सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको संसदीय सुनुवाइ ३ दिन, निर्णय एकमुष्ठ

२५ मंसिर २०८०, सोमबार ०९:५४

काठमाडौं । प्रस्तावित सर्वोच्च अदालतका ६ न्यायाधीशको संसदीय सुनुवाई २९ मंसिरदेखि सुरु हुने भएको छ । उजुरीकर्तासँगको छलफलपछि संसदीय सुनुवाई समितिले प्रस्तावित न्यायाधीश सुनुवाइको मिति तोकेको हो ।

यो पल्ट सुनुवाइका लागि तीन दिन समय तोकिएको छ । प्रस्तावित सबै न्यायाधीशको सुनुवाइ सकिएपछि मात्रै एकमुष्ठ अनुमोदनको निर्णय गरिने बताइएको छ । समितिले मंसिर २९, पुस १ र २ गते सुनुवाइका लागि समय तोकेको छ । सिफारिस क्रम अनुसार सुनुवाइ हुने हुँदा पहिलो दिन सारङगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ हुने बताइएको छ ।

दोस्रो दिन उच्च अदालतबाट सिफारिसमा परेका महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको सुनुवाई हुने भएको छ भने अन्तिम दिन नेपालबारबाट सिफारिसमा परेका सुनिल पोखरेल र बालकृष्ण ढकालको सुनुवाई गर्ने तयारी छ ।

मंसिर ४ गते मात्रै समितिले सुनुवाइपछिको निर्णय लिने बताइएको छ । सुनुवाइ पूर्व प्रस्तावित तीन जना सुवेदी, मुसलमान र ढुंगानाविरुद्ध उजुरी परे पनि शर्मा, पोखरेल र ढकालविरुद्ध एकल उजुरी परेका छैनन् ।

न्यायाधीश ढुंगानाविरुद्ध राजस्व न्यायाधीकरणमा आफैसँग इजलास सेयर गरेका पुष्पप्रसाद गुरागाईंले उजुरी दिएका छन् । राजस्व न्यायाधीकरण ऐन, २०३१ को दफा ९ बमोजिमको कार्यविधि पालना नगरेर राज्यलाई हानी नोक्सानी गरेको आरोप गुरागाईंको छ ।

ढंगाना सामेल १५० भन्दा बढी फैसलामा कुनै न कुनै रुपमा कानूनी व्यवस्था उल्लंघन भएको जिकिर समेत गुरागाईंले उजुरीमार्फत गरेका छन् । न्यायाधीश सुवेदीविरुद्ध भने आरती साह हत्या प्रकरणमा भएको थुनछेक आदेश गलत रहेको भनी उजुरी परेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*