यो पल्ट दुर्लभ धनतेरश, लक्ष्मीको प्रियबार परेकाले सुन वा चाँदी किन्नु लाभदायक

२४ कार्तिक २०८०, शुक्रबार १४:०७

काठमाडौं । आजबाट हिन्दुहरुको दोस्रो ठूलो चाड दिपावली अर्थात् यमपञ्चक शुरु भएको छ। यमपञ्चकका पाँच दिनमध्ये हरेक दिनको आ-आफ्नै धार्मिक एवं पौराणिक मान्यता छन् । पहिलोदिन धन त्रयोदशी अर्थात् धनतेरश पर्दछ । यो पल्ट दुर्लभ धनतेरश परेको छ । कयौं वर्षको प्रतिक्षापछि यो पल्ट लक्ष्मीको प्रियबार शुक्रबारका दिन धनत्रयोदशी परेको छ ।

दिपावलीको किनमेलको लागि धनत्रयोदशीका दिन निक्कै उत्तम मानिन्छ। यसदिन खरिद गरेका सामग्री राखेर लक्ष्मी पूजा गरेमा धनधान्यकी देवी लक्ष्मी खुसी भई धनको वर्षा गराउने जनश्रुति छ । कतिपयले पवित्र भई शुद्ध चित्तले धन्तेरशको व्रत समेत लिने गर्दछन् । यसदिन पवित्र मन एवं शुद्ध चित्तले पूजा अर्चना गर्नेहरुबाट लक्ष्मी प्रसन्न हुने मान्यता छ ।

धन्तेरशको दिन कमलको पुष्पासनमा बसेकी लक्ष्मी र गणेशको मूर्ति, तस्बिर घर भित्र्याउनु फलदायी मानिन्छ । त्यस्तो धातुजन्य वस्तु खरिद गर्न नसक्नेहरुले गच्छ अनुसार माटोको मूर्ति वा तस्बिर मात्रै पनि किन्न सकिन्छ । त्यसरी मूर्ति लिंदा ध्यान दिनुपर्ने कुरा चाँहि लक्ष्मी माता कमलको पुष्पासनमा बसेको हुनुपर्दछ, उभिएको भने हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ, भन्ने मान्यता छ ।

धन्तेरशको अवसरमा भाँडाकुँडा किन्दा स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुने बताइन्छ । धनतेरशको दिन किनेको सामान घरको पूर्वउत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन । त्यो आफ्नो लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी प्रसन्न भई तपाईंको घरमा विराजमान हुनुहुनेछ ।

धन्तेरशको दिन कौडा, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडा कमलगट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी नहुने विश्वास गरिन्छ । यो दिनबाट लक्ष्मी उत्सव शुरु हुने भएको हुनाले शुक्रबार पनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्वपूर्ण मानिन्छ।

नेपालको सुन चाँदी लगायतका धातुमा मिसावट अत्यधिक हुने भएकाले ग्राहक ठगिंदै आएका छन् । चाँदीका सिक्का, गहना र भाँडाकुँडामा अधिक मिसावट हुने गरेको छ । मूल्यवान धातु खरिद गर्दा ठगिनबाट जोगिन नेपाल राष्ट्र बैंक बाहेक अन्यत्रबाट सुनचाँदीको सिक्का खरिद गर्नु जोखिमपूर्ण मानिन्छ ।

नेपाल राष्ट्र बैंकले गएको आइतबारदेखि २४ गते अर्थात् धनत्रयोदशीको दिनसम्म प्रतिव्यक्ति एक सेट सुनका असर्फी र चाँदीका सिक्का बिक्रि गरेको छ । मिसावटयुक्त चाँदीको सिक्कामा पैसा खेर फाल्नुभन्दा नगदै रकम जम्मा गर्नु वा घरायसी प्रयोजनका उपकरण वा भाँडाकुँडा खरिद गर्नु बुद्धिमानी हुनसक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*