लेवनानबाट फर्किएर बीमाले बदलिएकी फुरुमाया, अहिले वर्षमा ३-४ वटा गाडी फेर्छिन्

१८ पुष २०८०, बुधबार ११:४८

काठमाडौं । भोजपुरको साविक बया गाविस-७ जन्मिएकी फुरुमाया तामाङ्ग ऋणले थिचेपछि १७ महिनाको बच्चा छोडेर विदेश हानिन पुगेकी थिईन् । मोरङको विराटचोक बस्ने उनी पढ्ने दौरानमा काठमाडौं पुगिन् । केही समय होटल व्यवसायीमा लागिन् । आफ्नै होटल पनि चलाईन् । वैवाहिक जीवनपछि जिम्मेवारी बढ्दै गयो । बालबच्चा थपिए । खर्च बढ्यो । आम्दानी अपुग हुँदै गयो । ऋण लाग्यो । विदेश हानिनुबाहेक विकल्प रहेन । अनि, लेवनान पुगिन् ।
हिम्मत कसिन् । सानो बच्चा बीमा गराई फाइल सुटकेशमा राखेर लेवनान हिँडिन् । नेपाल लाइफ इन्स्योरेन्समा उनले आफ्नो दोस्रो बच्चाको एक लाखको बीमा गराएकी थिईन् । परिवारका सदस्यले बीमामा पैसा बर्बाद हुन्छ नगर पनि भनेका थिए । उनले भनिन, ‘बीमा गरेको कागजात मैले सुटुक्क आफ्नो सुटकेशमा राखेर जसरी पनि तिर्छु भन्ने हिसाबले विदेशिए ।’

विदेश गएको ६-७ महिनामा भर्याङ्ग बाट लडेर दुर्घटनामा परें, उनले अगाडि भनिन्, ‘सो घट्नापछि झण्डै ८ घण्टा पछि होस खुलेको थियो । १४ औं तलाको झ्याल सफा गर्ने क्रममा चक्कर लागेर लडेकी थिएँ । त्यसपछि म बेहोस भएछु । मलाई केही होस नै भएन । मलाई सोही घरकाले उठाएर हस्पिटल लानु भएछ । मेरो होस आउँदा उहाँहरुले अल्लाह हुँ अकबर भन्दै मेरो कुशलताका लागि प्रार्थना गरिरहनुभएको देखे । त्यो देख्दा मेरो आँखाबाट आँशु खसेको थियो ।’

त्यतिबेला त्यहाँको स्वेएर्चाहाल नाम गरेकी महिलाले आफुलाई ‘डु यु ह्याभ इन्स्योरेन्स इन नेपाल ? भनेर सोधेको सम्झिन्छन्, फुरुमाया । त्यो शब्द अझै पनि आफ्नो कानमा बारम्बार गुन्जिरहेको सुनाउँछिन्, उनी । त्यही शब्दले आफुलाई आफ्नो २ वटा बच्चालाई सम्झाएको र आफूलाई बचाइदिएकोमा भगवानलाई धन्यबाद दिएको क्षण पनि ताजै छ, फुरुमायाको मानस्पटलमा ।

उनीहरुले आफुलाई नेपाल गएर अरु केही नगरे पनि कमाएको पैसाले एउटा ठूलो इन्स्योरेन्स भने गर्नु भन्ने सल्लाह दिएको फुरुमायाले बताईन् । उनले भनिन्, ‘तिमीले नेपाल गएर १ हजार डलरको बीमा गरेर मात्र आउ नत्र यहाँ न आउ भन्नुभयो । जोखिम बहन बीमाले मात्र गर्छ, अरुले सक्दैन । पहिले बीमा गरेर मात्र वर्कर बनेर आउ भन्ने उर्दी नै आयो ।’

१ हजार डलर पुरस्कार बापत दिने र त्यसै पैसाले नेपाल गएर बीमा गर्नु भनेर भनेपछि ४ वर्षको अन्तरालपछि उनी नेपाल आइन् । नेपाल फर्किदा काम गर्ने ठाउँबाट १५ सय डलर उपहार र सुनको लकेट पाएकी थिईन्, फुरुमायाले । बीमा गराउनु भनेर मेरो जिन्सको पाइन्टमा भित्रि बगली सिलाएर एक हजार डलर छुट्टै राखिदिनु भएको रहेछ, फुरुमायाले अगाडि भनिन्, ‘ताकी मैले देखेर अरुनै काममा खर्च नरोस्, भनेर । उहाँको त्यो अगाध मायालाई मैलै स्वीकारें ।’
दुःखले हुर्किएकी फुरुमायालाई त्यो स्नेह र प्रेम भगवान् दिएको वरदान सावित भयो । आमाको माया नपाएकी र सौतेनी आमाले पनि हेँला गरेकी फुरुमायाले दुःखले एसएलसी फर्स्ट डिभिजनमा उत्तीर्ण गरेकी थिईन् । उनकी जस्केली आमा पढाउन भन्दापनि विवाह गराउनेतर्फ केन्द्रित थिईन् । १६ वर्ष मै विरुमायाको विवाह भयो भने १७ वर्ष पहिलो सन्तान, छोरा जन्मियो ।

अहिले फुरुमायाका छोराहरु एउटा २१ वर्ष र अर्को १६ वर्षका छन् । आफूले पढ्न चाँहदा चाहँदै पनि पढ्न नपाएकाले आफ्ना बच्चालाई भने पढाइमा जोड गरेकी छन्, उनले । उनले दुबै छोराको जीवन बीमा गराएकी छन् । उनले भनिन्, ‘१० लाखको बीमा गरिदिएको छुँ । अहिले मेरो आफ्नै नाममा पनि डेढ करोडको बीमा छ । मेरो जीवनको महत्वपूर्ण क्षण भनेको त्यही बीमा गराएको क्षण नै हो ।’’

बीमा गराउने क्रममा फुरुमायालाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सन्तमान तामाङले आफैंले कमाउन सकिने र विदेश जानै नपर्ने सुझाव दिए । सन्तमानले फुरुमायालाई प्राइम लाइफको तालिममा इन्ट्री गराइदिए । उनले भनिन्, ‘उहाँलाई अहिले जहाँ भेटेपनि मैले मनैदेखि नमन गर्छु । उहाँले नै मेरो जीवनको ढोका खोलिदिनु भयो । मेरो आर्थिक अवस्थालाई उहाँकै देनले उकास्न सके । मेरो र परिवारको अहिले जीवन शैली फेरिएको छ ।’ आर्थिक अवस्था नाजुक भएका बेला पहिले औषधि खान समेत धौधौ थियो । अहिले आफैले वर्षमा ३-४ वटा गाडी, स्कुटर फेरेर चलाउन सक्ने क्षमता बनेको उनले सुनाईन् ।

११ पटकसम्म प्राइम लाइफबाट विदेश भ्रमण गरेकी उनलाई अन्य कम्पनीबाट थुप्रै अफर एवं अवसर आएका थिए । तर, उनले सुरु गरे कै ठाउँ छोड्न मन गरिनन् । जसलाई उनी पेशागत अनुशासन हो, भन्छिन् । उनी एक्लैले अहिलेसम्म ३५ देखि ४० हजार बीमितको बीमा गराएकी छन् । अहिलेसम्म कतैबाट अपजस खेप्नु परेको छैन, पिरुमायाले । इमान्दारिता कै कारण अहिलेसम्म कसैले आफुलाई गुनासोसम्म नगरेको उनको भनाइ छ ।

हिजो परिवार पाल्न विदेश गएकी उनले अहिले विदेश पुगेर लाखौंको उपहार बाँडेकी छन् । एक डेढलाखको त होटल चार्जसमेत तिरेर कार्यक्रम गरेको अनुभव छ, उनीसँग । अहिले सानातिना अवरोधले केही फरक पार्दैनन्, उनले गर्ने कार्यक्रम पनि शानदार हुनपर्छ । वर्षमा उनले रिन्युअल र न्यू विजनेश गरेर ८ देखि १० करोडको त कारोबार गरिरहेकी हुन्छिन् ।

लगातार ४-५ वर्ष अफिसको जिम्मा नै उनलाई सुम्पिएको सुनाईन्, फुरुमायाले । अहिले प्राइम लाईफ हिमालयन लाइफ भएको छ । तर, प्राइमलाई कहिल्यै नविर्सने उनको भनाइ छ । आफुलाई विराटनगर शाखाबाट अत्यन्तै साथ सहयोग मिलेको उनले बताईन् । उनले भनिन्, ‘सन्तोष आचार्य सर, शाखा प्रबन्धक सरहरु, महेश निरौला, कैलाश देवकोटा सर आदिको धेरै माया र सहयोग पाए । एउटा कुरा चाहि के भन्न चाहान्छु भने बीमा गर्दा अभिकर्ताले एकल भएर काम गर्न सक्दैन । हामीले हातमा हात, साथमा साथ गरेर अघि बढ्नुपर्छ ।’

एक जनाको बल एक जनाको बुद्धि प्रयोग गरियो भने त्यहाँ सफलता मिल्ने उनको भनाइ छ । अहिले पिरु मायाले वर्षमा ३५ देखि ४० जनासम्म एजेन्सी म्यानेजर डेभलप गरिरहेकी छन् । २० देखि २२ जनालाई मोटरसाइकल जिताइदिएको बताउँदै आफुले पनि कार स्किमहरु जितेकी उनले सुनाईन् । उनी तीन पल्ट लगातार एमडीआरटी घोषित भएकी छन् । ३९ वर्ष पुगेकी फुरुमायाले अझै ५-१० वर्ष बीमितको घरघरमा गएर सेवा दिने अठोट लिएकी छन् । उनले अहिले पनि आफ्नै खर्च गरेर भए पनि २ हजार क्यालेण्डर बीमितको घरघरमै लगिदिने गरेकी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*