सहकारीको ऋण तिर्न काठमाडौं महानगरको आग्रह, समयमै नतिरे असुली प्रक्रिया अघि बढाउने चेतावनी

५ चैत्र २०८०, सोमबार ०९:४५

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरको छ । महानगरले चैत्र ५ गते एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

केही ऋणीहरुले सहकारी संस्थाको ऋण तिर्न नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासो आएपछि महानगले संस्थाबाट लिएको ऋण रकमको समयमा सावाँ तथा ब्याज भुक्तान गर्न आग्रह गरको हो । साथै, केही सहकारी संस्थाहरुमा तरलताको समस्याले सदस्यहरुको बचत फिर्ता गर्न नसकेको अवस्था रहेको पनि महानगरले जनाएको छ ।

ऋणी सदस्यहरुले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६, को दफा ६५ र ६६ एवं काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४, को दफा ६१ र ६२ मा ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंमले सम्बन्धित निकायमा लेखी पठाउने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

‘प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध छ । अन्यथा कानून बमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।’ सूचनामा भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*