कुलमानको सफलता : लक्ष्मीपूजामा आफ्नै देशको विजुली, १ सेकेण्ड पनि निभेन बत्ति, ५१७ मेगावाट भारतलाई बेचियो

२७ कार्तिक २०८०, सोमबार १३:३८

काठमाडौं । लक्ष्मीपूजाको दिन गत वर्ष भन्दा यो वर्ष देशभर विद्युतको माग १३३ मेगावाटले बढेको छ । यो पल्ट लक्ष्मी पूजामा देशभरको पिक डिमान्ड अर्थात् उच्च विद्युत माग १४३८ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ नेपाल विद्युत प्राधिकरणले साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको हो ।

गएको वर्ष ७ कार्तिकमा परेको लक्ष्मीपूजाका दिन विद्युत् पिक डिमान्ड १३०५ मेगावाट रेकर्ड गरिएको थियो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको माग औद्योगिक ग्राहक बाहेकको भन्ने गरिन्छ । यो वर्ष प्राधिकरणले १३५७ मेगावाट पुग्ने अनुमान गरेको थियो ।

लक्ष्मीपूजाका दिन देशभित्रैका विद्युत् गृहबाट उत्पादन गरी आपूर्ति गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् भारतलाई बेचिएको बताइन्छ । गएको वर्ष लक्ष्मीपूजा गर्दा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो ।

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १९५५ मेगावाट रेकर्ड गरिएको बताइन्छ । गएको वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो । यो वर्ष लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकाको पिक डिमान्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाका दिन विद्युतको माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुम पुगेका थिए ।

घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिन माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताएका छन् । उनले पोहोर भन्दा यो वर्ष लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको बताए ।

जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो । प्राधिकरणकोण् स्वामित्वका अन्य पावर हाउसहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका पावर हाउसबाट ५२२ मेगावाट, निजी क्षेत्रका पावर हाउसबाट ९९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरेको थियो ।

प्राधिकरण विगत झैं यो वर्ष पनि लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न सफल भएको छ । २०७३ को लक्ष्मीपूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*