प्रधानमन्त्री कार्यालयबाट ठूलो संख्यामा कर्मचारी हटाइँदै, कार्यालय सहयोगीदेखि सचिवसम्म को-को पर्लान् ?

२५ मंसिर २०८०, सोमबार ११:३१

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ठूलो संख्यामा कर्मचारीको दरबन्दी कटौती गर्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको २ सय ९५ कर्मचारी दरबन्दीलाई २ सय २३ मा झार्न प्रस्ताव गरिएको छ । प्रधानमन्त्रीको कार्यालयबाट कार्यालय सहयोगीदेखि सचिवसम्मका ७२ भन्दा बढी कर्मचारी कटौतीको प्रस्ताव गरिएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित प्रधानमन्त्री कार्यालयको संगठन र रणनीतिक सुधार समितिले बुझाएको प्रतिवेदनमा कार्यालय सहयोगीदेखि सचिवसम्मका ७२ कर्मचारीको दरबन्दी कटौती प्रस्ताव गरिएको छ । केही साताभित्रै कटौतीमा परेका कर्मचारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट अन्यत्र पदस्थापन गर्ने तयारी छ ।

प्रधानमन्त्री कार्यालयमा मुख्यसचिवसहित प्रशासनका ४, न्याय र इन्जिनियरिङका एक एक तथा विशेष दरबन्दीमा एक जना सचिवको दरबन्दी छ । अहिले प्रधानमन्त्री कार्यालयमा सचिवहरु एकनारायण अर्याल (आर्थिक तथा पूर्वाधार विकास), लीलादेवी गड्तौला (न्याय), मणिराम गेलाल (इन्जिनियरिङ क्लष्टर), गणेशप्रसाद पाण्डेय (प्रशासन, नतिजा व्यवस्थापन, राष्ट्रिय सुरक्षा तथा सुशासन), अर्जुनप्रसाद पोखरेल (सामाजिक विकास तथा प्रादेशिक समन्वय), गोपीकृष्ण खनाल र खगेन्द्रप्रसाद नेपाल (विशेष दरबन्दी) तथा टेकनारायण पाण्डे (अतिरिक्त) छन् । यसरी ७ जनाका सचिवको दरबन्दीलाई ३ वटामा झार्न खोजिएको छ ।

अहिले सात सचिवको दरबन्दी रहेकामा त्यसलाई ३ मा झार्न खोजिएको हो । त्यस्तै सहसचिव, उपससचिव, शाखा अधिकृतको पनि कटौती हुँदैछ । हाल भएको जनशक्ति कार्यभारभन्दा बढी भएको तथा प्रधानमन्त्री कार्यालय अनावश्यक कर्मचारी थुप्रिने थलो भएको निष्कर्ष निकाल्दै बढीभन्दा भारी कटौती गर्न संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदनले जोड दिएको छ ।

२०७४ चैत १४ मा कार्यालयको संगठन संरचनाबाट ११ जना सहसचिव, ३० जना उपसचिव, ५६ जना शाखा अधिकृत छन् । तर, अब यी पदमा पनि व्यापक कटौतीको प्रस्ताव गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*