युएनडीपीद्धारा बीमा र वित्तीय जोखिम न्यूनीकरण सम्बन्धी पहल सुरु

७ चैत्र २०८०, बुधबार १९:१७

काठमाडौं। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी) ले बीमा र वित्तीय जोखिम न्यूनीकरण सम्बन्धी पहल सुरु गरेको छ । पत्रकारहरुलाई सहभागी नगराईएको कार्यक्रममा विश्वका तीसभन्दा बढी देशहरूमा युएनडीपीले लागू गरिरहेको बीमा र वित्तीय जोखिम न्यूनीकरण सुविधाको एउटा अंशका रूपमा पहल गरेको हो ।

यस पहलले बीमा र वित्तीय जोखिम न्यूनीकरणका संयन्त्रहरूबाट लाभ लिँदै वित्तीय उत्थानशिलतालाई प्राथमिकता दिने युएनडीपीले बताएको छ ।

सो अवसरमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल र युएनडीपीका आवासीय प्रतिनिधि आयशानी मेडागांगोडा– लाबेले संयुक्त रूपमा यसै विषयको नेपाल सम्बन्धी प्रतिवेदन सार्वजनिक गरे ।

प्रतिवेदनले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित १० देशमध्ये नेपाल एक रहेको र नेपाल बाढी, पहिरो, भूकम्प र खडेरीको उच्च जोखिममा रहेको उल्लेख गरेको छ ।

लघु बीमा प्रावधानसहितको बीमा ऐन २०७९ जस्ता कानुनमा भएका संशोधन तथा अद्यावधिक प्रावधानहरूले बीमा उद्योगको पहुँचयोग्य र किफायती बीमा उत्पादनहरू उपलब्ध गराउने क्षमतालाई बढवा दिन सरकार प्रतिबद्ध रहेको प्रतिवेदनले उजागर गरेको छ ।

कर्जा–जीवन लघु बीमा र कृषि बीमाले न्यून आय भएका र संकटासन्न नेपाली घरपरिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने भएता पनि, बीमाका बारेमा सचेतनाको कमी र तथ्यांक अभावका कारण बीमा कम्पनीहरूले आवश्यकता अनुसारका उत्पादनहरू ल्याउन नसक्दा बीमा बजार अझै पनि समग्र रूपमा समावेशी हुन सकेको छैन । राजस्व सचिव घिमिरेले वित्तीय जोखिम न्यूनीकरणका लागि सरकारले वित्तीय जोखिम ढाँचा विकास गर्न कार्यदल गठन गरिसकेको बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जलवायु तथा प्रकोपजन्य जोखिमहरू सम्बोधन गर्न सरकार, साझेदार निकायहरू, निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

यसैक्रममा, युएनडीपीका आवासीय प्रतिनिधि लाबेले कुनै पनि देश र समुदायको लागि जोखिम व्यवस्थापनको विस्तृत कार्यलाई बलियो बनाउन योगदान दिन सक्ने समाधानमध्ये एउटा भनेको बीमा र बित्तिय जोखिम न्यूनीकरण भएको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*