नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको सुनुवाई अनिर्णित, टेकनाथ रिजाल धरौटीमा रिहा, टोपबहादुर फेरि थुनामै

१५ मंसिर २०८०, शुक्रबार १६:१७

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणबारेको सुनुवाई अर्णित भएको छ । सत्तारुढ कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा न्यायाधीशहरूबीच मत बाझिएको र यसबारे अर्को इजलासले निर्णय गर्ने उच्च अदालत पाटनका उपरजिष्ट्रार तथा प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

पूर्वमन्त्री टेकनाथ रिजाललाई भने उच्चले धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता भट्टराईले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमै थुनामा रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको छ । पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाललाई पनि थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको हो ।

यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई पनि १० लाख रुपैयाँ, एमाले नेता टोपबहादुरका छोरा सन्दिपसँग ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*