चैत २२ गतेदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो हुने

४ चैत्र २०८०, आईतवार ११:३४

काठमाडौँ । चैत अन्तिम सातादेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । मेड इन नेपालको नारासहित ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने भएको हो ।

उक्त इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरुमा उत्पादित विभिन्न वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी स्टाल राख्ने व्यवस्था गरिएको छ ।

ललितपुर महानगरपालिका, नेपाल चेम्बर अफ कमर्श र जावलाखेल युथ क्लबको सहकार्यमा आयोजना हुन लागेको उक्त इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ ।

पहिलो पटक ललितपुरमा आयोजना हुन लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छन् । मेलाको सहयोगी संस्थाका रुपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् । मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न मुलुकका स्वादमा फुड स्टल, साना केटाकेटीहका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल ग्राउण्ड परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए । मेलामा व्यापार प्रवद्र्घनका लागि अझै पनि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवद्र्घन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आब्हान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*