धावनमार्ग र आकाश दुवै ठाउँ श्रीका जहाजमा समस्या, जोखिम पत्ता लगाउन विस्तृत अध्ययन हुँदै

७ चैत्र २०८०, बुधबार ११:२६

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताभित्र सबै जहाजको विस्तृत अध्ययन गर्न श्री एयरलाइन्सलाई निर्देशन दिएको छ । पछिल्लो समय महिनैपिच्छे जहाजमा कुनै न कुनै समस्या आउन थालेपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

श्रीका जहाज धावनमार्गमा गुड्दै होस् या आकाश उड्दै दुवै ठाउँमा समस्या देखिने गरेका छन् । निरन्तर जहाजमा देखिएको समस्याले मौन रहेको नियामकको ध्यान समेत तानेको छ । जहाज ग्राउण्डेड गर्नु अघि प्राधिकरणले अध्ययन प्रतिवेदन माग गरेको हो ।

सोमबार (चैत ५ गते) काठमाडौँबाट धनगढी गएको श्रीको जहाज अवतरण गर्ने क्रममा पाँगामा समस्या आएको थियो । कम्पनीको ९ एन–एएनसी कलसाइनको क्यू–४०० सिरिज जहाजले ७६ यात्रु बोकेर उडेको थियो । पटक–पटक श्री एयरलाइन्सको पाटपूर्जामा देखिएको समस्याले गर्दा यात्रु समेत विश्वास घट्दै गइरहेको छ । नागरिकको ज्यान जोखिममा पार्ने गरी विगतमा पटक पटक श्रीको जहाज दुर्घटनामा परिसकेको छ ।

धनगढीको आकाशमा देखिएको समस्या लगत्तै प्राधिकरणले श्रीका दुई इन्जिनियरलाई ग्राउण्डेड गरेको छ । अबको एक साता भित्र श्रीको अध्ययन प्रतिवेदन चित्त बुझ्दो नआएमा प्राधिकरणले जहाज ग्राउण्डेड गर्ने तयारी गरेको छ । हाल श्रीका ८ वटा जहाज सञ्चालनमा रहेका छन् । प्राधिकरणले हवाई सुरक्षा विभागका उपनिर्देशक प्रभाकरचन्द्र मल्लिकको नेतृत्वमा समिति गठन गरेर अध्ययन गरी समितिको सिफारिसका आधारमा जहाज ग्राउण्डेड गराई विस्तृत अध्ययन गर्न भनेको हो ।

जहाज बिग्रने र नयाँ नयाँ समस्या आइरहने श्री एयरलाइन्सकै कारण यात्रुहरू त्रसित बनेका छन् । अन्तर्राष्ट्रिय छवि बिग्रेको श्रीका जहाज चढ्नु जोखिमपूर्ण रहेको भन्दै केही महिना अघि इयुको अडिट रिपोर्टले औँल्याएको थियो । श्री एयरलाइन्सको उडान सुरक्षा, दक्षता, फ्लाइट प्लानिङ, टिकास र जहाजको उपकरणहरूको जगेडा राख्ने व्यवस्थामाथि नै प्रश्न चिन्ह उठाएर श्री एयरलाइन्सको जहाज चढ्नु जोखिमपूर्ण रहेको सुझाव दिएको छ ।

अझ अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेको श्री एयरलाइन्सको जहाजहरू पटक पटक धावनमार्गमा बिग्रने, आकाशमा उडिरहेकै बेला समेत समस्या आउने गरेका छन् । श्री एयरलाइन्स स्व। वनवरीलाल मित्तलले संस्थापना गरेको जहाज कम्पनी हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*