६ वर्षपछि अमेरिका टेकेका ‘सी’ र बाइडेनबीच भेटवार्ता, ताइवानलाई नउचाल्न चिनियाँ राष्ट्रपतिको सुझाव

३० कार्तिक २०८०, बिहीबार ११:०२

काठमाडौं । कयौं असहमति र विवादबीच ६ वर्षपछि अमेरिका पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । क्यालिफोर्निया आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता भएको हो ।

दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध सुधार्न सी र बाइडेनबीचको भेटवार्ता सहयोगी बन्ने अपेक्षा गरिएको छ । भेटवार्तापछि करिब २० मिनेट लामो पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका र चीनबीच सैन्य सम्पर्क फेरि स्थापित हुने धारणा राखेको बीबीसीले उल्लेख गरेको छ । त्यस क्रममा चिनियाँ राष्ट्रपति सीले भने दुवै देशले संयुक्त रुपमा सही धारणा विकसित गर्नुपर्ने बताएका थिए ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले अमेरिकासँग द्विपक्षीय सम्बन्ध सुमधुर बनाउनका लागि अधिक सञ्चार, अधिक सम्वाद र अधिक परामर्शमा जोड दिइने बताए । अमेरिकासँग सधैं स्थिर, स्वस्थ र टिकाउ सम्बन्ध राख्न चीन प्रतिवद्ध रहेको बताउँदै सीले एक अर्कालाई सम्मान गर्दै शान्ति र सहअस्तित्वको सम्बन्धमा अघि बढ्नु पर्नेमा जोड दिएका बताइएको छ ।

अमेरिका र चीनबीच अविश्वासको खाडल हुन नहुने भन्दै सीले भनेका छन्, ‘अमेरिका र चीनलाई अलग्याउने असहमतिको खाडल हुनुहुँदैन । यसको सट्टा दुवै पक्षलाई जोड्ने पुल बनाउने तरिका खोज्नु आवश्यक छ ।’ विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच दक्षिण चीन सागरमा सैन्य गतिविधि, इजरायल-हमास युद्ध, रुस-युक्रेन युद्ध, ताइवान मामिला लगायतका कयौं विषयमा गहिरो मतभेद छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले ताइवानमा शान्ति र स्थायित्व हुनुपर्ने बताएपछि चिनियाँ राष्ट्रपति सीले चीनको हित विपरीत हुने कुनै पनि गतिविधि सहन नसक्ने चेतावनी दिए । अमेरिकाले ताइवानप्रति लिइरहेको नीतिप्रति लक्षित गर्दै उनले ‘रेड लाइन’ पार नगर्न सुझाए ।

सीले अमेरिका र चीनको सम्बन्धमा ताइवान प्रमुख प्रश्न भएको भन्दै अमेरिकाले ताइवान लक्षित दिएका अभिव्यक्तिलाई चीनले गम्भीर रुपमा लिएको समेत बताए । उनले बाइडेनलाई स्वतन्त्र ताइवानको पक्षमा नलाग्न र चीनको शान्तिपूर्ण पुर्नमिलनलाई समर्थन गर्न भनेका छन् ।

व्यापार युद्ध लगायतका कारणले लामो समयदेखि अमेरिका-चीन सम्बन्ध बिग्रिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ५ खर्ब ५० अर्ब डलरभन्दा बढी मूल्यका सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाइदिएका थिए । चीनले पनि त्यस्तै शैलीमा अमेरिकी सामग्रीमा अतिरिक्त भन्सार शुल्क लगाएर जवाफ फर्काएको थियो ।

पछिल्लो समय चीनको एक बेलुनलाई अमेरिकाले जासुसी बेलुन भन्दै समुद्रमा खसालिदिएपछि र अमेरिकी प्रतिनिधि सभाको तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिएको थियो । यसबाट रुष्ट चीनले अमेरिकासँगको सैन्य सम्पर्क नै बन्द गरेको थियो । अहिले अमेरिकी राष्ट्रपतिले त्यही विन्दुबाट चीनसँगको सम्बन्ध सुधार्ने प्रस्ताव राखेका छन् ।

सन फ्रान्सिस्कोको भेटवार्तापछि अमेरिकी राष्ट्रपति बाइडेनले सार्वजनिक रुपमै चीनसँग सैन्य सम्पर्क पुनः बहाल हुने र चिनियाँ राष्ट्रपति सीसँगको सम्वाद पनि जारी रहने बताए । भेटका क्रममा कूटनीति, अर्थतन्त्र, कृषिमामात्रै नभएर काउन्टरनारकोटिक्स, न्यायिक, एआई, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्यबारे कुरा भएको बताइएको छ । दुई देशबीच सीधा हवाइ उडानको संख्या बढाउने, पर्यटन, शैक्षिक क्षेत्रमा सहकार्य बढाउनेबारे पनि दुई नेताबीच कुरा भएको छ ।

चीन र अमेरिका मिलेर अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा समन्वय र सहयोगलाई अगाडि बढाउनुपर्नेबारे छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । विश्वमा देखिएका समस्याहरुलाई समाधान गर्न पनि चीन-अमेसरकाले नै संयुक्त नेतृत्व लिनुपर्नेमा पनि चर्चा भएको बताइएको छ । -एजेन्सीको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*