नेपाली युवालाई गलत रुपमा रुस पठाएर सेनामा भर्ना गराउने गिरोहका १२ जना पक्राउ

२० मंसिर २०८०, बुधबार १७:१३

काठमाडौं । नेपाली युवालाई अवैध रुपमा रुस पठाएर सेनामा भर्ना गराउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको हो । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ नेपाली नागरिक मारिएको पुष्टि गर्दै त्यस्तो गिरोहलाई ठेगान लगाउन भनेपछि प्रहरीले खोजअनुसन्धान अघि बढाएको थियो ।

अहिलेसम्म गिरोहमा संलग्न  द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल पक्राउ परेका छन् । उनीहरु सबैलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले बताए ।

लैनचौर, ठमेल र महाराजगञ्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको उनको भनाई छ । यो गिरोहले रुसी सेनामा भर्ना हुन नेपालीहरुलाई अवैध तरिकाले भिजिट भिसामा रुस पठाउने गरेको पाइएको छ । अहिलेसम्म पक्राउ परेका १२ जनाविरुद्ध कसैले पनि उजुरी भने दिएका छैनन् । रुस पठाउने गिरोहको कार्यालयबाट प्रहरीले नगदसहित विभिन्न कागजात बरामद गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*