जीवन बीमा गर्न ढिलाई गर्नुहुँदैनः निभा माली, सिनियर एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स

३० फाल्गुन २०८०, बुधबार १७:१२

निभा माली महर्जन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी प्रख्यात बीमा अभिकर्ता हुन् । सिटिजन लाइफको कोटेश्वर शाखामार्फत काम गर्दै आएकी निभा मालीको आफ्नो पुख्र्यौली व्यवसाय आयात निर्यात व्यवसायमा व्यस्त छिन् । व्यस्तताको बावजुद उनले थोरै समय निकालेर बीमा व्यवसायमा सक्रिय भइरहेकी छिन् ।

शंखमुलमा जन्मेकी माली मनमैजुमा विवाह भयो । पुख्र्यौली व्यवसायमा रमाइरहेकी माली काठमाडौंकै स्थानीयबासी भएर पनि बीमा अभिकर्ता बनेर बीमितहरुको सेवामा लाग्नुपर्छ भनेर आफ्नै अन्तरमनले यो व्यवसायमा आवबद्ध भएकी छिन् । आफू पैसा कमाउनको लागि भन्दा पनि बीमाले आम नागरिकको जोखिम रक्षावरण गरेर उनीहरुको जीवनको आर्थिक सुरक्षा प्रदान गर्ने भएकोले बीमा पहुँच बृद्धि गर्ने महान् अभियानमा सहभागी भएको बताउँछिन् । प्रस्तुत छ, उनै मालीसँग बीमापोष्टकी रिना खत्रीले गरेको कुराकानीको सारसंक्षेपः

बीमा क्षेत्रमा आवद्ध भएको कति भयो ? कसरी आवद्ध हुनुभयो ?

म सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा अभिकर्ता पेशामा आवद्ध भएको तीन वर्ष पुरा भएर चार वर्ष लाग्यो । हामीले पहिलादेखि नै बीमा आवश्यक छ भनेर पढ्दै आएका थियौं । आफैँलाई पनि बीमा महत्वपूर्ण छ भनेर थाहा पनि थियो । तर प्राक्टिकल रुपमा गएको थिइन् । पछि बीमा कम्पनीका सरहरुसँग कुराकानीको क्रममा धेरै कुराहरु सिक्न पाए, बुझ्न पाए । बीमा गर्नुपर्ने मात्रै होइन, गराउनु पनि पर्ने रहेछ भनेर थाहा पाए । अनि पछि सरहरुको कुराले प्रभावित भएर यस पेशामा आवद्ध भए ।

बीमा भनेको के बुझ्नुहुन्छ ?
सरल रुपमा यसको उत्तर दिनुपर्दा मानिसको जीवनमा आइपर्ने जोखिम बहन गर्नु नै बीमा हो । बीमा हुनको लागि अनिश्चित जोखिम हुनुपर्दछ । अनिश्चित जोखिमको बहन गर्ने र मानिसले जीवनमा कमाएको पैसा पनि बचत गर्ने माध्यम जीवन बीमा हो ।

बीमा अभिकर्ता बनेर काम गर्दा फिल्डमा के प्रतिक्रिया पाउनुभयो ?

यसमा धेरै मान्छेको धारणा फरक फरक नै छ । सबैको बीमाप्रति सकारात्मक धारणा मैले पाइन् । हामीले कन्भिन्स गराएपछि बल्ल बीमा गर्न मान्नुहुन्छ । मेरो अनुभव अनुसार मध्यम वर्गको उमेर समूहका मानिसले धेरै बीमा गराउनुभयो । त्यसपछि बालबालिका र बृद्धबृद्धा कम मात्रामा मात्रै बीमा गर्नु हुन्छ ।यसमा हामीले धेरै काम गर्नुपर्नेछ । हामी अभिकर्ताको लागि भन्दा पनि जनताको लागि धेरै काम गर्नुपर्दछ ।

कम्पनीलाई अभिकर्ताको महत्व कति छ जस्तो लाग्छ ?
बीमा कम्पनीका लागि अभिकर्ताको भूमिका एकदमै धेरै छ । कूल बीमा व्यवसायको ९० प्रतिशत बीमा शुल्क बीमा अभिकर्ताबाटै आउने हो । त्यसैले बीमा अभिकर्तालाई गुणस्तरीय बनाउनु बीमा कम्पनीहरुका लागि निकै महत्वपूर्ण रहेको छ । बीमा कम्पनीले त हामीलाई पोलिसीको बारेमा जानकारी दिने, हौसला दिने मात्र हो । फिल्डमै खटिनुपर्ने त अभिकर्ताले नै हो, त्यसैले यो पेशामा अभिकर्ताको भूमिका धेरै छ ।

अभिकर्ता पेशा अघि तपाई कुन पेशामा आवद्ध हुनु हुन्थ्यो ?
यो पेशामा आउनुअघि वा अहिले पनि मेरो एउटा पारिवारिक विजनेश कम्पनी छ । १० वर्ष भयो यो कम्पनी खोलेको बीमा पेशा मेरो अतिरिक्त पेशा हो । मेरो आफ्नै कम्पनीलाई मैले फूल टाइम दिनुपर्छ । समय मिलाएर पार्ट टाइम काम गरिरहेको छु । यसबाट प्राप्त आम्दानी भन्दा पनि जनतालाई बीमासँग जोडेर उनीहरुको परिवार र भविष्य सुरक्षित पार्न पाउँदा मनभित्रैबाट खुशी फैलिएर आउँछ ।

बीमा अभिकर्ता पेशामा तपाईले आफ्नो भविष्य कस्तो देख्नुहुन्छ?
अभिकर्ता पेशालाई मैले विजनेशको रुपमा लिएको छैन् । यो पेशालाई मैले सामाजिक सेवाा गर्ने पेशाको रुपमा लिएकी छु । किनभने बीमा जरुरी छ । यो हरेक मानिसका लागि आवश्यक छ । म बीमा अभिकर्ता बनेर काम गरिरहेको छ । मैले बीमाको पहुँच बृद्धि गर्ने र जनतालाई बीमाद्धारा रक्षावरण गर्ने एउटा महान अभियानमा सहभागी हुँदा गर्वको अनुभूति हुन्छ ।

तपाइको नजरमा सफल अभिकर्ता भनेको के हो?
जो–लामो समयसम्म बीमा पेशामा आवद्ध भएर सेवामूलक तरिकाले काम गर्छ त्यही नै सफल अभिकर्ता हो । सफल अभिकर्ता हुनको लागि बीमाको निरन्तरता, बीमा व्यवसायको विस्तार अनि बीमा कम्पनीमा सही तरिकाले अण्डरराईटिङ प्रक्रिया पुरा गरी बीमितलाई राम्ररी बीमा बुझाउन सक्नु नै सफलता हो जस्तो लाग्छ ।

तपाई सिटिजन लाइफमा नै आवद्ध हुनुको कारण के हो ?
पहिलो कुरा बीमा क्षेत्रको दीगो विकास लक्ष्य लिएको कम्पनी छान्नुपर्ने हुन्छ । अर्को कुरा मैले यही कम्पनीमा बीमा गरेको थिए । र एक दिन म प्रिमियम तिर्न जाँदा सरले तपाइले अरुलाई पनि बीमा गराउन पर्छ भनेर सुझाव दिनुभयो र मैले पनि यो त एकदमै जरुरी हो भनेर र यो सेवामूलक पेशामा आवद्ध हुन्छु भनेर यस कम्पनीमा आवद्ध भए । आबद्ध भएपछि थाहा पाए, एकदमै सही बीमा कम्पनीमा आबद्ध भएछु भन्ने अनुभूति हुन्छ । बोनसदर लगातार बृद्धि भइरहेको छ । कम्पनीले बीमाको दीगो विकास र भविष्य हेरिरहेको छ । त्यसैले सिटिजन लाइफ उत्कृष्ट बीमा कम्पनी हो ।

तपाईले आफ्नो पहिलो बीमा कसरी र कसको गर्नुभयो ?
मैले सुरुमा आफ्नै परिवारबाट सुरु गर्ने सोचे । मैले सुरुमा दाईलाई फोन गरेर सोधे, ‘दाइ तपाईले बीमा गराउनु भयो?’ छैन ! भन्ने उत्तर पाएपछि बीमा गर्नुपर्छ, यो भविष्यका लागि अत्यावश्यक कुरा हो, यसले जोखिम बहन गर्छ, मैले पनि बीमा गराएको छु । तपाई भाउजु लगायतले पनि बीमा गर्नुपर्छ भनेर सम्झाए र दाईले मान्नुभयो । त्यसपछि मलाई प्लस पोइन्ट पनि भयो । अरुलाई पनि कन्भिन्स गरेर बीमा गराउन सके ।

भिडियो अन्तर्वार्ताः

फिल्डमा तपाईलाई बीमा गराउन कत्तिको गाह्रो भयो?
अरुबेला भन्दा पनि कोरोनाको समयमा आर्थिक मन्दीले गर्दा बीमा गराउन निकै गाह्रो भएको थियो । सबैतिर आर्थिक मन्दीले गर्दा खान लाउन समेत धौधौ पर्ने अवस्था थियो, त्यतिबेला बीमा गराउन एकदमै गाह्रो भएको छ । तर, विस्तारै माहौल परिवर्तन भएको छ । आगामी दिनमा बीमाको व्यवसाय अझै बढ्छ भन्नेमा आशावादी छु ।

बीमा हुनेखानेलाई हो की हुँदा खानेलाई हो ?
मैले बुझे अनुसार यो दुबैलाई हो । बीमा भनेको बचत हो । यो डुब्ने भन्ने हुँदैन । अहिले थोरै थोरै जम्मा गरेर पछि एकमुष्ट पाउने बचत नै हो । साथमा जोखिम बहन हुने हुँदा पनि जीवनको रक्षावरण पनि हो नि त । मानिस सबैको रगत रातो हुन्छ भने झै जीवन बीमा धनी, गरिबहरु सबैका लागि महत्वपूर्ण छ । गरिबहरुको लागि त झनै आवश्यक छ, किनभने उनीहरुलाई सुरक्षा धेरै महत्वपूर्ण विषय हो जस्तो लाग्छ ।

बीमा गराइसकेपछि बीमित समक्ष अभिकर्ताको दायित्व के हुन्छ ?
हामीले एजेन्टको रुपमा बीमा गराइसकेपछि बीमासम्बन्धी सरसल्लाह र पोेलिसीको नियमको बारेमा बताउनु दायित्व हो । बीमा गराइसकेपछि बीमितलाई प्रिमियमको लागि सम्झाइ दिनुपर्छ । मैले चार वर्षको दौरानमा तीन दर्जनभन्दा बढिको बीमा गराए होला । म सबै बीमितसँग सम्पर्कमा छु । र अहिलेसम्म एउटा पनि क्लेम आएको छैन् र कुनै पनि बीमा पोलिसी ल्याप्स भएको छैन ।

अभिकर्तामा आवद्ध भएपछि आफूमा के–कस्ता सकारात्मक परिवर्तन हुन्छ ?
अभिकर्ता बनेपछि बोल्ने क्षमताको विकास हुन्छ । व्यक्तित्व विकास हुन्छ । यो पनि एउटा महत्वपूर्ण कुरा हो । यसले एउटा सामान्य मानिसको बौद्धिक क्षमता बृद्धिमा ठूलो प्रभाव पार्छ । यो पेशाले गर्दा मानिसहरुसँग सजिलै घुलमिल हुन सकिन्छ । पेशाकै शिलशिलामा देश विदेशका विभिन्न ठाउँहरुमा जान पाउनु र त्यहाँका मानिसहरुसँग चिनजान र घुलमिल हुन पाइन्छ । जीवन जीउने रोचक कला हो भने सामाजिक जीवन उत्कृष्ट भएको पेशा पनि हो ।

अहिले बजारमा बीमितको अवस्था कस्तो छ ? सजिलै बीमा गराउन सक्ने अवस्था छ की छैन् ?
बीमा गराउन अहिले पनि गाह्रो छ । कोरोना कालमा भएको लकडाउने गर्दा अहिलेसम्म पनि आर्थिक मन्दीले पूण रुपमा छोडेको छैन् तर, कोरोना कालमा भन्दा अहिले अलिक सहज छ । त्यस बेलामा एक बीमितले मसँग मैले प्रिमियम तिर्न सकिन, फिर्ता आउदैन भनेपनि केही छैन म बीमा रद्द गर्छु भनेर रद्द गर्नुभएको पनि छैन । यो मेरो लागि खुशी हो ।

सिटिजन लाइफमै बीमा किन गर्ने भनेर बीमितले सोध्दा के जवाफ दिनुहुन्छ?
बीमा कम्पनीहरुले सार्वजनिक गर्ने विवरण अनुसार पनि सिटिजन लाइफ उत्कृष्ट छ । बोनसदर पनि अब धेरै माथि पुगिसकेको छ । कम्पनीले दीगो विकास लक्ष्यका लागि अघि बढेकोले आगामी दिनमा बोनसदर अझै बृद्धि हुने हुँदा अन्य कम्पनीको तुलनामा सिटिजन लाइफमा बीमा गर्नु बीमितहरुका लागि समेत फाइदा छ । जोखिम बहन र बचत दुवैमा सिटिजन लाइफमा नै बढि फाइदा हुन्छ जस्तो लाग्छ । सिटिजन लाइफका पोलिसीहरु बीमितको रोजाइअनुसारका छन् त्यसैले पनि सिटिजन लाइफमै बीमा गराउन सल्लाह दिन्छु ।

बीमितले सर्वाधिक रुचाएको पोलिसी कुन हो ?
बीमितले सर्वाधिक रुचाएको र मैले पनि सर्वाधिक बिक्री गरेको पोलिसी जिवन सारथी हो । मैले पनि यही पोलिसी खरिद गरेकी छु । कम प्रिमियम तिर्ने हिसावले हेर्ने हो भने सुभारम्भ बीमा पोलिसी ठीक हो ।

बालबालिकाको बीमाको सन्दर्भमा अभिभावक कत्तिको सकारात्मक छन् ?
आफ्ना बालबच्चाको बीमा गराउन चाही अभिभावक पनि सकारात्मक नै हुन्छन् । कतिपय अभिभावक आफैले बालबच्चाको चाही बीमा गराउछु भनेर अघि सर्नुहुन्छ ।

अभिकर्ता पेशामा महिलालाई के–कत्तिको सहजता छ ?
यो पेशामा महिला पुरुष भन्ने हुँदैन् । जस्ले राम्रो गर्न सक्यो उही उत्कृष्ट हुने हो । महिलाले गर्न सक्दैन, घरको जिम्मेवारी धेरै हुन्छ भनेर कतिपय पन्छिनु हुन्छ, नत्र भने महिलाले झनै धेरै काम गर्न सक्छौं जस्तो लाग्छ ।

तपाई पारिवारिक समर्थन कत्तिको छ ?
मलाई यो पेशामा आवद्ध हुन पारिवारिक समर्थन धेरै नै छ । यसले झनै उर्जा थपेको महसुस हुन्छ । कतिपयले पारिवारिक समर्थन नमिलेकै कारण यो पेशामा आवद्ध हुन पाउनुभएको छैन् ।

बीमा पेशामा आउन चाहनेलाई के सुझाव दिनुहुन्छ?

यो पेशामा एक त समयको पावन्दी छैन् । जुनसुकै समयमा समय निकालेर काम गर्न सकिन्छ । आफूले जति गर्न सक्यो उति नै प्रतिफल पाइन्छ । यो पेशामा लागेपछि यसमा मात्रै आवद्ध हुनै पर्छ भन्ने पनि छैन् । बीमा अभिकर्तामा आवद्ध भएर राम्रोसँग कामलाई निरन्तरता दिनुहुन्छ भने यसमा भविष्य पनि छ ।

अभिकर्ता पेशामा के–कस्ता समस्या छन् ?
यसमा बीमा सम्बन्धी बुझेका मान्छेले पनि बीमा गराउन मानेका छैनन्, बीमा गराएपछि पैसा खाइदिने होकी ? दाबी भुक्तानी नदिने होकी ? भन्ने जस्ता धारणा धेरै छन् । गलत धारणाहरु घटाउन बीमा कम्पनीहरुले सचेतना कार्यक्रमहरु अघि बढाउनुपर्दछ ।

अन्त्यमा, अभिकर्ताको भविष्य उज्ज्वल बनाउन बीमा कम्पनी वा प्राधिकरणले के गर्नुपर्ला ?
बीमा कम्पनी र प्राधिकरण मात्र नभएर सरकार नै यसमा लाग्नुपर्छ । अन्य देशमा बीमाको दायरा ९० देखि ९५ प्रतिशतसम्म छ । तर नेपालको सन्दर्भमा हेर्ने हो भने बीमाको दायरा एकदमै न्यून छ । सरकारले नै थप पहल गरेर शिक्षालाई जस्तै बीमालाई पनि आधारभूत आवश्यकता बनाउने हो भने बीमा कम्पनी, अभिकर्ता लगायत सिंगो देशलाई नै फाइदा हुने देख्छु ।

भिडियो अन्तर्वार्ताः

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*