सुटुक्क गम्भीर राष्ट्रघात गर्दै सरकार, एमालेदेखि घण्टी र बिप्लवसम्म मौन

१९ पुष २०८०, बिहीबार ०७:२५

काठमाडौं । सरकारले भारतसँग सुटुक्क राष्ट्रघाती सम्झौता गर्न लागेकोबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेदेखि नयाँ उदय भएको शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र विद्रोही भनेर चिनिएको एकीकृत जनक्रान्तिको मार्गमा हिडिरहेको बिप्लव सम्म मौन रहेका छन् ।

हाल नेपालमा भारतले दोहोरो सत्ताको अभ्यास गर्दै आइरहेको छ । भारतले पाँच करोडसम्मका विकास आयोजना ‘उच्च प्रभावित सामुदायिक विकास आयोजना’ को नाममा सिधैं काठमाडौंस्थित भारतीय दुताबासमार्फत आफैले गर्दै आएको छ । विदेशी दातृ निकायले दिने सहयोग अर्थमन्त्रालयमार्फत जनतामा लैजानुपर्नेमा भारतलाई नेपालले पाँच करोड रुपैयाँसम्मको विकास आयोजना सिधैं आफैले निर्माण गर्न पाउने गरी सम्झौता यसअघि तत्कालिन राष्ट्रघाती प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा भइसकेको छ । अब अहिले प्रचण्ड प्रधानमन्त्री भएको मौका छोपेर पाँच करोड रुपैयाँको सीमालाई बढाएर २४ करोड पुर्याउने प्रस्ताव गर्न लागिएको छ ।

गत मंसिर २१ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त राष्ट्रघाती परियोजनालाई अघि बढाउन स्वीकृती दिइसकेको तथ्य फेला परेको छ । हालसम्म लुकाउँदै आएको उक्त राष्ट्रघात आजदेखि हुने भारतीय विदेशमन्त्री जयशंकरको उपस्थितमा सम्पन्न हुँदैछ । नेपालको बजेटरी सिष्टमभन्दा बाहिर हुँदै आएको सो खर्च नेपालको बजेट र विकासमा कही कतै देखिदैन । भारतले दोहोरो सत्ताको अभ्यास गर्दै जनतालाई दुताबासमा लाइन लगाएर अहिले उक्त परियोजना सञ्चालन गर्दै आइरहेको छ ।

आजबाट सुरु हुने दुई दिने नेपाल भारतबीचको वार्ताका लागि भारतीय विदेश मन्त्री एस जयशंकर आजै काठमाडौं ओर्लदैछन् । भारतीय विदेश मन्त्रीको साथमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रा समेत सहभागी हुने भोलि विहानसम्ममा उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ । परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्सालले सुटुक्क सो सम्बन्धी प्रस्ताव दुई देशका वार्ताको एजेण्डामा राखेको जनाइएको छ । सम्भवतः आजै बस्ने तीन दलको बैठकमा भारतसँग गर्न लागिएको राष्ट्रघातको सेटिङबारे निर्णय हुनेछ ।

उता, छिमेकी राष्ट्रले दोहोरो सत्ताको अभ्यास हुने गरी राष्ट्रघाती सम्झौता गराउन खोज्दा पनि देशका प्रमुख राजनीतिक दलहरु मौन रहनु अर्को आश्चर्यको विषय बनेको छ । जनतामा नयाँ आशा जगाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यो विषयमा मौन रहँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*