प्रभु महालक्ष्मी लाइफबाट शेरचनले चुमे पाँचौपटक एमडीआरटीको उपाधि

१७ पुष २०८०, मंगलवार १५:३५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका वरिष्ठ एजेन्सी म्यानेजर नवीन शेरचनले पाचौँ पटक एमडीआरटीको उपाधि चुमेका छन् । साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा सन् २०१८ बाट अभिकर्ता पेशामा आवद्ध भएका शेरचनले विश्वका उत्कृष्ट अभिकर्ताको अन्तराष्ट्रिय संस्था ‘मिलियन डलर राउण्ड टेबल’मा लगातार रुपमा पाचौँ पटक क्वालिफायर्ड भएका हुन् । यसरी उनी यो कम्पनीबाट लागातार रूपमा एमडीआरटी क्वालिफायर्ड हुने एकमात्र अभिकर्ता बनेका छन् ।

बीमा बजारमा बग्रेल्ती अभिकर्ता उत्पादन भइरहेका र उक्त पेशालाई व्यवसायिक रूपमा अवलम्बन गर्न नसकेर अभिकर्ताहरू अन्य पेशामा पलायन भएको समयमा शेरचनले पाचौँ पटक सन् २०२४ का लागि एमडीआरटी क्वालिफायर्ड हुँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट ऐतिहासिक रेकर्ड कायम गरेका छन् ।

यो क्वालिफायर्डसँगै शेरचनले क्यानडामा हुने एमडीआरटी सम्मेलन २०२४ का लागि सहभागीता जनाउन सक्नेछन् । बुबा रिक प्रसाद शेरचन र आमा चन्द्र कुमारी शेरचनको कोखबाट २०४२ सालमा बागलुङको बुर्तीवाङमा जन्मिएका नवीन शेरचन थकाली समुदायका हुन् ।

अभिकर्ता पेशाका अलवा उनी थकाली समुदायको पण्डित्याईं (ट्होम) कर्म पनि गर्ने गर्छन् । बुर्तीवाङ बजारमा उनको बर्गर हाउस रेष्टुरेन्ट संचालित छ । देशका तमाम युवाहरू रोजगारीको शिलशिलामा विदेश पलायन भइरहेका समयमा शेरचनले आफ्नै भूमीमा प्रशस्तै सम्भावना देखेका छन् ।

युवाहरूले कम्फरटेबल जागिर र धेरै तलब आफ्नै देशमा खोज्नु र अरुको देशमा गएर थोरै तलबमा पनि योग्यताको लेभलमा नआउने काम गर्न बाध्य हुनु युवाहरूको आफ्नै महत्वकांक्षी सोचको उपज रहेको उनी बताउँछन् ।

स्वदेश मै रोजगारी र आयस्रोतका प्रशस्तै सम्भावना रहेको र ती सम्भावनाहरूको पहिचान युवाहरूले गर्न नसक्नु नै दुर्भाग्य रहेको उनी बताउँछन् । उनले थोरै कमाइमा नेपाल मै सन्तुष्टी लिन नसक्नुको सोचको उपज विदेश पलायन हो भन्ने गरेका छन् ।

नेपाली बीमा बजारमा सम्भावना नै सम्भावना देखेका उनी लगातार दश वर्षसम्म एमडीआरटीमा क्वालिफाई भई एमडीआरटीको आजीवन सदस्य बन्ने लक्ष्यमा छन् । विदेश पलायन हुन तम्तयार रहेका आफ्ना साथीहरुलाई पनि अभिकर्ता सञ्जालमा जोडेर पलायन हुनबाट रोकेका उनले आफ्नो समूहमा करिब २०० जना अभिकर्ता जोडीसकेका छन् ।

उनी सामूहिक व्यवसायमा पनि हरेक वर्ष प्रथम र द्वितीय स्थानभन्दा तल झरेका छैनन् । योजनावद्ध दृढ संकल्प लिएर अघि बढे जस्तोसुकै लक्ष्य पनि हासिल गर्न सकिने उनको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*