शंखधरबाटै प्रेरित भएर ०६५ सालमा सारा किसानको ऋण मिनाहा गरेको थिएँ : प्रचण्ड

२८ कार्तिक २०८०, मंगलवार १४:१३

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालको मौलिक संवत नेपाल संवतका प्रर्वतक शंखधर साख्वाःबाट प्रेरित भएरै आफुले सामाजिक न्यायका निम्ति दूरदर्शी निर्णयहरु गरेको बताएका छन् । नेपाल संवत ११४४ को अवसरमार भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा आयोजित कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले त्यो बेला गरिबहरुलाई ऋणमुक्त गर्ने शंखधरको दूरदर्शीताबाटै प्रेरित भएर आफुले सरकारको नेतृत्वमा रहँदा शंखधरको योगदानभित्र रहेको सामाजिक न्यायसँग अर्न्तनीहित निर्णयहरु गरेको बताएका हुन् ।

सोमबार मन्त्रिपरिषदले सरकारी कामकाज तथा दस्तावेजमा नेपाल संवत अनिवार्य उल्लेख गर्ने निर्णय गरेको प्रसंगतर्फ लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदाका बखत शंखधरलाई राष्ट्रिय विभूति घोषित गरेर सम्मान गरेको, नेपाल संवत केवल नेवाः समुदायको मात्रै संवत नभई सिंगो नेपालको मौलिक संवत भएको सन्देश दिएको र ३० हजारसम्म ऋण लिने देशभरका गरिब किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको उल्लेख गरे । राष्ट्रिय विभूति शंखधर साख्वाःले आफुसँग भएको सुन, चाँदी तथा श्रीसम्पत्ती राजालाई सुम्पिएर गरिबहरुलाई ऋण मुक्त गराएको ऐतिहासिक तथ्य अहिले पनि जीवित छ ।

प्रधानमन्त्री प्रचण्ड भन्दा पहिलो बोल्ने वक्ताहरु कांग्रेस नेता भीष्मराज आङदम्बे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सभापति रवि लामिछाने र संस्कृति पर्यटनमन्त्री सुदन किँरातीलगायतले राणा शासकहरुले हरण गरेको नेपाल संवतलाई देशव्यापी गर्ने निर्णय गरेर सरकारले महत्वपूर्ण काम गरेको बताए ।

रास्वपा सभापति लामिछानेले मिटरव्याजी, सहकारी र लघुवित्तहरुको चरम ठगिका अगाडि शंखधरले गरिबहरुलाई ऋणमुक्त गरेको कदम आफ्नो लागि महत्वपूर्ण भएको प्रसंग उप्काएका थिए । त्यसैप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘ २०६५ सालमा, नेपालका ३० हजारसम्म ऋण लिएका सम्पूर्ण गरिब किसानहरुको ऋण मुक्त गर्ने निर्णय पनि त्यही विन्दुमा पुगेर गरेको थिएँ । जसरी अहिले मिटरव्याज पीडितहरुको न्यायका लागि शक्तिशाली आयोग बनाएर दोषीलाई कारबाही गर्ने कदम, देशबाहिर रहेका लाखौं नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने निर्णय र नेपालकै पनि अनौपचारिक क्षेत्र तथा स्वरोजगार क्षेत्रमा रहेका ४० देखि ५० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय पनि सामाजिक न्यायको प्रक्रिया एवं पहलसँगै सम्बन्धित छ । गहिरिएर विचार गर्दा सामाजिक न्यायको यो प्रक्रिया र पहल शंखधर साख्वाःकै प्रेरणासँग अर्न्तनीहित छ ।’

त्यो (२०६५ साल) बेलाको ३० हजार मिनाहा हुनु भनेको पनि गरिब किसानका लागि ठूलै राहत भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्राप्त उपलब्धिलाई धमिल्याउने काम भइरहेकोप्रति सबै सचेत रहनुपर्ने धारणा राखे । उनले नेपाल संवत अब कुनै एक समुदायको मात्र नभई सिंगो नेपालको मौलिक संवत र सामाजिक न्याय सम्बन्धी संवतको रुपमा स्थापित भएको उल्लेख गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*