त्रिभुवन विमानस्थल भन्सार प्रमुख पाण्डेले लिए एक्सन, १४ किलो सुनबारे छानविन गर्न ६ सदस्यीय समिति गठन

२२ मंसिर २०८०, शुक्रबार १४:१३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुनबारे छानविन गर्न भन्सार विभागले ६ सदस्यीय छानविन समिति गठन गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको समिति गठन गरिएको जानकारी दिए ।

बिहीबार राति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरी प्रहरी थुनामा राखेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड- ५७३ बाट राति ११ः४० बजे काठमाडौँ उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको पाण्डेले जानकारी दिए ।

विमानस्थल भन्सार कार्यालय टोलीले बिहीबार मध्यराति विशेष सुराकीको आधारमा तलासी गर्दा ७ थान बिस्कुट आकारको सुन बरामद गरेको थियो । विशेष सुराकीको आधारमा बाहिरबाट सामान आउँदैछ भन्ने आधारमा केही दिनदेखि अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रीहरूमाथि निगरानी राखिएको प्रमुख पाण्डेले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*