देशको अर्थतन्त्र तथ्याङ्कमा मात्रै सुधार भएर हुन्न, जनताको घरदैलोमा सुधारको अनुभूति हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

२१ मंसिर २०८०, बिहीबार १४:०४

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकारले देशको अर्थतन्त्र तथ्याङ्कमा मात्रै सुधार भएर नहुने र जनताले प्रत्यक्ष अनुभूति हुनेगरी सुधार हुनुपर्ने बताएका छन् । रेस्पोन्सेवल विजनेश समिट कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अंक वा तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएपनि व्यवहारतः आम जनतामा आशाको सञ्चार सिर्जना गर्न सक्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र नयाँ घोषणाहरु गर्ने तयारी सरकारले गरिरहेको बताए । सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेतर्फ प्रधानमन्त्री प्रचण्डले जोड दिए ।

यस्तै, सरकार राष्ट्रिय व्यवसायिक पहलका लागि आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको समेत प्रधानमन्त्रीले बताए । उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा आफुले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको जानकारी दिए ।

उनले भने, ‘सरकार यसका लागि आवश्यक कानूनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको छ । तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्दछ ।  मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार ढंगले प्रस्तुत हुन आवश्यक छ ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगका लागि समेत आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*