लागूऔषध मिसाइने रेडबुललाई उत्पादनको लाइसेन्स दिने तयारीमा खाद्य प्रविधि विभाग

२५ मंसिर २०८०, सोमबार १३:२९

काठमाडौं । मात्राभन्दा बढी क्याफिन, लागूऔषधजन्य पदार्थ समेतको मात्रा भेटिएपछि आयातमा प्रतिबन्ध लागेको रेडबुललाई नेपालमा उत्पादन तथा बिक्री वितरणको अनुमति दिन सेटिङ चलिरहेको तथ्य बाहिरिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा सरकारले चार वर्षपहिले प्रतिबन्ध लगाएको रेडबुललाई उत्पादन तथा बिक्री वितरणको अनुमति दिन तीब्र लविइङ चलेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ९ वर्षअघि गरेको एउटा परीक्षणमा झण्डै कफी कै हाराहारी २ प्रतिशतजति घातक प्रकृतिको क्याफिनको मात्रा भेटिएको तथ्य र त्यसपछि गरिएका परीक्षणमा लागू औषधजन्य पदार्थ समेतको आशंका गरिएको आफ्नै रिपोर्ट लत्याएर रेडबुलको उत्पादन तथा बिक्री वितरणको लविइङमा लागेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फुड विज्ञको रुपमा काम गरेर रिटायर्ड भएका एक जना विज्ञका अनुसार हामीले सेवन गर्ने गरेको कफीमा २ प्रतिशतसम्म क्याफिनको मात्रा हुन्छ । क्याफिन धेरै खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन । नाम उल्लेख नगर्ने शर्तमा बीमापोष्टसँग उनले भने, ‘हामीले ९ वर्षअघि गरेको एउटा परीक्षणमा रेडबुलमा क्याफिनको मात्रा चाहिने भन्दा बढी भेटिएको थियो भने त्यसपछि गरिएका परीक्षणमा लागूऔषधजन्य (अफिम र कोकिन) पदार्थ समेतको शंका गरिएपछि सरकारले प्रतिबन्ध लगाउनुको परेको थियो ।’

२०७६ सालमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारले २०७६ साल असार २ गते राजपत्रमा राजपत्रमा सूचना प्रकाशित जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका इनर्जी ड्रिंकहरूको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यो निर्णय अहिलेसम्म कायमै छ । तर, अहिले आयातमा पो प्रतिबन्ध लगाइएको हो, उत्पादन गर्छु भन्दा त पायो नि भन्ने गलत व्याख्या गरेर विभाग अनुमति दिने निचोडमा पुगेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रकाशन गरेको खण्ड ६९ संख्या ११, भाग ५ मिति २०७६/०३/०२ को बुँदा नं ४ मा गाँजा, चरेस, वन मन्त्रालयले तोकेको हानिकारक एजोडाइ रंगहरूसँगै ‘(ढ) नं बुँदामा क्याफिनयुक्त, शक्तिवर्द्धक पेय पदार्थ, एनर्जी ड्रिंक र फ्लेभरर्ड स्यान्थेटिक ड्रिंक र यस्तै प्रकारका पेय पदार्थ’ आयातमा पूर्ण प्रतिबन्ध लगाइएको उल्लेख छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले मानव स्वास्थ्यमा घातक असर गर्ने खालका पदार्थहरु मिसाइएकाले त्यस्ता पेयको आयात रोकिएको हो । नेपालमा उत्पादन नहुने र आयात गरिने ती वस्तुहरूको आयात रोकिएपछि नेपालमा बिक्रीवितरणमा पूर्ण रुपमा प्रतिबन्ध छ । आपूर्ति मन्त्रालयका अनुसार मानव स्वास्थ्यमा गम्भीर असर परिरहेकाले प्रतिबन्ध लगाउनुपरेको प्रस्टीकरण दिइएको थियो ।

सेटिङमा खेतान समूहले सरस बेभरेज नामक कम्पनी नेपालमै खडा गरी थाइल्यान्डबाट कच्चा पदार्थ आयात गरेर रेडबुलको उत्पादन सुरु गरेको छ । खेतान समूहले मंसिर १९ गते अर्थमन्त्री डा. प्रकाशशरण महतलाई नवलपरासी लगेर सरस बेभरेजको उत्पादन सुभारम्भको औपचारिक उदघाटन गर्न लगाएको थियो । अर्थमन्त्री डा. महतले उदघाटन गरेसँगै सरस बेभरेजले रेडबुलको उत्पादन तथा बिक्रीवितरण सुरु भएको जानकारी दिइसकेको छ ।

खेतान समूहले रेडबुलको उत्पादन तथा बिक्रीवितरणको लाइसेन्सका लागि भित्रभित्रै ठूलो रकम सेटिङमा खर्च गरेको बताइएको छ । त्यसका लागि खेतान समूहले प्राइम लाइफको शेयर सित्तैमा दिएको देखाएर रकम हात पारी त्यही रकम रेडबुलको सेटिङमा खर्च गरेको समेत बताइँदैछ ।

सेटिङमा सरस बेभरेजले उत्पादन गर्ने रेडबुललाई प्रमाणपत्र दिने अन्तिम तयारीमा विभाग पुगिसकेको छ । रेडबुललाई त्यसरी प्रमाणपत्र दिन खोजिएको सम्बन्धमा खाद्य प्रविधि विभागकी महानिर्देशक डा. मतिना जोशी वैध बोल्न मानेकी छैनन् । यतिसम्म की वेबसाइटबाट कार्यालयको टेलिफोनबाहेक प्रवक्ता, सूचना अधिकारी सबैको सम्पर्क नम्बर हटाइएको छ ।

अहिलेसम्म खाद्य प्रविधि तथा गुण निन्त्रण विभागबाट सरस बेभरेजले उत्पादन अनुमतिपत्र लाइसेन्स भने पाइसकेको छैन । विभाग सरकारले आयातमा मात्रै प्रतिबन्ध लगाएको हो भन्दै आएको छ भने चार वर्षअघि प्रतिबन्ध लगाउने वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग यस विषयमा कुनै समन्वय गरेको छैन ।

आपूर्ति मन्त्रालयले यस सम्बन्धमा पुरानो फाइल खोलेर किन प्रतिबन्ध लगाइएको थियो र सो अध्ययन गरेर मात्रै जवाफ दिनसक्ने बताएको छ । घातक प्रकृतिको क्याफिनयुक्त भएका कारण रेडबुल डेनमार्क र नर्वेमा समेत प्रतिबन्धित छ । क्याफिनको मात्रा अधिक राखिएको हुने भएका कारण रेडबुल दोहोर्‍याएर पीउनु स्वास्थ्यको लागि घातक मानिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*