भाइटीकामा दिदी बहिनीलाई बीमापोलिसी उपहार दिएर सम्बन्ध आत्मिय बनाउने कि ?

२८ कार्तिक २०८०, मंगलवार ०९:२६

काठमाडौं । यस वर्षको तिहार मध्य अवस्थामा छ । यही कार्तिक २९ गते बुधबार यस वर्षको तिहारको मुख्य दिन भाइटीका मनाइदैछ । भाइटीकाको यही मुख्य दिनमा आफ्ना दिदी बहिनीहरुले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै तेल दुबोले छेकेर स्वास्थ्य लाभको कामना गरेर टीका लगाइसकेपछि दाजु भाइहरुले पनि आफ्नो क्षमता अनुसार दक्षिणा दिने चलन छ । यो दिनमा विशेष त दिदीभाइ तथा दाजु बहिनिले एक आपसमा विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मनपर्ने कुरा ख्वाई मनाउने गर्दछन् । दाजु भाईहरुले दिदीबहिनीलाई दान, दक्षिणा एवं विभिन्न खालका उपहार दिने परम्परा पनि रहेको छ । चेलीबेटीहरुका लागि भाइटीका पर्व निकै महत्वपूर्ण हुने गर्दछ । झन् विवाह गरेर गएकी चेलीबेटीहरुका लागि माईतीसँग निरन्तर सम्बन्धको आयाम पनि हो । यति विशिष्ट र महत्पूर्ण पर्वमा दाजुभाइहरुका लागि आफ्ना आत्मिय दिदी बहिनीहरुसँगको सम्बन्धमा जीवन बीमा पोलिसी उपहार दिएर जीवनभरको सम्बन्धमा थप प्रगाढ बनाउन सकिन्छ ।

हामीले प्रत्येक बर्ष आफनो तिहारमा भाईटिकामा टिका लगाएर विभिन्न उपहारहरु दिइरहेका नै हुन्छौ । थोरै हुनेले दक्षिणा, लत्ता कपडा, गरगहना, मोबाईल इत्यादि । तर उपहार दिदाँ केही समय वा केही को लागि मात्र उक्त वस्तु उपयोग गर्न पाउने वस्तु हामी उपहार मार्फत दिईरहेको हुन्छौ । हामी यस समयमा बढी खर्च गरिरहेको हुन्छौ । तर, अब यो शैली बदलेर वर्षको भरिमा एक पटक चेलीबेटीलाई उपहार दिँदा नियमित बीमा शुल्क तिरिदिने गरी आफ्नो गच्छे अनुसारको बीमा पोलिसी किन नदिने ?

आफ्ना चेलीबेटीहरुका लागि साँचो माया गर्ने र आत्मिय सम्बन्धसँगै आर्थिक रुपमा आफ्ना दिदीबहिनीहरुलाई समेत आर्थिक रुपमा थप जोखिमरहित बनाउन र भविष्यमा भान्जाभान्जीको भविष्यको लागि समेत तिहारको बीमा पोलिसी निकै महत्वपूर्ण हुने गर्दछ । बीमा पोलिसी उपहार दिँदा सक्नेले ठूलो जीवन बीमा पोलिसी दिने र त्यो पनि नसक्ने र कम आय भएका सर्वसाधारणले लघुजीवन बीमा पोलिसी समेत उपहार दिन सक्नेछन् ।
आजभोलि जीवन बीमा सामान्य मोबाइल खरिद गरेकै रकममा गर्न सकिने भइसकेको छ । आफ्ना दिदी बहिनीलाई बार्षिक रुपमा दिइने दक्षिणामा केही रकम थप गरेर वा सोही सीमाभित्रै पनि बीमा गराएर दिदीबहिनीको आर्थिक सुरक्षामा दाजुभाइहरुले अमूल्य योगदान गर्न सकिन्छ ।

जीवन बीमा कसरी गर्ने ?
नेपालमा १४ जीवन बीमा कम्पनीहरु र दुई लघु जीवन बीमा कम्पनीहरु सञ्चालनम रहेका छन् । बीमा कम्पनीहरुका विभिन्न जिल्लाहरुमा शाखा कार्यालय संचालन गर्दै बीमितहरुलाई सुविधा प्रदान गर्दै आइरहेका छन् । जीवन बीमा अभिकर्तामार्फत तपाईहरुले आफ्नी दिदी वा बहिनीको बीमा प्रस्ताव गर्न सक्नुहुनेछ । त्यसको लागि सबैभन्दा पहिले आफ्नो आम्दानीको हिसाब किताब राम्रोसँग पक्कै गर्नुपर्नेछ ।
आफूलाई पायक पर्ने बीमा अभिकर्तामार्फत बीमा गराउँदा अझ तपाईलाई तपाईको आर्थिक क्षमताबारेमा थप जानकारी भई फाइदा पुग्ने हुन्छ । त्यसैले विश्वासिला बीमा अभिकर्तामार्फत बीमा गराउनुपर्दछ । बीमा कम्पनीहरुमा बीमा अभिकर्ता रहेका हुन्छन् । त्यस्तै साना साना बीमा पोलिसी खरिदका लागि भर्खरै स्थापना भएका लघुबीमा कम्पनीहरु क्रेष्ट माइक्रो लाइफ र गार्जियन माइक्रो लाइफको वेभसाईटमा गएर पनि सम्पर्क गरी बीमा पोलिसी खरिद गर्न सकिने छ ।

बीमा गर्न कति रुपैयाँ तिनुपर्छ त ?

कति रुपैयाँको बीमा गर्ने भन्ने स्वयं बीमितले आफ्नो आम्दानी अनुसार निर्णय लिनुपर्छ । बीमा रकम वार्षिक, अर्धवार्षिक वा तीनतीन महिनामा पैसा तिर्न सकिन्छ । सानो बिमाङ्कको बीमा गर्दा सानै रकम तिर्नुपर्छ भने ठुलो आकारको बीमा गर्दा ठुलै रकम तिर्नु पर्छ । त्यसैले तपाईको आम्दानी कति हुन्छ त्यसै अनुसार बीमा गर्न सक्नुहुन्छ । न्यूनतम् ५० हजार बीमाङ्कको सो भन्दा माथि जति पनि रकमको बीमा गराउन सकिन्छ ।
सामान्यतया पाँच देखी ५४ वर्ष अवधि सम्मको बीमा गर्न सकिन्छ । यदि तपाईंको उमेर ३० वर्ष छ र १० वर्ष अवधिको एक लाखको बीमाका लागि बार्षिक १० हजार रुपैयाँ जति बीमा शुल्क भुक्तानी गर्नुपर्दछ ।

कति रुपैयाँ फिर्ता आउँछ ?
बीमा भनेको जोखिम घटाउनु हो । त्यसैले भविष्यमा त्यस्तो कुनै भवितब्य आयो भने कम्पनीले तपाईको परिवारलाई बीमाङ्क बराबरको सबै रकममा सो अवधीमा कम्पनीले आर्जन गरेको बोनस रकम थप गरेर फिर्ता दिन्छ । जस्तो पाँच लाख बीमाङ्कको बीमा गर्नु भएको छ भने बीमाङ्क रकम अर्थात पाँच लाख र कम्पनीको नियम अनुसार दिने बोनस रकम थप भई परिपक्व भएपछि भुक्तानी हुनेछ । यस्तो रकम डेढदेखि दोब्बर सम्म पुग्दछ । अहिले नै यति नै हुन्छ भनेर भन्न सकिदैन, बीमा कम्पनी र आफूले लिएको बीमा प्रोडक्ट अनुसार फरक फरक हुनसक्नेछ ।

 

नेपाल बीमा प्राधिकरणको वेभसाईटमार्फत पनि बीमा कम्पनीहरु छनौट गरी जीवन बीमा, लघु जीवन बीमा तथा अन्य बीमा सेवा लिन सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*