सर्बदलीय बैठकमा देउवाले भनेका थिए, ‘टिकटक बन्दै गरौँ, ओलीले जहाँ हस्ताक्षर गर्न पनि तयार’

२८ कार्तिक २०८०, मंगलवार १६:४४

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि क्रिया प्रतिक्रिया आउने क्रम जारी छ । प्रधानमन्त्री प्रचण्डले सत्ता र प्रतिपक्षमा रहेका दलहरुसँगको छलफल तथा सहमतिपछि टिकटक बन्द गर्ने औपचारिक निर्णय गरेको अभिव्यक्ति दिएपछि सत्ताबाहिर रहेको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको भनाइप्रति असहमति जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग एउटै कार्यक्रममा सहमागि भएका रास्वपा केन्द्रीय सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सम्बन्धमा आफ्नो पार्टीका कुनै पनि पदाधिकारी वा नेतासँग कुरा नभएको प्रतिक्रिया दिए । नेपाल संवत ११४४ को अवसरमा भक्तपुरको मध्यपुर थिमिमा आयोजित कार्यक्रमबाट प्रधानमन्त्री प्रचण्डसँगै निस्किएका लामिछानेले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो ।

टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफलपछि निर्णयमा पुगेको बताउनु भयो । म लगायत रास्वपा का कुनै नेतासँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन । छदै छैन । प्रधानमन्त्री ज्युले यो गलत अभिव्यक्ति सच्याउनु हुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

लामिछानेले आपत्ति जनाउँदै गर्दा केही दिनअघि बसेको सर्वदलीय बैठकमा टिकटक बन्द गर्ने सन्दर्भमा शीर्ष नेताहरुबीच सहमति भएको खुल्न आएको छ । बैठकमा रास्वपा सहभागि भए नभएकोबारे जानकारी आइनसकेको भए पनि सर्बदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले टिकटकका प्रतिनिधिहरुसँग भएको छलफलबारे ब्रिफ गराएको र त्यो सुनेर शीर्ष नेताहरु बन्द गर्ने सहमतिमा पुगेको खुल्न आएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले टिकटकका प्रतिनिधिले प्रयोगकर्ताहरुलाई नियमन गर्न आफुहरु असमर्थ रहेको जनाएकाले कुन विकल्पमा जाने भनी प्रस्ताव राखेका थिए । उक्त कुरा सुनेर सत्तारुढ दल कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोझै प्रतिबन्ध गरिदिए हुन्छ भनेर सुझाव दिए भने प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नियन्त्रण गर्नै नसकिने अवस्था हो भने म जुनसुकै निर्णयमा पनि हस्ताक्षर गर्न तयार छुँ, भनी बचन दिएका थिए ।

टिकटक बन्द गर्ने सम्बन्धमा शीर्ष नेताहरुबीच भएको छलफल र सहमति कै सारमा प्रधानमन्त्रीले अभिव्यक्ति दिएको भन्दै उनको निजी सचिवालयले यसलाई विषयान्तर गर्न जरुरी नभएको प्रतिक्रिया दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*