टिकटक बन्द हुँदा ब्याण्डविथ बापत बार्षिक तीन अर्ब रुपैयाँ बचत हुने, ‘आईवे’मा ३० प्रतिशत लोडभार कम

२७ कार्तिक २०८०, सोमबार १८:०३

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सम्बन्धमा सरकारले गरेको निर्णयमाथि मिश्रित प्रतिक्रिया आइरहेको छ । सरकारले गरेको सो निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको विरोध गरिरहेका छन् भने विकृत्तिको भाँडो टिकटक बन्द गरेकोमा सरकारलाई धन्यवाद दिनेहरु पनि उत्तिकै रहेका छन् ।

प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार टिकटक बन्द हुँदा नेपालको अप्टिकल फाइबर लगाएतका सूचना प्राविधि प्रशारण लाइन (आईवे) मा करिब ३० प्रतिशत लोडभार कम हुने भएको छ । नेपालको कूल खपत ब्याण्डविथ मध्ये सबैभन्दा धेरै हिस्सा अर्थात ३० प्रतिशत टिकटकको रहेको छ । टिकटक बन्द हुने भएपछि सो ब्याण्डविथ बचत हुने भएको हो ।

टिकटक बन्द हुँदा नेपालको इन्टरनेट प्रणालीमा राहत महसुस हुनेछ भने अन्तर्राष्ट्रिय ब्याण्डविथ बापत झण्डै तीन अर्ब रुपैयाँ बचत हुनेछ । हाल नेपालले मासिक ६० देखि ६५ लाख डलरसम्मको इन्टरनेट ब्याण्डविथ आयात गर्दै आएको छ । यस वर्ष नेपाल टेलिकमले गत वर्षको तुलनामा सस्तोमा टाटासँग इन्टरनेटको ब्याण्डविथ किनेकोले यो रकम सस्तिएको कारण यति कम भएको हो ।

टिकटकले नेपालको कूल ब्याण्डविथको करिब ३० प्रतिशत ब्याण्डविथ खपत गर्दै आएको नेपाल दुर सञ्चार प्राधिकरणले जनाउँदै आएको छ । अब सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै इन्टरनेटको ब्याण्डविथको खपत पनि कम हुन जानेछ । इन्टरनेटको ब्याण्डविथ खपत न्यून भएसँगै अब सो बापत मासिक करिब २५ करोड रुपैयाँ जोगिने छ । हाल मासिक ८० देखि ९० करोड रुपैयाँ इन्टरनेट ब्याण्डविथको लागि खर्च हुँदै आएको छ । अब सो रकमको करिब ३० प्रतिशतले जोगिँदा बार्षिक तीन अर्ब भन्दा बढि बचत हुनसक्ने नेपाल दुर सञ्चार प्राधिकरणले जनाएको छ ।

टिकटक बन्द हुँदा घण्टौ मोबाइलमा अल्झिने महिला तथा युवा युवतीहरु सिर्जनात्मक काममा व्यस्त हुने हुँदा यसले देशको उत्पादकत्व समेत बृद्धि हुनसक्ने अर्थविदहरुको भनाई छ । यद्यपि केही व्यक्तिहरुले टिकटकबाट बार्षिक लाखौं रुपैयाँ कमाएको र सो रकम रोकिने विषय पनि सामाजिक सञ्जालमा चर्चामा रहेको छ । टिकटकले नेपालबाट बार्षिक करोडौं रुपैयाँ विज्ञापन बापत लैजाने गरेको छ । सो समेत हिसाब गर्दा बार्षिक अर्बौ रुपैयाँ विदेश जान रोकिने छ । टिकटक नेपालको सबैभन्दा बढि हेरिने संक्षिप्त भिडियो स्टीमिङ् प्लेटफर्म हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*