नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि २८ गते सुनुवाई

२० मंसिर २०८०, बुधबार १६:२५

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारावास काटिरहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीशको बेन्चमा २८ गतेका लागि पेशी तोकेको हो । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बालकृष्ण खाणसँग धरौटी माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय बाझिएपछि निर्णयका लागि तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको छ ।

मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीका हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । पूर्व गृहमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने सन्दर्भमा न्यायसेवाबाट उच्च अदालतको न्यायाधीश भएका प्रकाश खरेलले फरक मत राखेपछि निर्णय मुल्तवीमा बसेको थियो ।

६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो । लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्ने आदेश दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*