अमेरिकी दबाब खेप्न नसकेपछि बीआरआईबाट बाहिरिदै इटाली

२२ मंसिर २०८०, शुक्रबार १५:४४

काठमाडौं । इटालीले चीनको महत्वकांक्षी रणनीतिक परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनाबाट बाहिरिने घोषणा गरेको छ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले नवीकरणको समय सीमा सकिनुअघि नै बीआरआइबाट बाहिरिने घोषणा गरेकी हुन् ।

यो वर्षको अन्त्यसम्ममा बीआरआईबाट बाहिरिने जानकारी चीनलाई नदिएको भए आगामी मार्चमा इटालीको सदस्यता स्वतः नवीकरण हुने थियो । मेलोनीले आफूभन्दा अघिको सरकारले गरेको निर्णयलाई ‘गम्भीर गल्ती’ भन्दै आएकी छन् । बीआरआइबाट बाहिरिए पनि आफ्नो सरकारले चीनसँग राम्रो सम्बन्ध कायम गर्ने उनले बताएकी छन् ।

बीआरआईमा चीनसँग सहकार्य गर्ने इटाली एकमात्र पश्चिमा राष्ट्र थियो । इटाली बीआरआईमा जोडिएसँगै त्यो बेला अमेरिका र अन्य पश्चिमा राष्ट्रहरुले चर्को आलोचना गरेका थिए । सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि बढाएको बीआरआईले एसिया र युरोपभरी अनुमानित १ ट्रिलियन डलर लगानी गर्ने लक्ष्य राखेको छ । नयाँ र स्तरोन्नति रेलमार्ग र बन्दरगाह लगायतका परियोजनाले चीनलाई युरोप र एसियाका अन्य भूभागसँग जोड्ने लक्ष्य बीआरआईमा राखिएको छ ।
उता, इटालीको बीआरआईबाट बाहिरिने निर्णयमाथि प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेल्ट एण्ड रोड सहकार्यलाई नोक्सान गर्ने कुनै पनि गतिविधिको चीनले विरोध गर्ने बताएका छन् । तर, उनले प्रत्यक्ष रुपमा इटालीको नाम भने लिएका छैनन् । अमेरिकाले बीआरआइलाई ‘डेब्ट-ट्रयाप-कूटनीति’भन्दै आलोचना गर्दै आएको छ ।-एजेन्सीको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*