मेट्रो न्यूरो अस्पताल विराटनगरले मृत घोषणा गरेको बिरामी १५ घण्टापछि ब्यूँतिए, अस्पताल भन्छः ‘ज्यूँदै फिर्ता लगेको हो’

२५ मंसिर २०८०, सोमबार ०८:२४

काठमाडौं । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत घोषणा गरेको एक बिरामी १५ घण्टापछि अन्तिम संस्कारका बेला ज्युँदै भेटिएपछि मलामी जान तयार भएका र परिवारका सदस्यहरु आश्चर्यचकित भएका छन् ।

सुनसरी जिल्लाको इनर्वा ३ घर भएका ४५ बर्षिय प्रताप सदालाई विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालका चिकित्सकले शनिबार मृत घोषणा गरेको स्थानीयबासीले बताएका छन् । आइतबार अपरान्ह दाहसंस्कार गर्न लैजाने तयारी गर्दा ज्युँदै भेटिएपछि वरपर र छिमेकीहरु आश्चर्य चकित परेर हेर्नेहरुको भिड लागेको छ भने विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले भने बिरामीको मृत्यु भएको कुरा सत्य नभएको डेथ सर्टिफिकेट नदिएको दावी गरेको छ ।


शनिबार मृत्यु भएका भनिएका सदालाई आइतबार विहान शव घर पुर्याएर दाह संस्कार गर्न बाँसको खटमा राख्ने क्रममा सास फेरेको जस्तो लागेपछि हेर्दा जीवितै भेटिएको स्थानीयबासीले बताएका छन् । अहिले उनी सकुशल छन् ।

सुरुमा बिरामी भएपछि सुनसरी जिल्ला अस्पतालमा उपचारको लागि पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि कोशी अञ्चल अस्पतालमा रिफर गरियो । कोशी अञ्चल अस्पतालमा मंसिर २३ गते पुगेका प्रताप सदालाई सोही दिन न्यूरो अस्पताल रिफर गरिएको थियो । न्यूरो अस्पतालमा विहान १०ः३० बजे इमरजेन्सीमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उपचार गर्दागर्दै शनिबार नै निधन भएको सूचना दियो । तर, लाश दिन मानेन । उनको उपचार बापत ५० हजार रुपैयाँ खर्च भएको भन्दै सो रकम नदिएसम्म शव नदिने भन्दै शवगृहमा राखियो । गरिब परिवारका प्रताप सदाको शव घर ल्याउन ५० हजार रुपैयाँ थिएन ।

स्थानीय पहल बहादुर कटवालले दिएको जानकारी अनुसार छिमेकीले चन्दा उठाएर ५० हजार रुपैयाँ जम्मा गरेर हिजो आइतबार विहान अस्पतालमा बुझाएर शव घर ल्याइएको थियो ।
आइतबार घर ल्याएर दाहसंस्कार गर्न विधि सुरु गरी बाँसको खटमा राखेपछि मलामीहरु झस्किएका थिए । उनले मन्द मन्द सास फेरेको चाल पाएपछि उठाएर पानी खुवाइएको थियो । अस्पतालले मृत घोषणा गरेको व्यक्ति घर ल्याएर हेर्दा ज्यूँदै भेटिएपछि गरिबीको रेखामुनी रहेको सदाको परिवारमा खुशी छाएको छ ।

उता, विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालका निर्देशक सन्तोष मेहताले आधा पैसा मात्रै उपचार गर्ने शर्तमा अस्पतालमा भर्ना गरिएको र बिरामीको उपचार भइरहेको बेला थप उपचार खर्च व्यहोर्न नसक्ने भन्दै घर फर्काइएको बताए । उनले अस्पतालको सिसी क्यामेरामा बिरामी ज्यूँदै घर लगिएको देखिएको दावी गरेका छन् । ज्यूँदो मानिसको दाहसंस्कार गर्न बाँसको खट र कात्रो तयारी अवस्थामा राखिदैन भन्ने प्रश्नको जवाफ कसैले हल्ला चलाउन त्यसो गरेको प्रतिक्रिया दिएका छन् । साथै उनले अस्पतालले अहिले केहीबेरमा पत्रकार सम्मेलन गर्ने समेत जानकारी दिएका छन् ।
तस्विरहरु राजेन्द्र पोखरेलको फेसबुकबाट ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*