सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको प्रधानमन्त्रीको दाबी

१५ मंसिर २०८०, शुक्रबार १७:४०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको दाबी गरेका छन् ।

सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफ लेख्दै प्रधानमन्त्री प्रचण्डले टिकटकका कारण नेपाली समाजमा प्रविधिगत प्रदूषण ९डिजिटल पोलुसन० बढ्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको दाबी गरेका हुन् ।

लिखित जवाफमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘टिकटकको सकारात्मकका साथै नकारात्मक प्रयोग पनि भइरहेको देखिएकाले यो सामाजिक रोग तथा महामारीका रुपमा फैलिंदै गई प्रविधिगत प्रदूषण बढ्दै गएको हुँदा यसका समग्र नकारात्मक पक्षबाट समाज तथा समग्र राष्ट्रलाई नै सुरक्षित गरी बहुसंख्यक नागरिकको हित संरक्षण गर्ने अभिप्रायले यसको प्रयोगमा रोक लगाउने गरी निर्णय भएको हो ।’

टिकटकबाट नेपाली समाजमा सद्भाव विथोलेको, घृणा फैलाएको, सामाजिक सहिष्णुतामा आँच आउने अभिव्यक्तिहरु आएको, अश्लील सामग्री शेयर गरेर फैलाउने क्रम बढेको प्रधानमन्त्रीको दाबी छ । उनले व्यक्तिगत मानमर्दन गर्ने, बदलाको भावनाबाट प्रेरित भएर आवेशपूर्ण अभिव्यक्तिहरु पोष्ट गर्ने लगायत विकृति बढेकाले प्रतिबन्ध लगाउनुपरेको दाबी गरेका छन् ।

लिखित जवाफमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘टिकटकले उल्लेखित विकृतिहरु सिर्जना गरेकाले यसलाई तत्काल नरोके निकट भविष्यमा सामाजिक रुपमा भयावह स्थिति आउन सक्ने हुँदा तत्कालीन र दूरगामी दुवै असरलाई विश्लेषण गरी टिकटकको प्रयोगलाई प्रतिबन्ध लगाउने गरी गरिएको निर्णयलाई अन्यथा भन्न मिल्दैन ।’

तीन पेजको लिखित जवाफमा प्रधानमन्त्री प्रचण्डले समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्दै गतिशील समाज बनाउनु सरकार, न्यायपालिका लगायत सबै निकायको कर्तव्य हुने भन्दै उनले रिट निवेदन खारेज गरिदिन आग्रह गरेका छन् ।

टिकटकको बढ्दो प्रयोगका कारण सामाजिक आचरणहरु स्खलित हुँदै गइरहेको भन्दै प्रधानमन्त्रीले टिकटकको प्रयोगबाट बालबालिकाको शारीरिक, मानसिक र अरु समग्र पक्षको विकासमा नकारात्मक असर परेको दाबी गरेका छन् ।

टिकटक प्रतिबन्धका कारण संविधानप्रदत्त नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित भएको भन्ने दावीमा सत्यता नभएको भन्दै लिखित जवाफमा साम्प्रदायिक सद्भाव खलल, गालीबेइज्जती, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूलको काममा प्रतिबन्ध लगाउन बाधा नहुने भन्दै प्रधानमन्त्री दाहालले यसबारे नजिर समेत रहेको जिकिर गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*