिशत घटेको छ भने कुल आम्दानी १०.७७ प्रतिशत घटेको छ। यस्तै, शिवमको कुल खर्च ७.९३ प्रतिशत बढेको छ। जसका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ भने किताबी मूल्य अर्थात् प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*